Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
एक्सेस अनुभूति

मध्य नेपालको एक्सेस यात्राः उपलब्धि पछाडिको सुधार, समर्पण र समन्वय

मध्य नेपालको एक्सेस यात्राः उपलब्धि पछाडिको सुधार, समर्पण र समन्वय

कुनै पनि संस्थाको वास्तविक परिचय उसको आकार, कारोबार वा भौतिक संरचनाले मात्र निर्धारण गर्दैन। संस्थाले आफ्ना सदस्यलाई कस्तो सेवा दिन्छ, आफ्नो कामलाई कति व्यवस्थित र पारदर्शी ढंगले सञ्चालन गर्छ, जोखिमलाई कति प्रभावकारी रूपमा व्यवस्थापन गर्छ र परिवर्तनशील परिवेशअनुसार आफूलाई कति सक्षम बनाउँदै लैजान्छ भन्ने कुराले संस्थाको वास्तविक स्तर निर्धारण गर्छ।यही दृष्टिकोणबाट हेर्दा मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्राप्त गरेको एक्सेस ब्रा(ड केवल एउटा सम्मान वा प्रमाणपत्र होइनस यो संस्थाले विगत केही वर्षमा गरेका संस्थागत सुधार, व्यवस्थापकीय पुनर्संरचना, प्रविधिगत विकास, मानव संसाधन व्यवस्थापन, वित्तीय अनुशासन, सुशासन र निरन्तर सिकाइको सामूहिक परिणाम हो।

मध्य नेपालका लागि यो उपलब्धि विशेष अर्थपूर्ण छ। किनकि संस्थाले पहिलो पटक एक्सेस अडिट को प्रक्रियामा सहभागी हुँदै आफ्नो विद्यमान अभ्यासलाई बाह्य मापदण्डको कठोर दृष्टिकोणबाट परीक्षण गर्ने अवसर पाएको थियो। त्यस क्रममा संस्थाले आफ्ना सबल पक्षहरूलाई थप व्यवस्थित गर्ने मात्र होइन, सुधार आवश्यक रहेका धेरै पक्ष पहिचान गरी क्रमशः परिमार्जन गर्दै अघि बढ्ने अवसर प्राप्त गर्‍यो। त्यसैले मध्य नेपालको एक्सेस यात्रा एउटा ब्राण्ड प्राप्तिको कथा मात्र होइन, आफूलाई निरन्तर सुधार गर्दै अझ उत्कृष्ट संस्थातर्फ अघि बढ्ने यात्राको कथा हो।

गुणस्तरीय सेवा त थियो नै, अब त्यसलाई प्रमाणित र प्रदर्शित गर्ने संस्कार पनि विकास भयो
मध्य नेपालले विगतदेखि नै आफ्ना सदस्यलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको थियो। सदस्यको आवश्यकता बुझ्ने, समयमै सेवा दिने, सदस्यसँग सम्बन्ध कायम गर्ने र संस्थाप्रति विश्वास अभिवृद्धि गर्ने विषयमा संस्थाको अभ्यास कमजोर थिएन। तर एउटा महत्वपूर्ण पक्षमा अपेक्षित ध्यान पुग्न सकेको थिएन-हामीले राम्रो काम गरिरहेका थियौँ, तर त्यसको गुणस्तरलाई व्यवस्थित रूपमा अभिलेखीकरण, प्रदर्शन र प्रमाणित गर्ने पक्ष पर्याप्त बलियो थिएन।

ACCESS प्रक्रियाले यही विषयलाई गम्भीर रूपमा अनुभूति गरायो। संस्थाले आफ्ना दैनिक अभ्यासलाई केवल “हामीले गरिरहेका छौँ” भन्ने तहमा नराखी त्यसलाई प्रणाली, प्रमाण, अभिलेख, सूचक र परिणामसँग जोड्न थाल्यो। सदस्य सेवामा भएका राम्रा अभ्यासलाई पहिचान गर्ने, अभिलेख राख्ने, परिणाम मापन गर्ने र आवश्यक स्थानमा त्यसलाई संस्थागत रूपमा प्रस्तुत गर्ने संस्कृतिको विकास भयो।यसले संस्थाभित्र एउटा महत्वपूर्ण सोच स्थापित गर्‍यो-राम्रो काम गर्नु आवश्यक छ, तर राम्रो कामलाई प्रणालीमा स्थापित गर्नु, त्यसको परिणाम मापन गर्नु र प्रमाणका आधारमा प्रस्तुत गर्न सक्नु पनि उत्तिकै महत्वपूर्ण छ। यही परिवर्तन ACCESS यात्राको महत्वपूर्ण उपलब्धि बन्यो।

केन्द्रीय कार्यालय व्यवस्थापनबाट केन्द्रीकृत कार्य व्यवस्थापन
संस्थाको विस्तारसँगै केन्द्रीय कार्यालय व्यवस्थापन पनि चुनौतीपूर्ण बन्दै गएको थियो। विभिन्न स्थानमा फैलिएको कार्य व्यवस्थापन, स्रोतको उपयोग, कर्मचारीबीचको समन्वय, सूचना प्रवाह र निर्णय कार्यान्वयनमा सहजता ल्याउन थप व्यवस्थित संरचनाको आवश्यकता महसुस भइरहेको थियो। यस समस्यालाई केवल दैनिक व्यवस्थापनको समस्या मानेर छोडिएन। संस्थाले फरक दृष्टिकोणबाट यसको समाधान खोज्यो। दलदलेमा रहेको परोपकार सेवाकेन्द्रको भवनलाई पुनर्संरचना गरी हाललाई केन्द्रीय कार्यालयका रूपमा व्यवस्थापन गर्ने निर्णय  यसै सोचको परिणाम थियो।

यसबाट केन्द्रीय कार्यालयका विभिन्न कार्यलाई एउटै संरचनामा केन्द्रित गर्दै कार्यसम्पादन, समन्वय, सूचना प्रवाह र निर्णय कार्यान्वयनलाई थप व्यवस्थित बनाउने आधार तयार भयो। यो केवल कार्यालय स्थानान्तरणको विषय थिएन। यसको मूल उद्देश्य थियो-“केन्द्रीय कार्यलाई प्रभावकारी रूपमा केन्द्रीकृत गर्ने र संस्थाको समग्र व्यवस्थापनलाई थप चुस्त, समन्वित र परिणाममुखी बनाउने।” यस पुनर्संरचनाले संस्थाको दैनिक कार्यसम्पादनमा सहजता ल्याउनुका साथै भविष्यमा संस्थागत विस्तार र व्यवस्थापनका लागि पनि बलियो आधार निर्माण गरेको छ।

प्रविधिमा परिवर्तन स् परम्परागत सेवाबाट डिजिटल क्षमतातर्फ
आजको सहकारी संस्था केवल कार्यालयमा उपस्थित भएर सेवा दिने संस्थाका रूपमा सीमित रहन सक्दैन। सदस्यको अपेक्षा बदलिएको छ, प्रविधिको प्रयोग बढेको छ र वित्तीय सेवामा पहुँचको स्वरूप पनि परिवर्तन भइरहेको छ। यसलाई मध्य नेपालले समयमै आत्मसात् गर्ने प्रयास गरेको छ।

ACCESS यात्राका क्रममा संस्थाको सफ्टवेयर प्रणाली, वेबसाइट, मोबाइल एप्स लगायतका प्राविधिक सेवामा उल्लेखनीय सुधार गरिएको छ। प्रविधिलाई केवल अतिरिक्त सुविधा नभई संस्थागत सेवा प्रवाहको महत्वपूर्ण आधारका रूपमा विकास गर्ने प्रयास भएको छ।

यसको उद्देश्य प्रविधि थप्नु मात्र थिएन। प्रविधिको माध्यमबाट-
सदस्यलाई सहज पहुँच प्रदान गर्ने,
सेवा प्रवाहलाई छिटो र प्रभावकारी बनाउने,
सूचना तथा तथ्यांकको व्यवस्थापन सुधार गर्ने,
आन्तरिक कार्यसम्पादनलाई व्यवस्थित बनाउने,
संस्थाको डिजिटल उपस्थिति बलियो बनाउने
जस्ता पक्षमा सुधार ल्याउनु थियो। यसले मध्य नेपाललाई परम्परागत सहकारी सेवाबाट आधुनिक, प्रविधिमैत्री र सदस्यकेन्द्रित सेवातर्फ थप अगाडि बढाएको छ।

मानव संसाधन स् सही प्रणालीसँगै सही जनशक्ति
संस्था जति नै राम्रो नीति र प्रविधि भएको भए पनि त्यसलाई कार्यान्वयन गर्ने सक्षम जनशक्ति नभए संस्थागत सुधार सम्भव हुँदैन। त्यसैले ACCESS यात्रामा मानव संसाधन व्यवस्थापनलाई पनि महत्वपूर्ण सुधारको क्षेत्रका रूपमा लिइयो। कर्मचारीको भूमिका, जिम्मेवारी, कार्यसम्पादन, क्षमता विकास, समन्वय र उत्तरदायित्वका विषयमा थप स्पष्टता ल्याउने प्रयास गरियो। कर्मचारीलाई केवल दैनिक काम गर्ने जनशक्तिका रूपमा नभई संस्थाको रणनीतिक लक्ष्य हासिल गर्ने महत्वपूर्ण साझेदारका रूपमा हेर्ने संस्कार विकास गरियो। संस्थागत लक्ष्य र कर्मचारीको व्यक्तिगत कार्यसम्पादनबीच सम्बन्ध स्थापित गर्ने, जिम्मेवारीलाई स्पष्ट बनाउने र क्षमता विकासमा ध्यान दिने अभ्यासले संस्थाको कार्यसंस्कृतिमा सकारात्मक परिवर्तन ल्याएको छ।

धेरै कार्यविधिबाट एकीकृत प्रणालीतर्फ
संस्थाको विगतको कार्यप्रणालीमा विभिन्न विषयका धेरै आन्तरिक कार्यविधि, निर्देशिका तथा छुट्टाछुट्टै दस्तावेजहरू रहेका थिए। ती सबै आ–आफ्नो समय र आवश्यकताका आधारमा तयार भएका भए पनि समयसँगै तिनको संख्या र विविधताले नियमित कार्य सञ्चालनमा केही जटिलता सिर्जना गरिरहेको थियो। यसलाई पनि संस्थागत सुधारको अवसरका रूपमा लिइयो। विभिन्न कार्यविधि तथा निर्देशिकाको समीक्षा गरी आवश्यक विषयलाई एकीकृत गर्दै धेरैवटा छुट्टाछुट्टै दस्तावेजलाई घटाएर जम्मा १६ वटा प्रमुख कार्यविधिमा व्यवस्थित गर्ने काम गरियो। यस सुधारको प्रत्यक्ष लाभ दैनिक कार्यसञ्चालनमा देखिएको छ। अब कर्मचारीले कुनै विषयमा काम गर्दा कुन निर्देशिका हेर्ने, कुन प्रक्रियाअनुसार काम गर्ने र जिम्मेवारी कसरी पूरा गर्ने भन्ने विषयमा थप स्पष्टता आएको छ।
यसले एउटा महत्वपूर्ण पाठ पनि सिकाएको छ-संस्थागत सुशासनको अर्थ धेरै नीति र कागजात हुनु मात्र होइनस आवश्यक विषयलाई स्पष्ट, सरल, एकीकृत र कार्यान्वयनयोग्य प्रणालीमा राख्नु पनि हो।

साना सुधारदेखि ठूला संरचनागत परिवर्तनसम्म
ACCESS यात्राको सबैभन्दा महत्वपूर्ण पक्ष के रह्यो भने संस्थाले केवल ठूला र देखिने विषयमा मात्र सुधार गरेन। कार्यालयको व्यवस्थापनदेखि अभिलेख व्यवस्थापनसम्म, कर्मचारीको कार्यशैलीदेखि प्रविधिसम्म, सदस्य सेवाको प्रस्तुतीकरणदेखि नीतिगत संरचनासम्म-साना–साना सुधारलाई पनि संस्थागत गुणस्तरको हिस्सा मान्दै अघि बढियो। कहिलेकाहीँ संस्थाको ठूलो परिवर्तन कुनै एउटा ठूलो निर्णयबाट मात्र सम्भव हुँदैन। धेरैवटा साना सुधारको समष्टिगत प्रभावले संस्थालाई नयाँ स्तरमा पुर्‍याउँछ। मध्य नेपालको अनुभवले पनि यही देखाएको छ।

पहिलो ACCESS Audit: मूल्यांकनभन्दा ठूलो सिकाइ
मध्य नेपालका लागि यो पहिलो ACCESS Audit थियो। त्यसैले यो प्रक्रिया केवल “हामी कहाँ छौँरु” भन्ने मूल्यांकन मात्र थिएनस यो “हामी अझ कहाँ पुग्न सक्छौँरु” भन्ने प्रश्नको सुरुवात पनि थियो।
पहिलो पटक बाह्य मापदण्ड र विशेषज्ञ दृष्टिकोणबाट संस्थाका विभिन्न पक्षलाई हेर्दा धेरै नयाँ विषयमा सिक्ने अवसर प्राप्त भयो। केही विषयमा संस्था अपेक्षाकृत बलियो रहेको अनुभूति भयो भने केही विषयमा अझ सुधार आवश्यक रहेको स्पष्ट भयो। कतिपय काम भइरहेको भए पनि त्यसलाई व्यवस्थित प्रमाण, अभिलेख र सूचकसँग जोड्नुपर्ने आवश्यकता देखियो। यस अर्थमा पहिलो ACCESS Audit ले संस्थालाई एउटा महत्वपूर्ण ऐना देखाइदियो-संस्थाले आफूलाई आफैंले हेर्दा देखिने चित्र र बाह्य गुणस्तर मापदण्डबाट हेर्दा देखिने चित्रबीचको अन्तर। त्यही अन्तर घटाउने क्रममा धेरै सुधार सम्भव भयो।
त्यसैले पहिलो ACCESS Audit को सबैभन्दा ठूलो उपलब्धि ब्राण्ड प्राप्ति मात्र होइनस संस्थाले सिक्ने, सुधार गर्ने र आफूलाई निरन्तर मूल्यांकन गर्ने संस्कार विकास गर्नु पनि हो।

यो उपलब्धि कसरी सम्भव भयो ?
यसको उत्तर एउटा शब्दमा दिनुपर्दा -टिमवर्क। ACCESS ब्राण्ड कुनै एक व्यक्ति वा कुनै एउटा विभागको प्रयासबाट प्राप्त भएको होइन। यसका पछाडि सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति,सल्लाहकार, व्यवस्थापन, विभागीय नेतृत्व, सेवाकेन्द्र प्रमुख र सम्पूर्ण कर्मचारीको साझा प्रयास रहेको छ। कसैले नीति र निर्णयको तहमा योगदान गरे, कसैले व्यवस्थापन र कार्यान्वयनमा, कसैले तथ्यांक र अभिलेखमा, कसैले सदस्य सेवामा, कसैले अनुगमनमा र कसैले दैनिक कार्यसम्पादनमा। यस यात्रामा नेतृत्वले सुधारको आवश्यकता स्वीकार गर्‍यो, व्यवस्थापनले त्यसलाई कार्ययोजनामा रूपान्तरण गर्‍यो र कर्मचारीहरूले दैनिक व्यवहारमा कार्यान्वयन गरे। त्यसैले यो उपलब्धिलाई “एक संस्थाको उपलब्धि” भन्दा “एक टिमको उपलब्धि” भन्नु बढी उपयुक्त हुन्छ।

ACCESS प्राप्त भयो, अब चुनौती अझ ठूलो छ
ACCESS Brand प्राप्त गर्नु मध्य नेपालको लागि गौरवको विषय हो। तर यो उपलब्धि आफैंमा अन्तिम गन्तव्य होइन। बरु यसले अब संस्थामाथि थप जिम्मेवारी थपेको छ। हिजो संस्थाले आफ्नो स्तर सुधार गर्न काम गरिरहेको थियो। अब संस्थाले प्राप्त गरेको स्तरलाई निरन्तर कायम राख्दै अझ माथि उठ्नुपर्ने अवस्था आएको छ। यसका लागि आगामी दिनमा धेरै विषयलाई थप परिमार्जन र विकास गर्नुपर्ने आवश्यकता हामीले स्पष्ट रूपमा महसुस गरेका छौँ।
विशेषगरी-
वित्तीय अनुशासनलाई अझ सुदृढ बनाउने,
ऋणको गुणस्तर र असुली प्रणालीलाई थप प्रभावकारी बनाउने,
जोखिम व्यवस्थापनलाई अझ वैज्ञानिक बनाउने,
सदस्य सेवाको गुणस्तरलाई निरन्तर मापन गर्ने,
प्रविधिगत सेवाको स्तरोन्नति गर्ने,
मानव संसाधनको क्षमता विकास गर्ने,
आन्तरिक नियन्त्रणलाई अझ प्रभावकारी बनाउने,
नीतिगत तथा कार्यविधिगत संरचनालाई समयानुकूल परिमार्जन गर्ने,
तथ्यांकमा आधारित निर्णय प्रणालीलाई बलियो बनाउने,
र ACCESS का मापदण्डलाई वार्षिक Audit को तयारीका रूपमा मात्र नभई दैनिक कार्यसंस्कृतिको हिस्सा बनाउने
दिशामा संस्थाले निरन्तर काम गर्नुपर्नेछ।

आर्थिक वर्षान्त: उपलब्धिलाई वित्तीय अनुशासनमा रूपान्तरण गर्ने समय
ACCESS प्राप्तिको उत्साहसँगै संस्थाका लागि आर्थिक वर्षान्त पनि अत्यन्त महत्वपूर्ण चरण हो। आर्थिक वर्षको वर्षान्तलाई केवल नाफा–नोक्सानको हिसाब मिलाउने प्रक्रियाका रूपमा लिनु हुँदैन। यो संस्थाको वास्तविक वित्तीय स्वास्थ्य परीक्षण गर्ने अवसर पनि हो। यस क्रममा ऋणको वास्तविक अवस्था, बक्यौता तथा जोखिमपूर्ण कर्जाको पहिचान, आवश्यक कर्जा नोक्सानी व्यवस्था, सम्पत्ति तथा दायित्वको यथार्थ मूल्यांकन, अभिलेखको शुद्धता, नियामकीय अनुपालन तथा लेखापरीक्षणका लागि आवश्यक तयारीलाई विशेष महत्व दिनुपर्छ। संस्थालाई कागजमा राम्रो देखाउनेभन्दा वास्तविक रूपमा स्वस्थ बनाउने वित्तीय अनुशासन महत्वपूर्ण हुन्छ। त्यसैले आर्थिक वर्षान्तमा मध्य नेपालको प्राथमिकता स्पष्ट हुनुपर्छ-सफा अभिलेख, यथार्थ वित्तीय विवरण, पर्याप्त जोखिम व्यवस्था र आगामी यात्राका लागि बलियो आधार। आज सही रूपमा पहिचान गरिएको कमजोरी र आजै गरिएको आवश्यक व्यवस्थापन नै भोलिको संस्थागत सुरक्षाको आधार बन्नेछ।

आगामी यात्रा: ब्राण्डभन्दा माथि संस्थागत उत्कृष्टताको खोजी
मध्य नेपालका लागि ACCESS Brand एउटा सम्मान हो, तर त्यसको वास्तविक मूल्य संस्थाले त्यसबाट प्राप्त गर्ने सुधारको संस्कारमा छ। अब लक्ष्य केवल अर्को पटक पनि ब्राण्ड प्राप्त गर्नु मात्र हुँदैन। लक्ष्य यस्तो संस्था निर्माण गर्नु छ, जहाँ-गुणस्तरीय सेवा नियमित अभ्यास हुनेछ, सुशासन कार्यसंस्कृति हुनेछ, जोखिम व्यवस्थापन निर्णय प्रक्रियाको आधार हुनेछ, प्रविधि सेवाको माध्यम हुनेछ,
मानव संसाधन संस्थाको शक्ति हुनेछ, र सदस्यको विश्वास संस्थाको सबैभन्दा ठूलो पूँजी हुनेछ। हामीले पहिलो ACCESS Audit बाट धेरै कुरा सिकेका छौँ। केही विषयमा सुधार गरेका छौँ र अझ धेरै विषयमा सुधार गर्नुपर्ने आवश्यकता पनि पहिचान गरेका छौँ। यही आत्मबोध नै आगामी यात्राको सबैभन्दा ठूलो शक्ति हो। किनकि उत्कृष्ट संस्था आफू पूर्ण भएको घोषणा गर्ने संस्था होइनस आफूलाई अझ सुधार गर्न बाँकी छ भन्ने कुरा स्वीकार गर्दै निरन्तर अघि बढ्ने संस्था हो।

मध्य नेपालको ACCESS यात्रा कुनै एक वर्षको तयारी, कुनै एक ब्गमष्त वा कुनै एक निर्णयको परिणाम होइन। यो संस्थाले लामो समयदेखि गर्दै आएको कामलाई नयाँ दृष्टिकोणबाट हेर्ने, कमजोरी पहिचान गर्ने, आवश्यक सुधार गर्ने र भएका राम्रा अभ्यासलाई प्रणालीमा रूपान्तरण गर्ने निरन्तर प्रक्रियाको परिणाम हो। सदस्य सेवामा गुणस्तर थियो—त्यसलाई प्रमाणित र प्रदर्शित गर्ने प्रणाली थपियो। केन्द्रीय कार्यालय व्यवस्थापनमा चुनौती थियो-त्यसलाई पुनर्संरचना गरी सबै कार्यलाई केन्द्रीकृत गरियो। प्रविधिमा सुधारको आवश्यकता थियो—-सफ्टवेयर, वेबसाइट र मोबाइल एप्सलगायतका डिजिटल सेवामा उल्लेखनीय विकास गरियो। मानव संसाधन व्यवस्थापनमा सुधार आवश्यक थियो-त्यस क्षेत्रमा पनि संरचनागत र कार्यगत सुधार अघि बढाइयो। धेरै आन्तरिक कार्यविधि र निर्देशिका थिए-तिनलाई एकीकृत गरी १६ वटा प्रमुख कार्यविधिमा व्यवस्थित गरियो। अर्थात्, साना–साना प्रक्रियागत सुधारदेखि ठूला संस्थागत पुनर्संरचनासम्मका अनेकौँ प्रयासको समष्टिगत परिणाम नै आजको ACCESS उपलब्धि हो।

यस यात्राले एउटा कुरा स्पष्ट बनाएको छ-उत्कृष्टता कुनै एकपटक प्राप्त गरिने पदक होइनस यो निरन्तर अभ्यास, अनुशासन, सिकाइ र सुधारबाट निर्माण हुने संस्थागत संस्कार हो। मध्य नेपालले ACCESS Brand प्राप्त गरेको छ। अब यसको जिम्मेवारी त्यसलाई जोगाउनु मात्र होइन, त्यसले देखाएको गुणस्तरको आधारमा अझ अगाडि बढ्नु हो। हामी उपलब्धिमा सन्तुष्ट छौँ, तर यतिमा नै सन्तुष्टि बिन्दु पुरा गरेका छैनौँ। हामीले गरेको सुधारमा गौरवान्वित छौँ, तर सुधारको यात्रा समाप्त भएको ठान्दैनौँ। पहिलो ACCESS Brand ले हामीलाई धेरै सिकाएको छस आगामी दिनले अझ धेरै सिकाउनेछ। यही सिकाइ, यही आत्ममूल्यांकन र यही सामूहिक प्रतिबद्धताका साथ मध्य नेपाल अब ब्ऋऋभ्क्क् को ब्राण्ड बोकेको संस्था मात्र होइन, ACCESS को मर्मलाई व्यवहारमा उतार्ने उत्कृष्ट, सुरक्षित, पारदर्शी र सदस्यकेन्द्रित सहकारी संस्था बन्ने दिशामा अघि बढिरहेको छ। यात्रा सुरु भएको छ। उपलब्धि प्राप्त भएको छ। तर उत्कृष्टताको यात्रा अझै बाँकी छ।

MN 2.jpeg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार