काठमाडौं । भक्तपुर स्थायी घर भएका कबिन्द्र धौबञ्जार उमेरले करिब ४५ वर्षको हुनुभयो । २०६४ सालबाट उहाँ सहकारी अभियानमा कर्मचारीको रुपमा आवद्ध हुनुहुन्छ । बीचमा केही समय अन्यत्र भौतारिएपनि मूलतः उहाँ सहकारीकर्मी कै रुपमा परिचित हुनुहुन्छ । यसबीच ४ वटा सहकारी संस्था (पछिल्लो भने संघ) परिवर्तन गरी हिजो २०८३ भदौ २२ गते सोमबारबाट काभ्रेको बनेपास्थित चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिईओ) को रुपमा पाँचौं सहकारी संस्थाको व्यवस्थापन बागडोर सम्हाल्नुभएको छ ।
घर नजिकको निरपुर गणेश बचत तथा ऋण सहकारी संस्थामा लेखापालबाट सहकारी व्यवस्थापनमा प्रवेश गर्नुभका धौबञ्जार केही वर्ष पछि व्यवस्थापक बन्नुभयो । त्यसको केही समय वैदेशिक रोजगारीमा बिताउनुभयो । फर्केपछि, कालीमाटीको तरकारी तथा फलफूल बचत तथा ऋण सहकारी संस्थामा छोटो समय व्यवस्थापकका रूपमा काम गर्नुभयो । त्यसपछि, काभ्रेमा केन्द्रीय कार्यालय रहेको सामुदायिक लघुवित्त वित्तीय संस्थामा करिब दुई वर्ष उप–कार्यक्रम संयोजक बन्नुभयो ।
र, पुनः सहकारीमै फर्किनुभयो । घर नजिककै सामूहिक बचत तथा ऋण सहकारी संस्थामा व्यवस्थापन प्रमुखको रुपमा काम गर्नुभयो । त्यसपछि, फेरि जिल्लाबाहिर निस्केर काठमाडौंको थानकोटस्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थामा सेकेन्ड म्यान (नायब प्रमुख कार्यकारी अधिकृत) भएर काम गर्नुभयो । त्यसपछि, अलिक पर धादिङ झरेर जिल्ला बचत संघमा प्रमुख कार्यकारी अधिकृत भएर काम गर्नुभयो । बचत संघ पनि छोडेर फेरि बनेपा फर्कनुभयो चण्डेश्वरी साकोसमा । यही भदौ २१ गतेबाट नियुक्ति लिनुभएका उहाँले उक्त दिन बिदा भएकाले भोलिपल्ट २२ गतेबाट चण्डेश्वरी साकोसमा सिईओको जिम्मेवारी शुरु गर्नुभएको छ ।
दुरीका हिसाबले पनि भक्तपुरबाट काम शुरु गरेर काठमाडौं, काभ्रे र धादिङ हुँदै फेरि काभ्रे फर्कनुभएको छ । भक्तपुरका धौबञ्जारलाई बनेपा पुग्न समय पनि कम लाग्ने र सधैं परिवारसँग बस्न पाइने अवसरले जिम्मेवारी लिन प्रेरित गर्यो । अर्को भनेको, नेवारहरुको बाहुल्यता रहेको चण्डेश्वरी साकोसमा उहाँलाई काम गर्न पनि केही सहज हुने भयो । र, त्यो भन्दा पनि मुख्य कुरा चण्डेश्वरी साकोस सहकारी अभियानमा प्रतिष्ठित र अन्तर्राष्ट्रिय ब्राण्ड प्राप्त गरिसकेकेको संस्था हो । त्यही भएर सहकारी मूल्य, मान्यता र सिद्धान्तसँगै काम गर्ने तौर तरिका पनि बसिसकेको संस्था भएकाले धौबञ्जारलाई साकोसको स्टेरिङ सम्हाल्न त्यति कठिन नहोला भन्ने अपेक्षा गर्न सकिन्छ । हाम्रो अपेक्षा विश्वासमा परिणत हुन भने उहाँले चण्डेश्वरीमा केही समय काम गरेर आशातित् नतिजा निकाल्नुपर्नेछ ।
चण्डेश्वरी साकोसमा तपाईंको काम गर्ने तौरतरिक र जोड के मा रहनेछ भन्ने धिप्री डटकमको प्रश्नमा स्पष्टवक्त धौबञ्जारले केही सहकारी संस्थाका सिईओहरुले सबै जसजति आफूले लिने परिपाटी बसाल्दै गएको र त्यही प्रकारले सामाजिक सञ्जालदेखि मिडियाबाजी गरेकोमा कटाक्ष भाव व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘केही सफलता हात पर्यो भने मैले एक्लैले गरेको जस्तो गरी प्रेजेन्ट गर्ने परिपाटी विकास भएको छ । खासगरी सहकारी संघ संस्थामा त यो झनैं हुन नहुने कुरा हो ।’ आफू त्यो पक्षमा नरहेको र सामूहिकतामा विश्वास गर्ने भएकाले चण्डेश्वरीमा पनि त्यही संस्कृति विकास गर्ने उहाँले बताउनुभयो ।
धौबञ्जारले भन्नुभयो, ‘कुनै पनि संस्था टिम स्पिरिटमा चल्छ त्यसमा पनि सहकारी संस्था भनेको त झन् सामूहिकताको आधारमा चल्ने निकाय हो । सबै कर्मचारीको उत्तिकै योगदान हुन्छ र सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, उपसमितिहरुसँगै सदस्यहरुको जिम्मेवारी र दायित्व त झन् महत्वपूर्ण छ । हामी सबैको राय, सल्लाह, सुझाव लिएर अघि बढ्नेछौं ।’
चण्डेश्वरीको चुनौती
चण्डेश्वरीको चुनौती भनेको एक्सेस ब्राण्डको पनि उपल्लो तह अर्थात् गोल्ड (स्वर्ण) कसरी प्राप्त गर्ने भन्ने हो । ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भनेझैं, विगतमा एक्सेस ब्रोञ्ज र सिल्भर प्राप्त गरी इतिहासमा नाम लेखाइसकेको चण्डेश्वरी साकोसका लागि अब त्यो भन्दा माथिल्लो ब्राण्ड गोल्ड कसरी हासिल गर्ने भन्ने नै हो । यद्यपि, अहिलेको वित्तीय बजारलाई विश्लेषण गर्ने र सहकारीहरुको त्यहाँ उपस्थिति, भूमिका र योगदानलाई परखने हो भने अत्यन्त चुनौतीपूर्ण छ । ‘तर, असम्भव पनि छैन, ’धौबञ्जार भन्नुहुन्छ, ‘हामी सामूहिकताको शक्तिमा विश्वास राखी सबै व्यवस्थापन एक ढिक्का भएर लाग्नेछौं ।’
चण्डेश्वरी साकोसले पछिल्लो पटक सन् २०२४ मा एक्सेस सिल्भर प्राप्त गरे यता ब्राण्ड पाउन सकेको छैन । अब धौबञ्जार एण्ड चण्डेश्वरी साकोस टिमको अर्जुनदृष्ट्रि त्यही एक्सेस ब्राण्डमा हुने उहाँले बताउनुभयो ।
नियुक्ति बुझ्दा दिएको वचन र कर्मचारीहरुसँग गरेको प्रतिबद्धता पनि त्यही भएको उहाँले धिप्री डटकमलाई बताउनुभयो । ‘र, सफलता त एक दिन पक्कै प्राप्त हुनेछ, ’धौबञ्जारले विश्वास व्यक्त गर्नुभयो, ‘इमानदार भएर कर्म गर्दै जाँदा अवश्य नतिजा प्राप्त हुन्छ तर त्यसबेला जस टिमले लिन्छ, व्यक्तिले होइन ।’
धौबञ्जारले भन्नुभयो, ‘एक्लै जस (अपजस) त चौरमा बसेर कसैलाई गालीगलौज गर्दा, कसैलाई सत्तोसराप गर्दा वा बिगार्दा मात्र मिल्छ, कुनैपनि चीज निर्माण गर्न वा बनाउन त समूह आवश्यक पर्दछ ।’
चण्डेश्वरी साकोसमा नियुक्त भएलगत्तैको पहिलो कर्मचारीको बैठकमा पनि आफूले सोही विषय उठाएको भन्दै धौबञ्जारले भन्नुभयो, ‘हामी सामूहिकतालाई जोड दिन्छौं ।’
बचत संघलाई किन बाईबाई ?
‘बचत संघमा किन यति चाँडै छोड्नुभयो त ? के त्यहाँ पनि कुरा मिलेन ?’ धिप्री डटकमको प्रश्नमा धौबञ्जारले भन्नुभयो, ‘त्यस्तो होइन, एकदम सहमतिमै छोडेको हुँ । मुख्य कुरा घर नजिकनै काम खोजेको हुँ । मेरो प्राथमिकता नै घरपायक भन्ने भयो । परिवारबाट टाढा हुन नपरोस् भन्ने नै हो । त्यही भएर चण्डेश्वरी रोजेँ । बचत संघमा पनि नयाँ र उपयुक्त व्यवस्थापक खोज्ने र उक्त व्यक्तिलाई आवश्यक प्राविधिक सहयोग गर्ने सहमतिसहित मैले छोडेको हुँ ।’
अर्को भनेको सहकारी ऐनको पछिल्लो संशोधनले सहकारीको वित्तीय कारोबारमा रोक लगाउने व्यवस्था गरेसँगै काम गर्न कठिन हुन्छ भनेर आफ्नो जागिर सुरक्षित गर्न खोज्नुभएको त होइन भन्ने प्रश्नमा धौबञ्जारले भन्नुभयो, ‘त्यो पनि कारण होइन, संघका बहसपैरवी तालिम शिक्षा लगायत अरु थुप्रै काम छदैछन् नि । म विशुद्ध पारिवारिक कारणले छोड्न बाँध्य भएको हुँ ।
धादिङ बचत संघमा उहाँ ठीक एक वर्ष एक दिन प्रमुख व्यवस्थापकको जिम्मेवार सम्हालेर बिदा हुनुभयो । बचत संघमा रहुञ्जेल पनि इमानदारी र निष्ठापूर्वक काम गरेको दाबी उहाँले गर्नुभयो । सोही कारण पनि नेफ्स्कूनको ३९औं स्थापना दिवसका अवसरमा गत साउन ३१ गते ‘नेफ्स्कून प्रदेशस्तरीय संघ उत्प्रेरणा अभिनन्दन सम्मान २०८३’ प्राप्त गर्न बचत संघ सफल भएको उहाँले सुनाउनुभयो ।
पहिलो पटक सिईओ
प्रारम्भिक संस्थामा पदका हिसाबले धौबञ्जारले पहिलो पटक प्रमुख कार्यकारी अधिकृत (सिईओ) बन्नुभएको छ । यसअघि सहकारीका सुरुवाती संस्थाबाटै व्यवस्थापकीय बागडोर उहाँले सम्हाल्नुभएको थियो । जिम्मेवारीका हिसाबले निरपुर गणेश, तरकारी तथा फलफूल, सामूहिक र धादिङ बचत संघमा धोबञ्जार व्यवस्थापन प्रमुख नै हुनुहुन्थ्यो तर पदका रुपमा भने प्रमुख कार्यकारी अधिकृत भन्ने थिएन । तर, चण्डेश्वरी साकोसको पछिल्लो नियुक्ति भने सिईओकै रुपमा हो । धौबञ्जारले भन्नुभयो, ‘प्रारम्भिक संस्थाहरु निरपुर गणेश, तरकारी तथा फलफूल र सामूहिकमा पनि म व्यवस्थापन प्रमुख नै थिएँ तर त्यसबेला व्यवस्थापक (म्यानेजर) भन्ने चलन थियो, सिईओ भनिदैनथ्यो । त्यही भएर आधिकारिक हिसाबले पद र जिम्मेवारी दुबैका रुपमा सहकारी संस्थाको सिईओ भने अहिले नै हो पहिलो ।’
कति समय चण्डेश्वरीमा ?
चण्डेश्वरी साकोसको विनियम अनुसार हाल २ वर्षका लागि नियुक्त भएपनि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको व्यवस्था अनुसार संशोधन गरी ४ वर्षको बनाइने र सोही अनुरुप उहाँलाई जिम्मेवारी प्रदान गर्ने गरी नियुक्ति भएको धौबञ्जारले बताउनुभयो ।
अब यहाँ कति बस्नुहुन्छ भन्ने धिप्री डटकमको प्रश्नमा धौबञ्जारले हाँस्दै जवाफ दिनुभयो, ‘हैन सर, अब त म यहाँ चण्डेश्वरीमा दुई कार्यकाल अर्थात् ८ वर्ष नै गर्छु । स्पष्टवक्ता धौबञ्जारलाई कार्यकालको दीर्घायुसँगै सफलताको पनि शुभकामना ।
यसअघि, धौबञ्जारले निरपुर गणेश साकोमा २०६४ सालदेखि करिब ४ वर्ष, , तरकारी फलफूल साकोसमा करिब ३ साता, सामूहिक साकोसमा ५ वर्ष, चन्द्रागिरि साकोसमा करिब ३ वर्ष र धादिङ बचत संघमा १ वर्ष १ दिन काम गर्नुभएको थियो । छोटो समयमा संस्था परिवर्तन गरिरहँदा राम्रो सन्देश जाँदैन कि भन्ने प्रश्नमा धौबञ्जारले भन्नुभयो, ‘अर्को हिसाबले हेर्ने हो भने धेरै अनुभव बटुलियो भनुन्, विभिन्न संस्थाको काम गर्ने शैलीबारे जानियो बुझियो । तर, अब चण्डेश्वरीमा ८ वर्ष नै बस्ने योजना छ सर ।’
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com