Sep 18 2026 | २०८३, असोज २ गते

Sep 18 2026 | २०८३, असोज २ गते

Follow us

आईसीए साधारणसभा: ग्वार्कोको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित, बोर्डमा भारत र बेलायती प्रतिनिधित्व पनि

आईसीए साधारणसभा: ग्वार्कोको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित, बोर्डमा भारत र बेलायती प्रतिनिधित्व पनि

काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) मा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । पानामाको पानामा सिटीस्थित पानामा कन्भेन्सर सेन्टरमा जारी आईसीएको वार्षिक साधारणसभा २०२६ ले डा.एरियल ग्वार्कोलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको छ । सँगै १५ सदस्यीय ग्लोबल बोर्ड पनि प्रजातान्त्रिक पद्धति अर्थात् मतदानको माध्यमबाट निर्वाचित भएको छ ।

आईसीएको वार्षिक साधारणसभाले अर्जेन्टिनाका एरियल ग्वार्कोलाई तेस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको छ । बाँकी १५ सदस्यीय आईसीए सञ्चालक समितिका लागि भने आज मतदान भएको थियो ।

आईसीएको वार्षिक साधारणसभामा सहभागी राष्ट्रिय सहकारी महासंघ लि. नेपालका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले केही समयअघि धिप्री डटकमसँग कुरा गर्दै भन्नुभयो, ‘अहिले यहाँ बेलुकीको सात चालिस बजेको छ। आज आईसीएको सञ्चालक समितिका लागि निर्वाचन सम्पन्न भई मतपरिणाम पनि सार्वजनिक भएको छ । नेपालका तर्फबाट कुल २१ मत थियो । सबैका तर्फबाट मैले नै मतदान गरे । सौहार्दपूर्ण वातावरणमा मतदान सम्पन्न भइ नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । मैले नेपालकोतर्फबाट अध्यक्ष ग्वार्कोसहित बोर्डमा निर्वाचित सबैलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरेँ ।’

WhatsApp Image 2026-09-16 at 06.15.01 (1).jpeg
आईसीए ग्लोबल बोर्ड २०२६ मा सहभागी राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष पोखरेल लगायत 

आईसीएको १५ सदस्यीय सञ्चालक समितिका लागि २४ जना चुनावी मैदानमा थिए । अध्यक्षसहित १६ मुलुकका १६ सहकारी अभियन्ताहरु आईसीए बोर्डमा आगामी ४ वर्षका लागि निर्वाचित भएका छन् । अध्यक्षमा ग्वार्को तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । 

नेपालकोतर्फबाट आईसीएमा महासंघका अत्तिरिक्त राष्ट्रिय सहकारी बैंक, नेपाल कृषि सहकारी केन्द्रिय संघ, बहुउद्देश्यी केन्द्रीय सहकारी संघ सदस्य छन् । निर्वाचन प्रक्रियाका लागि कारोबार तथा सदस्यताका आधारमा मत विभाजन गरिएको हुन्छ । जसअनुसार, नेपालकोतर्फबाट महासंघको ६ भोट, सहकारी बैंकको ८ भोट, नेपाल कृषि सहकारी केन्द्रिय संघको ४ र बहुउद्देश्यीय संघको ३ गरी कुल २१ भोट रहेको थियो । आईसीएको विधानत निर्वाचन प्रक्रियामा प्रोक्सी मतदानको व्यवस्था रहेकाले नेपालकातर्फबाट रहेको सबै भोट महासंघका कार्यवाहक अध्यक्ष पोखरेलले नै हाल्नुभएको जानकारी गराउनुभयो ।

WhatsApp Image 2026-09-16 at 06.15.00 (3).jpeg

नेपालको दृष्ट्रिकोणले अर्को महत्वपूर्ण भनेको आईसीए सञ्चालकमा भारतीय राष्ट्रिय सहकारी संघ (एनसीयूआई) का अध्यक्ष दिलीप सांघाई पनि निर्वाचित भएका छन् । यसैगरी, बेलायतबाट कोअपरेटिभ्स यूकेकी प्रमुख कार्यकारी अधिृकत रोज मार्ली पनि सञ्चालक पदमा निर्वाचित भएकी छिन् । यस्तै, टर्कीबाट सहकारी अभियन्ता एवम् पत्रकार उनल अर्नेक निर्वाचित भएका छन् । 

WhatsApp Image 2026-09-16 at 06.15.00 (1).jpeg
आईसीए ग्लोबल बोर्ड २०२६ मा सहभागी प्रतिनिधिहरुसँग राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष पोखरेल 

आईसीएको ग्लोबल बोर्ड ३० सदस्यीय रहेको छ । जसमा सदस्यहरुबाट प्रत्यक्ष निर्वाचित हुने अध्यक्ष, तत्तत् क्षेत्रबाट निर्वाचित हुने चार उपाध्यक्ष (एशिया, अफ्रिका, युरोप र अमेरिका), आठ क्षेत्रीय संगठनबाट निर्वाचित हुने ८ सञ्चालक, युवा समिति अध्यक्ष, लैङ्गिक समानता समिति अध्यक्ष र १५ जना बोर्ड सञ्चालक । आईसीएले एक महिनाभन्दा अघि नै निर्वाचन कार्यतालिका प्रकाशित गरी उम्मेदवारहरुको नाम र संक्षिप्त विवरण समेत सार्वजनिक गरेको थियो । र, सबैभन्दा उल्लेख्य विषय भनेको यो पटक पनि आईसीए बोर्डको अध्यक्षमा वर्तमान अध्यक्ष एरियल ग्वार्को नै निर्वाचित हुने कुरा केही महिना अघि नै आईसीएले जनाएको थियो । आईसीए नेतृत्वको दौडमा पशु चिकित्सक समेत रहेका अर्जेन्टिनी सहकारी अभियन्ता ग्वार्को एक्लो उम्मेदवार थिए । आईसीए बोर्डको अघिल्लो निर्वाचन स्पेनको सेभिलामा सन् २०२२ मा सम्पन्न भएको थियो । 

Results.jpeg
आईसीए ग्लोबल बोर्ड २०२६ मा निर्वाचित भएकाहरु 


लचिलो बनाइयो प्रावधान
यसैबीच, महासंघका कार्यवाहक अध्यक्ष पोखरेलका अनुसार आईसीएको साधारणसभाले यसको विनियम संशोधन गर्दै वार्षिक सदस्यता शुल्कमा केही कमी गरी सदस्यता बिस्तार गर्ने प्रस्ताव पारित गरेको छ । यसले गर्दा अब राम्रा र ठूला प्रारम्भिक सहकारी संस्थाहरु पनि सदस्य बन्न सक्ने भएका छन् भने आईसीएको वार्षिक सदस्यता नविकरण शुल्कमा पनि कम गरिएको छ ।

महासंघका कार्यवाहक अध्यक्ष पोखरेलका अनुसार अब भोली (स्थानीय समय अनुसार १६ सेप्टेम्बर) मा पानामाका राष्ट्रपतिले आईसीए ग्लोबल कंग्रेसको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नयाँ कार्यसमितिले पनि भोली नै पदभार ग्रहण गर्नेछ । कार्यतालिका अनुसार १८ सेप्टेम्बरमा समापन हुनेछ भने त्यसअघि एक दिन फिल्ड भिजिटको कार्यक्रम रहेको पोखरेलले जानकारी गराउनुभयो ।

WhatsApp Image 2026-09-16 at 06.20.28.jpeg
आईसीए ग्लोबल बोर्ड २०२६ मा पराजित भएकाहरु 

ग्वार्कोको अन्तिम कार्यकाल
अर्जेन्टिनी सहकारी अभियन्ता ग्वार्को यो निर्वाचनसँगै आईसीएको तीन कार्यकाल अध्यक्ष निर्वाचित भएका छन् । आईसीएको विनियम अनुसार कुनै पनि व्यक्ति पहिलो पटक अध्यक्ष निर्वाचित भएसँगै बाँकी २ पदावधिका लागि (अर्थात् लगातार तीन कार्यकाल) पुनः अध्यक्ष निर्वाचित हुन सक्नेछ । त्यस हिसाबले ग्वार्कोको अबको कार्यकाल अन्तिम हुनेछ ।

सन् २०१७ को नोभेम्बर १७ मा मलेशियाको राजधानी क्वालालम्पुरमा सम्पन्न आईसीएको वार्षिक साधारणसभाबाट उनी पहिलो पटक अध्यक्ष निर्वाचित भएका थिए । त्यही सम्मेलनमा नेपालको तर्फबाट पनि ओमदेवी मल्ल ग्लोबल बोर्ड सदस्य निर्वाचित भएकी थिइन् । ग्वार्को, दोस्रो पटक सन् २०२२ मा सेभिला साधारणसभाबाट अध्यक्ष बनेका थिए । ग्वार्कोलाई गत महिनामात्र रसियन युनिभर्सिटी अफ कोअपरेशनले मानार्थ विद्यावारिधिबाट सम्मानित गरेको थियो । उनले सहकारीसम्बन्धी पुस्तकहरु पनि लेखेका छन् । सहकारी अभियानमा उनको तीन दशक बढीको अनुभव छ ।

आईसीएले के गर्छ ?
आईसीए विश्वभरका सहकारीहरुको एक मात्र छाता संगठन हो । यसको स्थापना १९ अगस्ट १८९५ मा बेलायतको लन्डनमा भएको थियो ।  हाल यसको मुख्य कार्यालय बेल्जियमको राजधानी ब्रसेल्समा अवस्थित छ। आईसीएले विश्वभरका करिब ३० लाख सहकारीका करिब १ अर्ब सदस्यहरूको प्रतिनिधित्व गर्दछ । आईसीएमा हाल १०६ भन्दा बढी देशका ३२० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी संस्था आबद्ध छन्।

यसले सहकारीका मूल्य, मान्यता र ७ वटा विश्वव्यापी सिद्धान्तहरूको अधिनस्थ रही तिनको ब्याख्या, कार्यान्वयन र प्रवर्द्धन गर्नेकाम गर्दछ । यसले अन्तर्राष्ट्रिय मञ्चहरू, सरकारहरू र संयुक्त राष्ट्र संघसँगको परामर्शसहित विश्वव्यापी स्तरमा सहकारीहरूको हकहित र अधिकारको वकालत गर्दछ भने विभिन्न देशका राष्ट्रिय तथा क्षेत्रीय सहकारी संघहरूबीच समन्वय, अनुभव आदानप्रदान र आपसी सहकार्यको वातावरण सिर्जना गर्ने मुख्य कार्य गर्दछ । सँगै सदस्य संस्थाहरूलाई प्राविधिक सहयोग, शिक्षा, तालिम र बजार प्रवर्द्धनसम्बन्धी मार्गदर्शन प्रदान गर्ने, विश्वभरका सहकारीसम्बन्धी तथ्यांकहरू संकलन गर्ने, अनुसन्धान गर्ने र उत्कृष्ट अभ्यासहरूको प्रचारप्रसार गर्ने काम यसले गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार