काठमाडौं । काठमाडौ महानगरपालिका-६ बौद्ध मुख्य कार्यालय रहेको अजम्बरी बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १८औं वार्षिक साधारण सभा सदस्यहरुको बाक्लो उपस्थिति एवम् नियामकीय प्रबन्धको परिपालना गर्दै आज सम्पन्न गरेको छ ।
अध्यक्ष नुर्बु लामाको सभापतित्वमा आयोजित साधारण सभा संस्थाकै बालबचतकर्ताबाट दीप प्रज्वलीत गरी शुरु गरिएको थियो । उद्घाटन वा प्रथम सत्र भनेर वक्ताहरु नछुट्याई सिधैं दोस्रो सत्रमा साधारणसभा प्रवेश गरेको थियो । साँच्चै भन्ने हो भने सहकारीहरुले गरेको यो उदाहरणीय र असल अभ्यास हो जसलाई अजम्बरी साकोसका अध्यक्ष लामा तथा प्रमुख कार्यकारी अधिकृत गान्वा सुनुवारले विशेष जोड दिनुभएको थियो ।
उहाँहरुले अजम्बरी साकोसले हरेक वर्ष सदस्य केन्द्रित, अतिथिरहित मितव्ययी र नियाकीय प्रावधानहरुको अधिनस्थ रही वार्षिक साधारण सभा सञ्चालन गर्दै आएको बताउँदै यो वर्ष पनि सोही परिपाटीलाई निरन्तरता दिइएको प्रष्ट पार्नुभयो । अध्यक्ष लामाले मुलुकको विषम परिस्थितिलाई ध्यानमा राख्दै सरल र छोटो समयमै मितव्ययी रुपमा तर धेरै सदस्यहरुको सहभागितामा वार्षिक साधारणसभा सम्पन्न गरिएको भन्दै कृतज्ञता व्यक्त गर्नुभयो ।
संस्थाका सचिव ग्याल्जेन शेर्पाले सञ्चालन खर्च कम गर्ने, उत्पादनमूलक क्षेत्रमा ऋण लगानी गर्ने, दिगोपनाका लागि सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, उपसमिति, कर्मचारी, तथा सदस्यहरुलाई तालिम प्रदान गर्ने, सदस्य तथा शेयर पुँजी एवम् ऋण लगानी वृद्धि गर्ने योजना सुनाउनुभयो ।
साकोसका प्रमुख कार्यकारी अधिकृत सुनुवारले मुनाफा भन्दा सदस्य सेवा र सुविधालाई बढाउँदै लाने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहकारीको मूल्य, मान्यता र सिद्धान्त अनुसार कुन संस्थाले कति मुनाफा बाँड्यो भन्दा पनि के कस्ता सदस्य सेवा, सुरक्षा, राहत र सुविधाकामार्फतबाट उनीहरुको जीवन रुपान्तरणमा भूमिका निर्वाह गर्यो भन्ने महत्वपूर्ण भएको बताउनुभयो । उहाँले सदस्यहरुले पनि अब मुनाफा भन्दा सेवा र सुरक्षाका विषयमा ध्यान दिनुपर्ने सुझाव राख्नुभयो ।
सोही कारण अजम्बरी साकोसले सदस्य सुरक्षा, सेवा र सुविधाका विविध कार्यक्रमहरु सञ्चालनमा ल्याएको र त्यो आगामी दिनमा बढाउँदै लाने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैगरी, भोटेकोशी बाढीले ल्याएको विषम परिस्थितिमा अजम्बरी साकोसले संस्थागत एवम् मानवीय भावनालाई आत्मसात् गर्दै अन्य खर्च कटाएर पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार रुपैयाँ सहयोग गरेको जानकारी पनि उहाँले गराउनुभयो ।
‘सहकारी संस्था कम्पनी जस्तो बढी नाफामुखी हुनुहुँदैन, ‘ प्रमुख कार्यकारी अधिकृत सुनुवारले भन्नुभयो, ‘सदस्यहरुले पनि फलानो संस्थाले यति नाफा बाँढ्यो, ढिस्कानाले यति बाँढ्यो, यसले कति बाँढ्यो भनेर खोज्नुभन्दा संस्था दिगो छ कि छैन भनेर सोच्नुपर्छ । सदस्यलाई आवश्यक सुविधा कसरी दिने भनेर सहकारीले सोच्नुपर्छ । त्यही भएर हामीले सदस्य सुरक्षा कार्यक्रम अन्तर्गत आन्तरिक कार्यविधि निर्माण गरेर ५ हजार रुपैयाँ देखि ५० हजारसम्म नगद सहयोग गर्दै आएका छौं ।’
उहाँले भन्नुभयो, ‘सदस्यको मृत्यु हुँदा २५ हजार संस्कार खर्च, प्रसुति स्याहार खर्च बापत ५ हजार, २२ प्रकारका प्राणघातक रोग लाग्दा ५० हजार उपचार खर्च प्रदान गर्दै आएका छौं । यसैगरी, स्वास्थ्य सेवाहरुसँग पनि सम्झौतामार्फत सदस्यहरुलाई औषधी उपचार तथा शल्यक्रियामा १० देखि २५ प्रतिशतसम्म छुट उपलब्ध गराएका छौं । त्यस्तै, दन्तपरीक्षणमा पनि २५ प्रतिशतसम्म छुट सुविधा पनि उपलब्ध गराएका छौं । यसैले सहकारी संस्थाहरु नाफामुखी भन्दा पनि सदस्यसेवामुखी हुनुपर्छ, यस्ता छुट सुविधाहरु उपलब्ध गराउनुपर्छ, जुन सानो सानो सुविधा पनि अफ्ठेरोमा ठूलो महत्वको हुन्छ ।’ उहाँले ती सेवाबाट धेरै सदस्यहरु लाभान्वित भएको बताउँदै सहकारीले यसरी नै सदस्यहरुको जीवनमा सकारात्मक र दिगो भूमिका खेल्न सक्ने प्रष्ट पार्नुभयो ।
यसैबीच, आजको साधारण सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, बाह्रय लेखापरीक्षण प्रतिवेदन, गत आर्थिक वर्षमा सञ्चालक समिति, उपसमितिहरुबाट भए गरेका निर्णयहरु, चालु आर्थिक वर्षको प्रस्तावित नीति, कार्यक्रम तथा बजेट, आन्तरिक कार्यविधिहरु संशोधन एवम् पुनर्लेखन, गैर वित्तीय सम्पत्ति बिक्री गर्ने, सदस्यता खारेज गर्ने, प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता पुनर्संरचना गर्ने, आदि गरी ११ वटा प्रस्तावहरु उपर छलफल, रायसल्लाह र सुझावसहित सर्वसम्मत पारित गरेको छ । सभामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमितिका पदाधिकारीहरु, बाह्रय लेखापरीक्षक सीए राजकुमार फुयाल, कर्मचारीहरुको सहभागिता थियो ।
यस्ता छन् सूचक र विवरण
अजम्बरी साकोसमा हाल १ करोड ९५ लाख ३५ हजार ५ सय शेयर पुँजी रहेको छ भने ३७ करोड २४ लाख ८६ हजार ५ सय ३५ बचत निक्षेप रहेको छ । यसैगरी, गत आर्थिक वर्षको वित्तीय प्रतिवेदन अनुसार संस्थासँग १५ करोड ५९ लाख बढी तरलता छ भने १९ करोड ९२ लाख ९९ हजार बढी ऋण लगानी रहेको छ । अजम्बरी साकोसले आर्थिक वर्ष २०८२/८३ मा ३ करोड १८ लाख ९८ हजार ५ सय १८ रुपैयाँ आम्दानी गर्न सफल भएको जानकारी सभामा गराइएको थियो । संस्थामा हाल १६४२ जना सदस्य छन् जसमध्ये ९४३ जना महिला, ६९७ जना पुरुष तथा २ संस्थागत सदस्य छन् ।
समिति र व्यवस्थापन
‘सदस्य केन्द्रित, दिगो र व्यावसायिक साकोस’ निर्माणको परिकल्पना बोकेको अजम्बरी साकोसमा हाल नुर्बु लामाको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति रहेको छ भने मिङ्मा शेर्पाको संयोजकत्वमा ३ सदस्यी लेखा सुपरिवेक्षण समिति रहेको छ । ३ जना सल्लाहकार तथा १ जना कानूनी सल्लाहकार समेत संस्थामा रहनुभएको छ । संस्थाले प्रविधि प्रयोगमा पनि विशेष जोड दिदैं आएको प्रमुख कार्यकारी अधिकृत सुनुवारले बताउनुभयो । मुख्य कार्यालयसहित गोकर्णेश्वर ८, अत्तरखेलमा सेवा केन्द्र रहेको अजम्बरी साकोसमा ९ महिलासहित कुल १२ जना कर्मचारी कार्यरत छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com