Sep 18 2026 | २०८३, असोज २ गते

Sep 18 2026 | २०८३, असोज २ गते

Follow us
धिप्री संवाद

‘न सहकारी छोडेर कतै जान्छु, न त बुडोल सामुदायिक नै!’

‘न सहकारी छोडेर कतै जान्छु, न त बुडोल सामुदायिक नै!’

उमेरको हिसाबले भन्ने हो भने रञ्जना सुवाल अझै युवा वयमै हुनुहुन्छ । यद्यपि, पारिवारिकसँगै संस्थागत जिम्मेवारी गहन छ । घरमा श्रीमान, दुई छोरा तथा सासु ससुराप्रतिको कर्तव्य छदैछ त्यसमाथि करिब २० हजार सदस्य रहेको सहकारी संस्थाको ‘सेकेन्ड इन कमान्ड’को दायित्व पनि । यद्यपि, दुई दशक पार गरिसकेको व्यावसायिक कर्म र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन उहाँ सफल हुनुभएको छ । पारिवारिक साथ तथा व्यावसायिक सहयोगले यो सम्भव भएको उहाँ बताउनुहुन्छ ।

काभ्रेपलाञ्चोकस्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा स्वयंसेवक (सदस्य सहजकर्ता) को भूमिकाबाट सहकारी करियर शुरु गर्नुभएकी उहाँ उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत भइसक्नुभएको छ ।  स्नातकोत्तर पूरा गर्नुभएकी उहाँ सहकारीसम्बन्धी विभिन्न तालिमहरुबाट पनि आभूषित हुनुहुन्छ । कार्यकारी अधिकृत आठौं तहमा पदोन्नति हुँदा धेरै खुसी भएको बताउँदै २०८० असार १ गतेको उक्त क्षणलाई अविस्मरणीय सम्झनुहुन्छ ।

सदस्यहरुबाट प्राप्त अपरिमित माया र कार्यसम्पादनप्रतिको अट्टुट लगावको बुतामा प्राप्त सफलताबाट कत्ति पनि नरत्तिकन अघि बढीरहनुभएकी रञ्जना सहकारीमा लागेर पनि असल र उदाहरणीय बन्न सकिन्छ भन्ने आशंका गर्नेहरुका लागि गतिलो जवाफ हुनुहुन्छ । अनि, महिलाहरु पनि पुरुषहरुभन्दा कम छैनन् बरु प्राप्त बहुजिम्मेवारीहरुलाई निष्ठापूर्वक निर्वाह गर्न सक्छन् भन्नेहरुका लागि उत्प्रेरणा हुनुहुन्छ । विज्ञापन र आत्मप्रचारको समयमा पनि ‘लो–कि’ मा रहन चाहने ३९ वर्षीय रञ्जनासँग धिप्री डटकमले हालै एउटा लामो संवाद गरेको छ । प्रस्तुत छ, उक्त संवादको सम्पादित अंशः

सहकारी प्रवेश कसरी भयो बताइदिनुहोस् न ?
म २०६२ साउन १० गते सहकारी क्षेत्रमा प्रवेश गरेँ । यसको पनि एउटा ‘स्टोरी’ छ । २०६२ सालमा म कक्षा ११ को अन्तिम परीक्षा दिएर फुर्सदमा बसेकी थिएँ । त्यसबेला एकजना दिदीले बुडोल सहकारीमा स्वयंसेवकको लागि ‘भ्याकेन्सी’ खुलेको छ तिम्रो एस.एल.सी.मा पहिलो श्रेणी आएको छ, नाम निस्कन सक्छ देऊ भन्नुभयो । त्यतिबेला मलाई सहकारी भनेको नै थाहा थिएन र खासै जागिर गरिहाल्छु भन्ने सोच पनि थिएन । तर पनि स्वयंसेवक नै त होनि केही काम पनि सिक्न सकिन्छ र केही पकेट मनि पनि हुन्छ भन्ने सोचेर आवेदन दिएँ, नाम पनि निस्कियो । 

एक दुई दिनमै छोडौँ छोडौँ जस्तो लागेको थियो । तर, पछि राम्रो हुन्छ भनेर सबैले भन्नुहुन्थ्यो, त्यसपछि आफ्नो कामलाई निरन्तरता दिएँ ।

यसरी, मेरो व्यावसायिक जीवनको प्रारम्भ नै बुडोल सामुदायिक साकोसबाट भयो ।  पहिलो भूमिका स्वयंसेवक, सदस्य सहजकर्ता थियो । अहिले त्यो दिन सम्झदा मनै रोमाञ्चित पनि हुन्छ । सदस्य सहजकर्ताबाट टेलर सहायक, ऋण सहायक, उप प्रमुख आ.प्र.शाखा, कार्यान्वयन अधिकृत हुँदै अहिले कार्यकारी अधिकृतको भूमिकामा कार्यरत छु ।

बीचमा छोडौं सहकारी वा छोड्नुपर्छ भन्ने लाग्यो कि लागेन? वा केही समयको लागि सहकारीमा काम गर्छु त्यसपछि अन्यत्र जान्छु भनेर काम शुरु गर्नुभएको हो कि ?
शुरुमा प्रवेश स्वयंसेवक भनेर गरेको भए तापनि दिनको २ घण्टा जति कलेक्सन गर्नु पर्ने थियो र मलाई खासै काम गर्न मनै लागेको थिएन । एक दुई दिनमै छोडौँ छोडौँ जस्तो लागेको थियो । तर पछि राम्रो हुन्छ भनेर सबैले भन्नुहुन्थ्यो, त्यसैले कामलाई निरन्तरता दिएँ । २०६२/०६३ साल तिर संस्थामा सदस्य र कारोबार वृद्धि पनि राम्रो भएर ६ महिनामा नै अर्को कर्मचारी थप गरियो ।

मैले टेलरमा काम गर्ने मौका पाएँ । मलाई टेलरमा काम गर्न एकदमै मनपर्ने, घरबाट नजिक र पढाइलाई निरन्तरता दिन सहज पनि । संस्था एक्सेस ब्राण्डिङ्ग कार्यक्रममा आबद्ध भए पश्चात कर्मचारीहरुलाई पनि राम्रो सुविधा थियो । बैंकमा काम गर्ने मेरो साथीहरुको भन्दा पनि मेरो सेवा सुविधा राम्रो थियो र अन्त कतै जाने सोच नै बनाइएन । करियरको यति लामो यात्रा एकै क्षेत्रमा एकै थलोमा गर्छु जस्तो भने लागेकै थिएन तर सहकारीमा काम गर्दा सदस्यसँगको आत्मीयता र समाज प्रतिको लगाव बढ्दै जाने रहेछ जसले मलाई यो क्षेत्रबाट टाढिन नै दिएन । 

DSC02929.JPG_11zon.jpeg
रञ्जना सुवाल

सहकारीमार्फत हामीले के गर्न सकिन्छ? वा के कस्ता परिवर्तन ल्याउन सकिन्छ सदस्य र समुदायको जीवनमा ?
सहकारी भनेको बचत र ऋण दिने संस्थाको रुपमा मात्र बुझ्नु हुँदैन । सहकारी आर्थिक, सामाजिक र सामुदायिक रुपान्तरणको माध्यम पनि हो । सहकारीले सहकार्यको भावना जगाउने गर्दछ, सहकारी भनेको “एकका लागि सबै र सबैका लागि एक” भन्ने मर्ममा सञ्चालन हुने संस्था भएकोले यसले संस्थामा आबद्ध व्यक्ति र समुदाय दुवैलाई शसक्त बनाउने कार्य गर्दछ । सहकारी मार्फत सदस्यहरुबीच विश्वास, सहयोग र सहकार्यको वातावरण निर्माण गर्न सकिन्छ ।

मलाई व्यक्तिगत रुपमा भन्नुपर्दा सदस्य र समुदाय विकासका लागि प्रत्यक्ष योगदान दिने अवसर मिलेको कारणले गर्दा मैले यस क्षेत्रमा काम गर्दा एक प्रकारको आत्म सन्तुष्टि प्राप्त गरेकी छु भने सहकारी क्षेत्रमा महिलाहरुले काम गर्दा हुने फाइदा भनेको समुदायमा पहिचान र प्रतिष्ठा बढ्छ, समुदायमा प्रत्यक्ष रुपमा जोडिन सकिन्छ ।

सहकारी मार्फत सदस्यलाई दिन सकिने मुख्य सेवा भनेको सहज वित्तीय कारोबार, नियमित रुपमा बचत गर्ने बानीको विकासले सदस्यलाई वित्तीय स्वतन्त्रता प्राप्त गर्न सहयोग गर्दछ । सहकारी मार्फत वित्तीय सचेतना कार्यक्रम, सदस्यहरुलाई सिपमूलक तालिमहरु दिन सकिन्छ जसले सदस्यमा रोजगारी सिर्जना गर्दछ, नेतृत्व विकास, उद्यमशिलता विकास कार्यक्रमहरु गर्न सकिन्छ । सदस्यलाई कृषि, पशुपालन, साना उद्योग वा व्यवसाय सञ्चालनको लागि सहज र सहुलियत दरमा ऋण प्रदान गर्न सक्दछ । 

सदस्यहरुका लागि स्वास्थ्य उपचार राहत, दुर्घटना बिमा, प्राकृतिक प्रकोपमा राहत, जेष्ठ नागरिकको सम्मान जस्ता कार्यक्रममा मार्फत सामाजिक सुरक्षाको प्रत्याभुति प्रदान गर्न सकिन्छ । सहकारीको माध्यमबाट सदस्य र समुदायको जीवनस्तरमा सकारात्मक परिवर्तनहरु ल्याउन सकिन्छ । जस्तैः सहकारीले सदस्यलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउँदछ, आपतकालिन अवस्थामा वित्तीय सुरक्षा प्राप्त हुन्छ । विभिन्न नेतृत्व विकास तथा सीपमूलक तालिमहरुले सदस्यलाई उद्यम गर्न आत्मविश्वास प्राप्त हुन्छ भने समुदायमा सहकार्यको संस्कारले सामाजिक एकता बलियो हुन्छ भने स्थानीय गतिविधि र रोजगारी पनि वृद्धि हुन्छ ।

तर पारिवारिक कारणले गर्दा जति पुरुषहरुलाई सहज हुन्छ त्यति सहज भने महिलाहरुलाई नहुन पनि सक्दछ । मैले केही अनुभव पनि गरेकी छु, म आफै पनि र अन्य महिला कर्मचारीहरुले पारिवारिक तथा विशेष गरी सानो बच्चाको कारणले गर्दा आएको अवसरहरु पनि गुमाउनु परेको छ ।

महिलालाई सहकारी संस्थामा काम गर्दाका फाइदा के छन् र बेफाइदा के छन्?
जुनसुकै क्षेत्रमा काम गर्दा हुने पहिलो फाइदा भनेको महिलाहरु आत्मनिर्भर हुन सक्दछन्, आफ्नो वा परिवारको वित्तीय आवश्यकताहरु पूरा गर्न स्वयं सक्षम हुन्छन् । मलाई व्यक्तिगत रुपमा भन्नुपर्दा सदस्य र समुदाय विकासका लागि प्रत्यक्ष योगदान दिने अवसर मिलेको कारणले गर्दा मैले यस क्षेत्रमा काम गर्दा एक प्रकारको आत्म सन्तुष्टि प्राप्त गरेकी छु भने सहकारी क्षेत्रमा महिलाहरुले काम गर्दा हुने फाइदा भनेको समुदायमा पहिचान र प्रतिष्ठा बढ्छ, समुदायमा प्रत्यक्ष रुपमा जोडिन सकिन्छ । नेतृत्व क्षमताको विकास हुन्छ यस्ता धेरै फाइदाहरु हुन्छन् । 

हरेक क्षेत्रमा काम गर्दा फाइदा बेफाइदा दुवै हुन सक्दछन् र बेफाइदाको बारेमा भन्नु पर्दा प्राय महिलाहरुले कार्यालयको काम सँगै घरपरिवारको जिम्मेवारी पनि समाल्नुपर्ने हुन्छ । घर र कार्यालय दुवै व्यवस्थापन गर्न चुनौती हुन सक्छ । नेतृत्व तहमा महिला प्रतिनिधित्वले कम प्राथमिकता पाउन पनि सक्दछन् ।

सहकारीमा महिलाहरुका लागि काम गर्ने वातावरण कस्तो  ? तपाईंको कार्यालयमा कुल महिला कर्मचारीहरु कति हुनुहुन्छ ? 
मलाई लाग्छ सहकारीमा महिलाहरुको लागि काम गर्ने वातावरण राम्रो छ किनकी सहकारीको कार्यक्षेत्र भनेको हाम्रै घर समाज हो । धेरै जसो महिलाहरुलाई घरबाट अलग भएर काम गर्ने वातावरण नहुन पनि सक्छ र प्रायः सहकारीहरुको सेवाकेन्द्रहरु टाढा र धेरै नहुने कारणले गर्दा महिलाहरु आफ्नै घरपरिवार सँगै बसेर काम गर्न पनि सक्दछन् । अझै बुडोल सामुदायिकको वातावरणको बारेमा भन्नुपर्दा यहाँ पारिवारिक वातावरण छ काम गर्न सहज वातावरण छ । महिलाहरुले आफ्ना समस्याहरु खुलेर भन्न सक्ने वातवरण छ र हाल हाम्रोमा कुल ५० जना कर्मचारीमध्ये २३ जना महिला कर्मचारी छौं । 

सहकारीमा महिलाहरुलाई अवसर त्यति मिल्दैन, धेरै अवसर पुरुषहरुले उपयोग गर्छन्, किनकि उनीहरुको संख्या धेरै हुन्छ भनिन्छ नि ?
त्यस्तो खालको प्रवृत्ति बुडोल सामुदायिकमा त छदैँ छैन । यहाँ सदैव तालिम कार्यक्रमहरु जसको लागि जुन पदको लागि लक्षित गरेर आएको हुन्छ उसलाई नै अवसरहरु प्रदान गर्ने गरिन्छ । तर पारिवारिक कारणले गर्दा जति पुरुषहरुलाई सहज हुन्छ त्यति सहज भने महिलाहरुलाई नहुन पनि सक्दछ । मैले केही अनुभव पनि गरेकी छु, म आफै पनि र अन्य महिला कर्मचारीहरुले पारिवारिक तथा विशेष गरी सानो बच्चाको कारणले गर्दा आएको अवसरहरु पनि गुमाउनु परेको छ । नभए त महिला भएकै कारणले अवसरहरु कम पाएका भने छैनौँ र संख्याको नै कारणले त अवसर पाउनको लागि खासै प्रभाव पार्छ जस्तो मलाई लाग्दैन ।

बुडोल सामुदायिकमा १९८२३ जना सदस्यहरु भइरहदा महिला सदस्यहरु ५५ प्रतिशत हुनुहुन्छ । मेरो अनुभवमा महिला सदस्यहरु सहकारी प्रति पुरुषको तुलनामा बढी असल र जिम्मेवार हुनुहुन्छ र अझ जिम्मेवार र असल बनाउनको लागि निरन्तर सदस्यसँग भेटघाट गर्ने कार्यक्रमहरु गर्नुपर्छ । साँचै नै सहकारी सदस्यको सुख दुखको साथी हो भन्ने अनुभुति सहकारीका हरेक सदस्यलाई सहकारीले दिन सक्नुपर्दछ ।

महिलाहरुले सहकारीमा उच्च पदमा रहेर काम गर्न सक्छन्? जिम्मेवारी निर्वाह गर्न सक्छन् भन्ने लाग्छ तपाईंलाई ?
जिम्मेवारी पाएको अवस्थामा पक्कै पनि सक्छन् । सहकारी मात्र होइन राज्यको उच्च ओहोदामा पनि त महिलाहरु पुगेर आफ्नो जिम्मेवारी सफलतापूर्वक निभाउनु भएको उदारणहरु हामी देख्न सक्छौं र सहकारीमा पनि उच्च तहमा जिम्मेवारी निर्वाह गर्न सक्छन् ।

सहकारीमा महिलाहरु जिम्मेवारी पाउँदा पुरुषहरुले भन्दा राम्रो काम गर्न सक्छन्, महिलाहरु इमान्दार, सुशासित र पारदर्शी हुन्छन् भन्ने कुरा सही हो ? 
यो प्रश्न सुन्दा मलाई नेपालको पहिलो महिला प्रधानन्यायाधिश तथा पहिलो महिला प्रधानमन्त्री सुशिला कार्कीले भन्नुभएको भनाइ याद आयो-महिलाले जसरी घर चलाउँदा बचाई बचाई जोगाएर चलाउछिन् त्यस्तै गरी देश पनि एकदमै जोगाएर राम्रोसँग व्यवस्थित तरिकाले चलाउन सक्छिन् भन्ने भनाई प्रम हुनुअघि एउटा टेलिभिजन अन्तर्वार्ता कार्यक्रममा दिनुभएको थियो । त्यो भन्दा पनि मलाई लागेको इमान्दारी, लगनशिलता, मेहनत र सहकारी सम्बन्धी ज्ञान भएमा महिला पुुरुष दुवैले राम्रोसँग काम गर्न सक्दछन् । 

मेरो अनुभवले सहकारी बचत र ऋणको कारोबार गर्ने संस्था मात्र होइन, यसले सदस्यको आर्थिक, सामाजिक र सदस्यको जीवनमा सकारात्मक परिवर्तन ल्याउने सदस्य केन्द्रित संस्था हो भन्ने मूल भावना समुदायमा पुनःस्थापित गर्नु आवश्यक छ । 

बुडोलमा महिला सदस्यहरु कति हुनुहुन्छ ? महिलाहरुलाई सहकारीप्रति जिम्मेवार र असल सदस्य बनाउन तपाईँको भूमिका के हुनसक्छ ?
बुडोल सामुदायिकमा १९८२३ जना सदस्यहरु भइरहदा महिला सदस्यहरु ५५ प्रतिशत हुनुहुन्छ । मेरो अनुभवमा महिला सदस्यहरु सहकारी प्रति पुरुषको तुलनामा बढी असल र जिम्मेवार हुनुहुन्छ र अझ जिम्मेवार र असल बनाउनको लागि निरन्तर सदस्यसँग भेटघाट गर्ने कार्यक्रमहरु गर्नुपर्छ । साँचै नै सहकारी सदस्यको सुख दुखको साथी हो भन्ने अनुभुति सहकारीका हरेक सदस्यलाई सहकारीले दिन सक्नुपर्दछ ।

DSC02928.JPG_11zon.jpeg
रञ्जना सुवाल

पछिल्लो समय सहकारीमा समस्याहरु आइरहँदा, बचतकर्ताहरु सडकमा आइरहँदा, सहकारीमा सुशासन नभएको देख्दासुन्दा के लाग्छ ? किन काम गरिएछ सहकारीमा भन्ने त लाग्या छैन ?
सहकारीमा किन काम गरेछु जस्तो त लागेको छैन तर आफूले काम गरेको क्षेत्रको कारणले गर्दा सहकारीका धेरै सदस्यहरुले पाउनु भएको दुःख हेर्दा सुन्दा भने निकै नराम्रो भने लाग्छ ।

सहकारीमा देखिएका मुलभूत समस्याहरु समाधान गर्न तपाईँको सुझाव? यतिका वर्षको अनुभवले के भन्छ ?
सुशासनलाई पहिलो प्राथमिकता दिनुपर्दछ । सदस्यलाई साच्चै नै संस्थाको मालिक बनाउनु पर्दछ । राजनीतिक तथा दलगत हस्तक्षेप हुनुुहुदैन । प्रविधिको प्रयोग सँगै यससँग सम्बन्धित सचेतना बढाउनुपर्दछ । सदस्यलाई सहकारी शिक्षा व्यावहारिक रुपमा दिनुपर्दछ । संस्थाहरुमा नियमित अनुगमन र समस्या आउनु अघि नै पहिचान गर्न सक्ने प्रणाली हुुुनुपर्दछ । समस्या भएका संस्थाहरुको पहिचान गरी प्रभावकारी रुपमा सुधार गर्नुपर्दछ । मेरो अनुभवले सहकारी बचत र ऋणको कारोबार गर्ने संस्था मात्र होइन, यसले सदस्यको आर्थिक, सामाजिक र सदस्यको जीवनमा सकारात्मक परिवर्तन ल्याउने सदस्य केन्द्रित संस्था हो भन्ने मूल भावना समुदायमा पुनःस्थापित गर्नु आवश्यक छ । 

सहकारीले सहकार्य गर्न सिकायो । सहकारीले आत्मविश्वास दिलायो, आफ्नो कमजोरी पहिचान गरी त्यसलाई आफ्नो बलियो पक्ष बनाउन सिकायो र सहकारीले बचत गर्न र सही वित्तीय व्यवस्थापन गर्न सिकाएको छ । संस्थाले भोेगेको विभिन्न आरोह अवरोहसँगै आफू स्वयंलाई चुनौतीहरुसँग सामना गर्न सक्ने बनायो ।

एउटा राम्रो सहकारी सञ्चालन गर्न सञ्चालक, सदस्य र व्यवस्थापनको भूमिकाहरु के हुनुपर्छ ? 
एउटा राम्रो सहकारी सञ्चालन गर्न सञ्चालकले नीति कार्ययोजनाहरु तय गरिदिनुपर्दछ भने व्यवस्थापनले त्यसको पूर्ण रुपमा कार्यान्वयन गर्ने र कार्यान्वयन पक्षमा सञ्चालकले व्यवस्थापनलाई हस्तक्षेप गर्नुहुदैन । राम्रो सहकारीको लागि राम्रो सञ्चालक र राम्रो व्यवस्थापन मात्र पर्याप्त हुदैन यसको लागि जागरुक सदस्यको पनि ज्यादै महत्वपूर्ण भुमिका रहेको हुन्छ सदस्यले पनि संस्थाको स्वामित्व लिने तथा निगरानी गर्ने कार्यहरु नियमित गर्नुपर्दछ । केही गलत भएमा सदस्यले खबरदारी गर्ने कार्यहरु पनि गर्नुपर्दछ जसले गर्दा संस्थाका सञ्चालक र व्यवस्थापनले सदैव सचेत भई काम गर्दछन् । 

सहकारीप्रति विश्वास बढाउन, साँच्चिकै सहकारी हाम्रो देश, समाज र समुदायका लागि आवश्यक छ, सहकारीहरु विश्वासिला छन् परेको बेला सहयोग गर्छन् भन्ने बनाउन सकिन्छ भन्ने लाग्छ तपाईँलाई ?
पक्कै सकिन्छ, सदस्य र समुदाय केन्द्रित भई सञ्चालन भएको संस्थामा आज पनि सदस्यको यो विश्वास कायम भएको देखिन्छ र बुडोल सामुदायिकले पनि यो विश्वास हासिल गर्न सकेको छ । 

सहकारीले तपाईँलाई के सिकायो? यत्रो वर्ष सहकारी वा बुडोलमा काम गर्दा आफूले सिकेका महत्वपूर्ण कुराहरु के हुन् ?
सहकारीले सहकार्य गर्न सिकायो । सहकारीले आत्मविश्वास दिलायो, आफ्नो कमजोरी पहिचान गरी त्यसलाई आफ्नो बलियो पक्ष बनाउन सिकायो र सहकारीले बचत गर्न र सही वित्तीय व्यवस्थापन गर्न सिकाएको छ । संस्थाले भोेगेको विभिन्न आरोह अवरोहसँगै आफू स्वयंलाई चुनौतीहरुसँग सामना गर्न सक्ने बनायो । सबैभन्दा महत्वपूर्ण कुरा सहकारी अभियानमा रञ्जना सुवाल भनेर एउटा छुट्टै पहिचान निर्माण भएको छ ।

अहिलेको जिम्मेवारी अनुसार तपाईँले मुख्यतया के कस्ता काम गर्नुपर्छ ?
कार्यान्वयन अधिकारीको प्रमुख जिम्मेवारी भएकोले कम्प्लायन्स शाखाको नेतृत्वदायी भूमिका निर्वाह गरेकी छु । यस्तै, सूचना अधिकारीको पनि जिम्मेवारी रहेको छ । संस्थाको लागि आवश्यक नीति, कार्यविधि निर्माण गर्ने जिम्मेवारी छ । सेवाकेन्द्र कार्यालयहरुको नियमित अनुगमन गर्ने र आवश्यकता बमोजिम निर्देशन दिने, ऐन, कानुन र नियामकीय निकायबाट आएका निर्देशनहरुको पूर्ण रुपमा परिपालना गर्ने गराउने तथा संस्थाले सहभागिता जनाएको स्तरीकरण कार्यक्रमको नेतृत्वदायी भूमिका निर्वाह गर्ने आदि । 

आज पनि सदस्यहरु खोजी खोजी मलाई भेटेर जुन आत्मीयता, माया र विश्वास देखाउनुहुन्छ, त्यसले मलाई एक प्रकारको आत्मसन्तुष्टी प्रदान गर्छ र यसले मलाई कामप्रति थप ऊर्जाशिल बनाएको छ  । २०७० सालमा उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत हुँदा र अधिकृत छैठौं तहबाट कार्यकारी अधिकृत आठौं तहमा पदोन्नति हुँदा धेरै खुसी भएकी थिए यो क्षण सदैव अविस्मरणिय छन् यो सफलता हासिल गर्नुमा पनि सदस्यले देखाउनुभएको माया विश्वासलाई दिन चाहन्छु । 

सहकारीमा लिनुभएका महत्वपूर्ण तालिम के के छन् ?
एडभान्स पर्ल्स तालिम, लेखा व्यवस्थापन तालिम, सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम, साकोस उच्च स्तरिय सुशासन तालिम, युवाका लागि वित्तीय शिक्षा प्रशिक्षक प्रशिक्षण तालिम, साकोस म्यानेजर्स क्षमता अभिवृद्धि तालिम, आदि । 

परिवारलाई समय दिन सक्नुभएको छ ? घरको काम अरु घरासयी भूमिका कसरी मिलाउनुभएको छ ? 
अफिस बाहेकको पूरा समय म मेरो परिवारलाई नै दिन्छु, घरको काम तथा घरायसी भूमिकाहरु आजसम्म व्यवस्थापन गर्दै आएकी छु ।

अचेल बिहान ९ बजेदेखिनै अफिस पुग्नुपर्दा झनै असजिलो भएको छ कि के छ ?
पहिलो प्राथमिकता सधै अफिसलाई नै दिएकी छु र सबै कुराहरु बानी नै हो । यो पनि बानी भैसक्यो सहज नै लागिरहेको छ ।

समय व्यवस्थापनका अन्य चुनौतीहरु के छन् जागिरे महिलाका लागि ?
बुझ्ने र साथ दिने परिवार हुनुभयो भने खासै चुनौती छ जस्तो लाग्दैन र महत्वपूर्ण कुरा भनेको सबै कुराहरु आफैमा भर पर्दछ । कुन कुरालाई महत्व दिने त्यही अनुसार व्यवस्थापन गर्न सक्नु पर्दछ जस्तो लाग्छ । 

बुडोलका सदस्यहरुमध्ये कतिलाई तपाईँ व्यक्तिगत रुपमै चिन्नुहुन्छ ?
धेरैलाई चिन्छु । धेरै सदस्यहरुबाट माया, विश्वास र हौसला पाएकी छु । 

सदस्यहरुसँग घुलमिल हुँदा प्राप्त अविष्मरणीय अनुभव वा रमाइला किस्साहरु केही छन् भने उल्लेख गरिदिनुहोला ।
आज पनि सदस्यहरु खोजी खोजी मलाई भेटेर जुन आत्मीयता, माया र विश्वास देखाउनुहुन्छ, त्यसले मलाई एक प्रकारको आत्मसन्तुष्टी प्रदान गर्छ र यसले मलाई कामप्रति थप ऊर्जाशिल बनाएको छ  । २०७० सालमा उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत हुँदा र अधिकृत छैठौं तहबाट कार्यकारी अधिकृत आठौं तहमा पदोन्नति हुँदा धेरै खुसी भएकी थिए यो क्षण सदैव अविस्मरणिय छन् यो सफलता हासिल गर्नुमा पनि सदस्यले देखाउनुभएको माया विश्वासलाई दिन चाहन्छु । 

सहकारी छोडेर अन्यत्र जानुहुन्छ कि हुन्न? र बुडोलबाहेक अन्यत्र सहकारीमा राम्रो अवसर आयो भने के गर्नुहुन्छ ?
कतै जाने सोच बनाएकी छैन ।

बुडोल सहकारीमार्फत के कस्ता कामको नेतृत्व आफूले गर्न पाए हुन्थ्यो जस्तो लाग्छ तपाईंलाई ?
हालको पदमा बसी जिम्मेवारी निर्वाह गर्ने क्रममा धेरै अवसरहरु पाएकी छु, धेरै भूमिकामा रहेर काम पनि गरिसकेको छु । 

केही वर्षपछि बुडोलको सिईओ बन्छु वा म सिईओ बन्नसक्छु भन्ने लाग्या छ कि छैन ?
पक्कै पनि लागेको छ । 

अन्त्यमा, यहाँलाई भन्न बाँकी केही छ कि ?
अन्त्यमा मेरा अग्रज संस्थाका प्रमुख कार्यकारी अधिकृत आदरणीय श्री विवेक राज ठकुरी सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँले सदैव आफु भन्दा पहिले संस्था र कर्मचारीलाई प्राथमिकतामा राखेर काम गर्नुहुन्छ उहाँको विचार, कामप्रति इमान्दारी र लगनशिलता बाट हामी सधै प्रेरित भएका छौं, म उहाँलाई सहकारीको गुरु मान्छु । उहाँबाट मैले धेरैै सिक्ने र बुझ्ने अवसरहरु पाएकी छु र अन्तमा धिप्री मिडियालाई धेरै धेरै धन्यवाद मेरा केही अनुभवहरुलाई स्थान दिनुभएकोमा । यस मिडियाको पनि उत्तरोत्तर प्रगतिको लागि म हार्दिक कामना पनि गर्दछु । धन्यवाद । 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार