Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज उम्मेदवारी दर्ता हुँदै

प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं ।  फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भएको जनाएको छ ।

उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ । त्यस्तै, गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी पनि छ । साथै वैयक्तिक विवरण फाराम भरी सम्पत्ति विवरण पनि उपलब्ध गराउनुपर्नेछ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्नेले १० हजार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर पनि आवश्यक पर्नेछ । महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा यो धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

यसैबीच, आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ । आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ ।

भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले प्रष्ट पारेको छ । चुनाव सुरक्षाका लागि प्रहरी छनोटको प्रक्रिया शुरु गरिसकेको छ । अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् भने छनोट गर्न बाँकी भएकाले पनि आज बिहानसम्म सबै सक्ने जनाएका छन् ।

आयोगले यसअघि समानुपातिक तर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिकमा १ सय १० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १ सय ६५ निर्वाचित हुने व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार