Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

'राष्ट्रिय झण्डाको दुरुपयोग गरेको पाइएमा कानुनबमोजिम कारबाही हुन्छ'

'राष्ट्रिय झण्डाको दुरुपयोग गरेको पाइएमा कानुनबमोजिम कारबाही हुन्छ'

काठमाडौं । गृह मन्त्रालयले निर्वाचनका क्रममा हुने प्रचारप्रसार गतिविधिमा राष्ट्रिय झण्डाको दुरुपयोग गरेको पाइएमा कानुनबमोजिम कारवाही गरिने जनाएको छ । मन्त्रालयले  विज्ञप्तिमार्फत निर्वाचन आचारसंहिता, २०८२ का व्यवस्था पालना गर्न सबै सरोकारवाला पक्षलाई सचेत गराएको हो ।

विज्ञप्तिमा निर्वाचन आचारसंहिताको परिच्छेद ४ अन्तर्गत दफा १३ को खण्ड ९न० ले तोकेको प्रावधान विपरीत राष्ट्रिय झण्डाको प्रयोग भएमा कारबाही हुने जनाइएको छ । उक्त व्यवस्थाअनुसार दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो कार्यक्रम वा कुनै पनि प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने भए पनि सो बाहेक अन्य प्रचारप्रसारमा राष्ट्रिय झण्डा प्रयोग गर्न निषेध गरिएको छ ।

गृह मन्त्रालयले राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन ‘राष्ट्रिय झण्डा तथा राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९’ कार्यान्वयनमा रहेको स्मरण गराएको छ । उक्त कार्यविधिमा झण्डाको आकार, प्रयोग विधि, फहराउने प्रक्रिया तथा प्रयोग गर्न नपाइने अवस्थाबारे स्पष्ट प्रावधानहरू समेटिएका छन् । साथै, प्रमुख जिल्ला अधिकारीलाई आफ्नो कार्यक्षेत्रभित्र कार्यविधिअनुसार राष्ट्रिय झण्डाको प्रयोग भए नभएको नियमित अनुगमन गर्ने जिम्मेवारी तोकिएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय झण्डाको अपमान हुने कुनै पनि कार्य गर्न वा गराउन नपाइने व्यवस्था छ । झण्डा उल्टो राख्ने, च्यात्ने, जलाउने, फ्याँक्ने, कुनै वस्तु बेर्ने, व्यापारिक विज्ञापनमा प्रयोग गर्ने, शरीरको छातीभन्दा तलको भागमा झण्डाको प्रतीक राख्ने वा चन्द्रमा तल पर्ने गरी प्रयोग गर्ने जस्ता कार्य पूर्ण रूपमा निषेध गरिएको छ ।

यसका अतिरिक्त, मुलुकी अपराध संहिता, २०७४ को दफा १५१ ले राष्ट्रिय झण्डाको अपमान हुने वा सार्वजनिक नैतिकता, शिष्टाचार तथा सदाचार विपरीत प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । सो प्रावधानको उल्लंघन भएमा कानुन अनुसार सजाय हुने व्यवस्था समेत रहेको गृह मन्त्रालयले जनाएको छ ।

image-330.png
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार