काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाद्वारा सञ्चालित नगर अस्पताल स्वास्थ्यसेवाका लागि स्थानीयहरुको भरोसा र रोजाइको केन्द्रको रुपमा विकसित हुँदै गएको छ । न्यून लागतमा स्थानीयस्तरमै काविल चिकित्सक एवम स्वास्थकर्मीहरुबाट सहज अनि गुणस्तरीय सेवा प्राप्त गर्दा नगरबासीहरु खुसी भएका हुन् । निरन्तर सेवा विस्तार र स्तरोन्नतिका कारण नगरबासीहरुको ‘ट्रस्ट’मा ‘ट्यान्जिबल’ वृद्धि भएको दाबी अस्पताल प्रशासनले गरेको छ ।
जसको पछिल्लो उदाहरणको रुपमा अस्पतालले (२०८२ जेठ ३१ गतेबाट) मोतियाबिन्दुको शल्यक्रिया सेवा विधिवत् सुरु गरेको छ । दैनिक १० घन्टा ओपीडी (बहिरंग) सेवा, स्याटलाइट ओपिडी, २४ सै घण्टा आकस्मिक सेवा, प्रसूति सेवा, खोप र पोषण परामर्श सेवा लगायत सञ्चालन गर्दै आएको अस्पतालले आफ्नो सक्षमता विस्तार गर्दै मोतियाबिन्दु शल्यक्रिया समेत सुरुआत गरेको हो ।
‘दुई साताअघि मात्रै हामीले ५१ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गर्यौं, ’अस्तालका कार्यकारी निर्देशक राम प्रसाद पौडेलले धिप्री डटकमसँग भन्नुभयो,‘ त्यो शनिबार ८७ जना सेवाग्राही आउनुभएको थियो । जसमध्ये ५१ जनाको मोतियाबिन्दुको शल्यक्रिया भयो । बाँकीको शल्यक्रिया फेरि यही शनिबार हुँदैछ । यो शनिबार उहाँहरु ३६ जना र बाँकी गरेर करिब १ सय जनाको शल्यक्रिया हुँदैछ ।’
पौडेलले भन्नुभयो, ‘मलाई पनि अचम्म लागिरहेको छ । यो ठाउँमा धेरैजनालाई मोतियाबिन्दुको शल्यक्रिया आवश्यक भएपनि उहाँहरु एउटा त आर्थिक कारण र अर्को हेजिटेशनको कारणले पनि शल्यक्रिया नगराई बसिरहनुभएको रहेछ । तर जब स्थानीय स्तरमै यो सेवा र त्यसमाथि निःशुल्क मिल्ने भन्ने कुरा आयो तब सबैजना लाभ लिन इच्छुक हुनुभयो । यो अत्यन्तै खुसीको कुरा हो कि हामीले नगर अस्पतालमार्फत उहाँहरुको रोगको उपचार गर्न पाएका छौं ।’
अस्पतालले ज्येष्ठ नागरिकहरुलाई निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराएको छ भने अन्यका हकमा अत्यन्त न्यून लागतमा सहज र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको कार्यकारी निर्देशक पौडेलले जानकारी गराउनुभयो ।
सेवाको उद्घाटन गर्दै नगर प्रमुख उपेन्द्र कार्कीले स्वास्थ्य सेवाको दिशामा अर्को महत्वपूर्ण कदमको रुपमा नगर अस्पतालमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया उपलब्ध भएको बताउनुभएको थियो । साथै उहाँले उक्त कदमलाई आम नागरिकहरूको आँखाको उपचार घरनजिकै पु¥याउने दिशामा प्राप्त अर्को एउटा महत्वपूर्ण उपलब्धिको संज्ञा दिनुभएको थियो । उहाँले कागेश्वरी मनोहरा नगरपालिकाले नगर अस्पताललाई आधुनिक स्वास्थ्य सेवा केन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिएको पुनः स्मरण समेत गराउनुभएको थियो । स्थानीय बासिन्दा लक्षित मोतियाबिन्दु शल्यक्रिया सेवाबाट नागरिकहरूलाई सहज र कम लागतमा उपचार सुविधा उपलब्ध हुने विश्वास नगर प्रमुख कार्कीको रहेको छ ।
नगरपालिकाले सञ्चालन गरेको 'मेयरसँग ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम’ अन्तर्गत हाल ४ वटा वडामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षणपछि मोतियाबिन्दु भएकाहरु नगर अस्पतालको यो नवीन सेवाबाट लाभान्वित भएका छन् । हाल शनिबार मात्रै शल्यक्रिया गरिदै आएकोमा अब बुधबार समेत गरी साताको दुई दिन मोतियाबिन्दुको शल्यक्रिया गर्ने तयारी अस्पतालले गरेको छ । नगरपालिकाका स्थायी बासिन्दा बाहेककाहरुहरुलाई पनि यो सेवा उपलब्ध गराएको अस्पताल प्रमुख पौडेलले बताउनुभयो ।
‘अहिले हामीसँग दुई जना अप्थ्याल्मोलोजिष्ट हुनुहुन्छ । दुबै दक्ष र अनुभवी हुनुहुन्छ । कतिपय हामीसँगै भएको इक्वुपमेन्ट र कतिपय रेन्टेड बाट यो सेवा सुरु गरेका छौं ’प्रमुख पौडेलले शल्यक्रिया सेवाबारे बताउनुभयो ।
सेवा विस्तार गर्दै अस्पताल
नगर अस्पतालबाट हाल दैनिक सरदर १ हजार जनाले स्वास्थ्य सेवा लिने गरेको प्रशासनको भनाइ छ । ‘अहिले त ओपीडी नै हजार पुग्दछ, ’अस्पताल प्रमुख पौडेल भन्नुहुन्छ, ‘इम्युनाइजेशनको बेला १२ सय पनि पुग्छ । सेवाको हिसाबले निजामती अस्तपालको जस्तो भीड यहाँ हुन्छ ।’
सोही कारण हाल १५ शैयाको नगर अस्पताललाई ५० शैयाको बनाउने योजना नगरपालिकाको छ । त्यसका लागि स्वीकृतिको चरणमा रहेको जानकारी पौडेलले गराउनुभयो भने नगर अस्पतालका लागि सोही अनुरुप नगरपालिकाले २ सय ५० जनाको दरबन्दी स्वीकृत समेत गरेको छ । अस्पतालमा हाल १९ जना विशेषज्ञ चिकित्सकसहित ३२ जना, नर्सहरु र अन्य कर्मचारी गरी १९४ जना कार्यरत छन् ।
पछिल्लो समय नगर अस्पतालको सेवामा बहुआयामिक सुधारको काम अघि बढाइएको दाबी प्रमुख पौडेलले गर्नुभयो ।
२०५२ सालमा स्थापित १५ शैयाको नगर अस्पतालले क्षमता भन्दा बढी सेवा समेत उपलब्ध गराउँदै आएको छ । कार्यकारी प्रमुख पौडेलले भन्नुभयो, ‘हामीले एजडी बेड सेवा पनि शुरु गरेका छौं । ३ वटा बेड छन् । करिब २१ वटा जनरल वेड छन् र इमर्जेन्सी करिब १० वटा गरी करिब ३५ वटा वेड छन् ।’ कानुनतः १५ शैय्यासम्मको अस्पताल स्थानीय सरकार आफैले सञ्चालन गर्न सक्दछ ।
चुनौतीसँगै अवसर बन्यो कोभिड
कोभिड १९ को समयबाट नगर अस्पतालको सेवाले जन विश्वासमा बढोत्तरी हासिल गरेको प्रमुख पौडेलले बताउनुभयो । ‘त्यसबेला यो बेल्टमै सुविधासम्पन्न प्राइभेट अस्पताल थिएन, ’उहाँले भन्नुभयो, अन्य सरकारी अस्पताल पनि नजिक थिएन र हामीकहाँ अक्सिजन प्लान्ट भएकाले भीड बढ्यो ।’
९ महिनाअघि मात्रै नगर अस्पताल आउनुभएका काठमाडौं महानगरपालिकाका पूर्व स्वास्थ्य प्रमुख पौडेलले अस्पतालको भौतिक स्तरोन्नतिदेखि, सौन्दर्यकरण (ब्यूटीफिकेशन) सरसफाई, स्वास्थ्यकर्मीहरु तथा कर्मचारीहरुले सेवाग्राहीलाई गर्ने व्यवहारमा विशेष ध्यान पुर्याइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले ल्याबलाई ग्राण्डीको स्तरमा पुर्याएका छौं । फिजियोथेरापीमा सबैको आकर्षणको केन्द्र बनेको छ । दिनमा १ सय ३० जना आउनुहुन्छ । फिजिकल ब्युटीफिकेशन (बाहिरी सौन्दर्यकरण) देखि आन्तरिक सेवाहरुमा सुधार र स्तरोन्नतिलाई अस्पतालले विशेष ध्यान दिदैं रणनीतिक योजनाहरुसहित अघि बढेको छ । नगरबासीहरुले प्रम्प्ट सर्भिस पाउनुभएको छ ।’
अब ‘ओटी’ मा अर्जुनदृष्टि
स्तरोन्नतिको कुरामा अब अर्को महत्वपूर्ण कुरा भनेको नगर अस्पतालमा ओटी (अप्रशेन थिएटर) बन्दैछ । प्रमुख पौडेलले भन्नुभयो, ‘ओटी बन्यो भने यो गाउँठाउँको लागि महत्वपूर्ण उपहार हुनेछ ।’ उहाँले नगरको समृद्धिको अभियानमा अर्को ‘माइलस्टोन’ ओटी सेवाले थप्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सुनाउनुभयो, ‘एउटा मुुसो आयो भने वा सामान्य केही भयो भने पनि सर्जरीका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हाम्रो अबको अजुर्नदृष्टि हो । मेयर सा’बको चाहना आउने दशैंमा नगरबासीलाई राम्रो उपहार दिने छ ।’ आगामी आर्थिक बर्षको बजेटमा संघ सरकारले नगरअस्पतालको स्तरोन्नतिका लागि ३ करोड रुपैयाँ विनियोजन गरेका कारण त्यसबाट ओटी सेवा सुरु गर्ने गरी काम अघि बढाइने पौडेलले जानकारी गराउनुभयो ।
नगरको न्यून स्रोतमा यो स्तरको अस्पताल सञ्चालन गर्नु कम चुनौतीपूर्ण नभएपनि दुरगामी सोच हुँदा असम्भव केही छैन भन्ने प्रमाणित नगर अस्पतालले गरेको छ । यो नगरपालिकाको भिजनरी सोच भएको प्रमुख पौडेल बताउनुहुन्छ ।
आत्मनिर्भर बन्दै अस्पताल
‘यो नाफामूलक संस्था होइन, खाली प्रशासनिक खर्च धान्न सक्ने अवस्था सृजना भयो भने ठूलो उपलब्धि हुनेछ, ’प्रमुख पौडलले भन्नुभयो, ‘र, नगर अस्पताल अब सेल्फसन्टेन्ड हुने दिशामा दु्रत गतिले अघि बढिरहेको छ ।’
अहिले अस्पताल ब्रेकइभनको नजिक पुगेको छ । गत जेठ महिनाको अस्पतालको आम्दानी १ करोड ५१ लाख बढी छ । यही गतिमा आम्दानी हुँदा वार्षिक १८ करोड बढी हुन्छ । ‘यति हुनुभनेको अब हामी सेल्फसस्टेन्ड हुने गरी अघि बढ्यौं भन्ने हो, ’उहाँले बताउनुभयो, ‘त्यसमा बीमाबापतको रकम नियमित प्राप्त हुने अवस्था भने हुनुपर्यो । र, यसमा ओटी थपियो भने हामी सजिलै आत्मनिर्भर हुन्छौं र सेवा प्रवाहको माध्यमबाट नागरिकाको भरोसा पनि उत्तिनै आर्जन गर्छौं ।’
यद्यपि, यो वर्ष नगरपालिकाले चालु खर्च बेहोर्ने हो भने उक्त रकम पुँजीगत खर्च गर्न सक्दा दिगोपना थपिने पौडेल बताउनुहुन्छ । ओटी, अक्सिजन प्लान्टको क्षमता विस्तार, अस्पतालजन्य फोहोरमैला व्यवस्थापनको लागि प्लान्ट, ब्लड ट्रान्समिशन सेन्टर आदि व्यवस्था गर्न सक्दा ठूलो उपलब्धि हुने उहाँले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग शव गृह भैसकेको छ त्यसको व्यवस्थापन गर्नुछ । हामीसँग ३ वटा एम्बुलेन्स र एउटा शव वाहन छदैछ ।’
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com