Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

सहकारी अभियन्ता प्रधानाङ्गको सम्झनामा निकालियो गाईजात्रा (तस्बिरहरु)

सहकारी अभियन्ता प्रधानाङ्गको सम्झनामा निकालियो गाईजात्रा (तस्बिरहरु)

भक्तपुर । अग्रणी सहकारी अभियन्ता स्वर्गीय कैलाशभक्त प्रधानाङ्गको सम्झनामा आज साःँपारु (गाईजात्रा) निकालिएको छ । भक्तपुर नगदेशस्थित उहाँको निजी निवासबाट ताहमचासहित निकालिएको साःँपारु (गाईजात्रा) परिवार, नातागोता, आफन्त, छरछिमेकी र साथीभाइको सहभागितामा नगदेश परिक्रमा गराइएको थियो । स्थानीय नेवारी परम्परा अनुसार सांस्कृतिक रुपमा नगर परिक्रमा गराइएको थियो ।

उहाँको स्मृतिमा स्थानीय गणेश माध्यमिक विद्यालयले पनि (साःँपारु,साँज्या) गाईजात्रा निकालेको थियो । १४ वर्ष नेफ्स्कूनका अध्यक्ष रहनुभएका स्वर्गीय प्रधानाङ्ग गणेश माध्यमिक विद्यालयको व्यवस्थापन समितिको पनि लामो समय अध्यक्ष हुनुहुन्थ्यो ।

गाईजात्राको दिन मृतकहरुको स्मरणमा ताहमचा बनाइ नगर परिक्रमा गराउने र भेला भएकाहरुलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्दा मृतकको स्वर्गमा बास हुने जनविश्वास छ । वर्ष दिनमा मृत्यु भएका आत्माको मोक्ष प्राप्तिको प्रार्थना गर्दै प्रधानाङ्गको परिवार आफन्तजन लगायतले साःँपारु (गाईजात्रा) पर्व मनाएको हुन् । 

स्थानीय परम्पराअनुसार करिब १५ फिट लामो चारवटा हरियो बाँसबाट ताहासाँ बनाइन्छ । बाँसलाई ठाडो पारेर आयातकारमा बाँधेर त्यसलाई कपडाले बेरेर ताहासाँ बनाइन्छ । ताहासाँको शिरमा परालको सिङ र सिङमाथि पलेस्वाँ लप्ते (कमलको फूलको पात), चोबो (कपालजस्तो देखिने) मयुरको पङ्खा र रङ्गीचङ्गी फूलले सजाइन्छ।  टाउको दुई छेउमा सिङसँगै पतचा (रङ्गीनमाथि गोलाकार तर झण्डाजस्तो देखिने) सजाइन्छ । त्यसपछि गाईको चित्र राखी द्योःगाचा (अष्टमातृकाको प्रतीक खास्तो), दुईवटा पटुका बाँधिन्छ । सिङमाथि छाता ओढाइन्छ । ताहमचा (ताहासाँ) महिला र पुरुषको सङ्केत जनाउन हाकुपटासी, सारी र सेतो कपडाले बेरेर बीचमा जामाचा लगाई अगाडि पछाडि मृतकको तस्बिर, भगवान्को तस्बिर ऐना र रुमाल राखिन्छ।

१९९६ साल असार १३ गते जन्मनुभएका प्रधानाङ्गको निधन २०८१ फागुन २३ गते भएको थियो । उहाँका श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा मनाइएको छ । 

DSC03015-min.JPG
undefined
DSC03057-min.JPG
undefined
DSC03079-min.JPG
undefined
DSC02990-min.JPG
undefined
DSC03049-min.JPG
undefined
DSC02974-min.JPG
undefined
DSC03004-min.JPG
undefined
DSC02998-min.JPG
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार