Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us
मौसम बदली अनि वर्षा

असोज २० गतेसम्म विशेष सतर्कता अपनाउन मौसम विज्ञान विभागको अनुरोध

असोज २० गतेसम्म विशेष सतर्कता अपनाउन मौसम विज्ञान विभागको अनुरोध

काठमाडौं । यो वर्षको विजया दशमी हिले हुने भएको छ । आज बिहानैदेखि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । आज सबै प्रदेशमा साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागलगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेश एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज राति पनि सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना  छ । कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागले असोज १७–२० गतेसम्म विशेष सतर्कता अपनाउन  अनुरोध छ । विभागले विशेषगरि बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेश,  प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा मुख्यतः असोज १७–२० सम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो ।

विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू-भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको र सो न्यून चापीय प्रणालीको कारणले नेपालमा मनसुनी वायु प्रवेश गरी आगामी असोज १७ गतेबाट असोज २० गतेसम्म खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ ।

हालको विश्लेषणअनुसार उक्त अवधिमा देशको नारायणी, बागमती, कमला र कोशी नदी र यी नदीका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स-साना नदीनालाहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ।

नेपालमा मनसुन वहिर्गमन भइनसकेको हालको अवस्थामा यस विभागले मौसम र बाढीको संभावित विषम अवस्थाको नियमित अनुगमन गरिरहेको छ। विभागले भनेको छ,'तसर्थ, यस विभागवाट वेभसाइट, सामाजिक सञ्जाल, टोल फ्रि सेवा ९११५५०लगायतका माध्यमबाट सम्प्रेषण गरिने अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।'

उल्लेखित पूर्वानुमानका आधारमा उत्पन्न हुन सक्ने बाढी, डुबान, पहिरो, भू-क्षय लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राखी सम्भावित क्षति न्यूनिकरणका लागि विभागबाट नियमित रूपमा जारी हुने पूर्वानुमान तथा पूर्वसूचनाहरू छिटो प्रबाह गरी पूर्वतयारी र आवश्यक पूर्वकार्यमा जुट्न विभाग विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सबै निकायहरू र आमसर्वसाधारणलाई विभागले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार