Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
२१ औं वार्षिक साधारणसभा

भक्तपुर बचत संघमा बल्लको नेतृत्वमा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन, सदस्यलाई ४.६ प्रतिशत लाभांश

भक्तपुर बचत संघमा बल्लको नेतृत्वमा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन, सदस्यलाई ४.६ प्रतिशत लाभांश

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २१ औं वार्षिक साधारणसभा भक्तपुर बैंक्वेट, भक्तपुरमा सम्पन्न भएको छ। सभाको प्रारम्भमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारी क्षेत्रका अवसर र चुनौतीबारे सहकारी शिक्षा प्रदान गर्दै सहकारीमा सुशासन कायम हुनु आवश्यक रहेको धारणा राखे। उनले प्रारम्भिक तहका सहकारी संस्थाहरूलाई कारोबार सञ्चालनका लागि बचत तथा ऋण सहकारी संघको आवश्यकता पर्ने स्पष्ट पारे।

संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको अध्यक्षतामा सम्पन्न सभामा उनले सहकारीको विकल्प सहकारी नै भएको र बैंक तथा वित्तीय संस्थाले सहकारीलाई प्रतिस्थापन गर्न नसक्ने बताए। उनका अनुसार सहकारी मूल्य–मान्यता अनुरूप सञ्चालित संस्थाहरूमा केही समस्या देखिए पनि गम्भीर अवस्था नरहेको उल्लेख गरे। साथै, सहकारीहरूको वित्तीय कारोबारमा रोक लगाउने खालका मापदण्ड जारी हुनु अनुचित भएको पनि उनले बताए।

संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले संघको स्थापना र यात्राबारे चर्चा गर्दै संघले आफ्नो लक्ष्यअनुसार प्रभावकारी काम गरिरहेकोमा खुशी व्यक्त गरे। उपाध्यक्ष हरीकृष्ण बल्लले स्वागत मन्तव्य राख्दै सहकारीहरू नियमनकारी निकायको बहु–निर्देशनका कारण बढी प्रभावित भएको बताए।

सचिव जगन्नाथ प्रजापतिले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीमा स्वायतता र स्वनियमको नाममा एकलौटी व्यवसाय सञ्चालन गरेर जनताको निक्षेप फिर्ता नदिने प्रवृत्ति रोक्न नसकिएकोप्रति चिन्ता व्यक्त गरे। जनताको निक्षेप हडपेर भाग्ने संचालक तथा कर्मचारीलाई कुनै पनि राजनीतिक दबाबमा नपरी कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनको धारणा थियो।

उनले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०८२/८३ का रु. २८ लाखका कार्यक्रमहरू सभाले सर्वसम्मत पारित गर्‍यो।

कोषाध्यक्ष कान्छा भक्त घःजूले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीमा बचत तथा ऋणको सन्तुलन कायम गर्न चुनौती बढ्दै गएको बताए। तरलता बढ्दै गएको तर ऋण माग घटिरहेको अवस्थाले सहकारी सञ्चालनमा कठिनाइ थपिएको उनले बताए। उनले प्रस्तुत गरेको आ.व २०८१/८२ को वासलात रु. ३ अर्ब १२ करोड र आ.व. २०८२/८३ का लागि रु. ३ अर्ब १५ करोडको अनुमानित बजेट सभाले पारित गरेको छ।

लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले प्रस्तुत गरेका २०८१/८२ को लेखा सुपरिवेक्षण प्रतिवेदनमा सहकारी ऐन तथा निर्देशनअनुसार संघको कारोबार सीमित गर्ने हो भने थप गिरावट आउने र त्यसलाई रोक्न संघ सुदृढिकरणका कार्यक्रम आवश्यक हुने बताए। सभाले शेयर लाभांश कोषबाट ४.६ प्रतिशत लाभांश वितरण र संरक्षित पुँजी फिर्ता कोष फिर्ता गर्ने प्रस्ताव पनि पारित गरेको छ।

सभाबाट अध्यक्ष हरिकृष्ण बल्लको नेतृत्वमा ९ सदस्यीय नयाँ सञ्चालक समिति, तथा दामोदर न्यौपानेको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरिएको छ। सभामा २०३ सदस्य सहकारी संस्थामध्ये १७७ प्रतिनिधिको सहभागिता रहेको थियो।

NEW BOD_page-0001.jpg
अध्यक्ष हरिकृष्ण बल्लको नेतृत्वमा ९ सदस्यीय नयाँ सञ्चालक समिति, तथा दामोदर न्यौपानेको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार