Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले निर्वाचनका लागि सेना परिचालन गर्न मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकले सेना परिचालनका लागि मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय गरेको हो । 

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१औँ बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न संविधानको धारा २६६ को उपधारा (१) बमोजिम सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन केन्द्रित शान्ति सुरक्षामा ध्यान दिँदै सेना परिचालनको तयारी गरेको हो।  

निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना ०८२ केन्द्रीय सुरक्षा समितिबाट पारित भइसकेको छ। सेना परिचालनको सिफारिस प्रयोजनार्थ गृहमन्त्रालयले रक्षा मन्त्रालयमार्फत सुरक्षा परिषद्‌मा पत्राचार गरिसकेको छ। 

बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गर्दै आवश्यक संशोधनका साथ स्वीकृत गरेको छ। प्रतिवेदनलाई राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय भएको छ । 

बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौती तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव तथा चुनौती र अपनाउनुपर्ने भावी रणनीतिबारे पनि छलफल भएको परिषद् सचिवालयले जनाएको छ। राष्ट्रिय सुरक्षा परिषद्‌मा प्रधानमन्त्री अध्यक्ष, रक्षा मन्त्री, अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, मुख्य सचिव, प्रधानसेनापति र रक्षामन्त्रालयका सचिव सदस्य सचिव रहने व्यवस्था छ ।   

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार