काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले लैङ्गिक हिंसामुक्त समाज निर्माणको अभियानमा सक्रिय सहभागिता र योगदानको लागि सरोकारवालासबैसँग आग्रह गरेकी छिन् । आजबाट शुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०८२ को अवसरमा आह्वान जारी गर्दै उनले सङ्घीय संरचनाअनुसार तीनै तहका सरकारमा लैङ्गिक हिंसा विरुद्धका कानूनी तथा संस्थागत व्यवस्थालाई आन्तरिकीकरण र संस्थागत गरी संवेदनशील एवम् महत्त्वका साथ अगाडी बढाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू, नागरिक समाज, राजनीतिककर्मी, अभियन्ताहरू, सञ्चारकर्मी, व्यक्ति, परिवार र समाज सबैमा ऐक्यबद्धताको लागि आग्रह गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीद्वारा जारी आह्वानमा भनिएको, 'नेपालको संविधानले सबै किसिमको विभेद, शोषण र अन्यायको अन्त्य गर्दै सभ्य र समतामूलक समाजको निर्माण गर्ने कुरालाई उच्च प्राथमिकता दिएको छ । समाजमा लिङ्गका आधारमा गरिने विभेद तथा छाउपडी, दाइजोप्रथा, बालविवाहलगायतका सबै किसिमका हानिकारक अभ्यास, प्रथा र प्रचलन अन्त्य गर्दै सभ्य, शिष्ट र शोषणरहित समाजको निर्माणमा जुट्नु हामी सबैको साझा दायित्व हो । यस अवसरमा म लैङ्गिक हिंसा विरुद्धको अभियानमा निरन्तर रूपमा क्रियाशील सरकारी निकाय, गैर सरकारी संस्था, नागरिक समाजलगायतका सम्पूर्ण अधिकारकर्मी एवम् अभियन्ताहरूको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा पनि लैङ्गिक हिंसामुक्त समाज निर्माण गर्ने अभियानमा सबै सरोकारवालाहरूको सक्रिय सहभागिता र योगदानको लागि हार्दिक आग्रह गर्न चाहन्छु ।'
उनले व्यक्ति, समाज र सिंगो राष्ट्रलाई लैङ्गिक हिंसामुक्त बनाउँदै सभ्य र सुसंस्कारयुक्त जगमा उभ्याउनुपर्ने बताएकी छिन् । कतिपय गलत अभ्यास र दुःखद् घटनाका कारण बन्ने नकारात्मक छविप्रति सजग हुँदै हिंसाका सबै कारकतत्वहरूलाई निर्मूल पार्नुपर्ने भन्दै उनले यस अभियानको उद्देश्य लैङ्गिकताका आधारमा हुने सबै प्रकारका हिंसा, नयाँ स्वरुपमा देखिएका प्रविधिको माध्यमबाट हुने हिंसा, विभेद, कुरीति, अन्धविश्वास अपराध, बहिष्करण र वञ्चितिकरणलाई अन्त्य गर्दै महिला र पुरुषबिच हुने सबै किसिमका विभेद र असमानता हटाउनु भएको बताएकी छिन् । लैङ्गिक हिंसारहित, समतामूलक समाज निर्माण गर्न यो अभियान कोशेढुङ्गा सावित हुनेछ भन्ने विश्वास प्रधानमन्त्री कार्कीको छ ।
अभियान अन्तर्गत यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ र राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँः लैंगिक हिंसा अन्त्य गरौँ’ भन्ने तय गरिएको छ । अभियानको मुख्य उद्देश्य लैंगिक हिंसाविरुद्ध जनचेतना फैलाउने र प्रविधिको सही प्रयोगमार्फत हिंसा रोक्ने रहेको छ । दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिदैंछ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com