काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ज्यापु दिवसले जातीय सद्भाव र एकताको सन्देश दिएको बताएकी छिन् । ज्यापु संस्कृत विकास कोषले काठमाडौँको वसन्तपुर डबलीमा आयोजना गरेको २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै उनले भनिन्, ‘उपत्यकाको मलिलो भूमिमा पसिना बगाएर अन्न फलाउने र सांस्कृतिक चाडपर्वका माध्यमबाट समाजलाई जीवन्त राख्ने काममा ज्यापु समुदायको योगदान अतुलनीय छ’, प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘यस दिवसले हामी सबैलाई जातीय सद्भाव र एकताको सन्देश दिन सकेको छ भन्ने मलाई लाग्छ। हामी सबै मिलेर अगाडि बढ्दा हाम्रो मौलिक संस्कृति र समुदायको विकास एवं संवर्धन सम्भव छ। ज्यापु संस्कृति विकास कोषले यस दिशामा गरिरहेको अथक प्रयासका लागि म विशेष धन्यवाद दिन चाहन्छु।’
प्रधानमन्त्रीको सम्बोधन
सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूबाट २२औं राष्ट्रिय ज्यापू दिवस-२०८२ का अवसरमा व्यक्त मन्तव्य
सभाका अध्यक्षज्यू,
माननीय मन्त्रीज्यूहरू,
उपस्थित सम्पूर्ण महानुभावहरू,
२२औं राष्ट्रिय ज्यापु दिवस तथा यःमरि पुन्हिको अवसरमा सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्न चाहन्छु।
यो दिवस नेपालको मौलिक संस्कृति, कृषि परम्परा र नेवारी पहिचानलाई झल्काउने दिवस हो। यस दिवसले हामीलाई ज्यापु संस्कृति तथा योमरी पुन्हिको महत्त्वलाई सम्झाउँछ।
उपत्यकाको मलिलो भूमिमा पसिना बगाएर अन्न फलाउने र सांस्कृतिक चाडपर्वका माध्यमबाट समाजलाई जीवन्त राख्ने काममा ज्यापु समुदायको योगदान अतुलनीय छ।
यस दिवसले हामी सबैलाई जातीय सद्भाव र एकताको सन्देश दिन सकेको छ भन्ने मलाई लाग्छ। हामी सबै मिलेर अगाडि बढ्दा हाम्रो मौलिक संस्कृति र समुदायको विकास एवं संवर्धन सम्भव छ। ज्यापु संस्कृति विकास कोषले यस दिशामा गरिरहेको अथक प्रयासका लागि म विशेष धन्यवाद दिन चाहन्छु।
सरकारबाट प्राप्त सानो रकमको आर्थिक सहयोगबाट सुरु भएको ज्यापु संस्कृति विकास कोषले दुई दशकभित्र निकै उपलब्धिहरु हासिल गरेको सुन्न पाउँदा म हर्षित छु। सम्बन्धित टोल गुठीहरू, स्थानीय समुदाय तथा संस्थामा कार्यरत लगनशील व्यक्तिहरूको इमानदार प्रयासबाट यो उपलब्धि भएको हो भन्ने मैले विश्वास गरेकी छु।
टोलटोलमा रहेका धार्मिक तथा सांस्कृतिक गुठीहरू काठमाडौँ उपत्यकाको सभ्यताका आधार हुन्। गुठी संस्कार यहाँको रैथाने समुदायको जीवन शैली हो भन्ने लाग्छ।
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र गुठी सस्ंथान मातहतमा रही ज्यापु समुदायले सञ्चालन गरेका नित्यपूजा, आरती, खटजात्रा, देवीनृत्य लगायत विभिन्न ५०० भन्दा बढी गुठीहरू रहेछन्।
आज स्थानीय तहका सरकारको समेत आर्थिक सहयोगबाट रथ जात्राहरू र चाडपर्वहरू मनाउन सहयोग पुगिरहेको छ। परम्परागत चाडपर्व तथा संस्कृति प्रवर्धन गर्न गुठी तथा स्थानीय तहको भूमिका विशेष रहको मलाई लागेको छ।
संस्कृतिलाई पर्यटनसित जोडेर विश्व बजारमा प्रवर्धन गर्न खोजिरहेको सन्दर्भमा हाम्रा मौलिक निधिहरूको जगेर्ना गर्न विशेष ध्यान दिनु पनि आवश्यक छ।
नागरिकहरू बिच एकआपसमा सद्भाव, पुर्खाहरूको सम्मान र युवाहरूलाई प्रोत्साहन गर्न पनि यस्ता सांस्कृतिक अभियानहरूको आवश्यकता छ। यस दिशामा तपाईँहरूले खेलिरहनु भएको भूमिका उल्लेख्य छ। यसमा सरकारबाट निरन्तर सहयोग हुने विश्वास पनि दिलाउन चाहन्छु।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनसँगै घटेका घटनाहरूबाट हामीले एउटा पाठ सिक्नु परेको छ। मुलुकको युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना र आमजनतालाई रोजगारी, गाँस-वास-कपासको सुनिश्चितताको माग गरेको छ। ती चाहना पूरा गर्न सबैले कटिबद्ध भएर आ-आफ्नो ठाउँबाट लाग्न आवश्यक छ।
यसका अतिरिक्त सरकारले आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने हाम्रो दायित्व हो। तसर्थ घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रूपले तयारीमा जुटेको छ। यस अभियानलाई सफल पार्न सबै नेपालीको सहभागिता र सहयोगको अपेक्षा गर्दछौँ।
अन्त्यमा, पुनः २२औं ज्यापु दिवस तथा यःमरि पुन्हिको अवसरमा देश-विदेशमा रहनुहुने सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्न चाहन्छु।
साथै परम्परागत गुठीका गुरुहरू र आयोजक संस्थाका पदाधिकारीहरू लगायत सबैलाई धन्यवाद।
२०८२ मङ्सिर १८ गते बिहीबार
नेपाल सम्वत् ११४६ थिंला पुन्हि योमरी पुन्हि
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com