Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

एमाले केन्द्रीय कमिटीमा इन्ट्री मार्ने कडेलको तयारी, भन्छन्–विजयी हुनेमा विश्वस्त छु

एमाले केन्द्रीय कमिटीमा इन्ट्री मार्ने कडेलको तयारी, भन्छन्–विजयी हुनेमा विश्वस्त छु

काठमाडौं । सहकारी अभियन्ता मिनराज कडेल नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका आकांक्षी देखिएका छन् । आफू केन्द्रीय कमिटी सदस्य पदका लागि उम्मेदवारी दिने निर्णयमा पुगेको उनले धिप्री डटकमलाई जानकारी गराए । एमालेले ११औँ महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दैछ ।

पार्टीमा हालसम्म प्राप्त जिम्मेवारी र तिनको कुशलतापूर्ण निर्वाहका कारण आफू केन्द्रीय सदस्य बन्न योग्य भएको कडेल दाबी गर्छन् । उनी भन्छन्, पार्टीको राजनीतिप्रतिको प्रतिवद्धता, लगाव र योगदानका कारण पनि अब चाहिं केन्द्रीय कमिटीमा रहेर काम गर्नुपर्छ भन्ने लाग्यो र सल्लाहमा उम्मेदवारी दिएको छु । मलाई विश्वास छ, प्रतिनिधि साथीहरुले मलाई विजयी बनाउनुहुनेछ ।’

यसअघि उनले पार्टीको लेखा आयोगको सदस्यका रुपमा दुई कार्यकाल कुशलतापूर्वक भूमिका निर्वाह गरिसकेका छन् ।पार्टीभित्रको लामो अनुभवी कडेल भुगोलको राजनीतिमा भिजेका र जनभावना बुझेका नेता हुन् । त्यसो त शिक्षण पेशावाट निवृत्त उनी स्वच्छ छवि बनाएका सहकारी अभियन्ता पनि हुन् ।

‘मैले सधैं निष्ठाको काम गरेँ चाहेँ त्यो राजनीति होस् वा शिक्षण होस् वा सहकारी, ’कडेलले भने, ‘त्यही निष्ठा र इमानदारीका कारण म केन्द्रीय कमिटीमा पनि निर्वाचित हुन्छु भन्नेमा विश्वस्त छु ।’

आफू निर्वाचित भए पार्टीभित्र सुशासन र समृद्धिको एजेन्डालाई संस्थागत गर्ने उनको चाहना छ । उक्त भूमिकामा विश्वास जित्न सके मुलुककै अग्रणी पार्टीमा बसेर देश र जनताको सेवामा अझ प्रभावकारी भूमिका खेल्न सक्नेमा उनी विश्वस्त पनि सुनिन्छन् ।

पार्टीभित्र कुशल संगठक तथा निष्ठावान नेताको छवि बनाएका उनको आर्थिक अनुशासनको पाटो समेत प्रशंसनीय रहँदै आएको छ ।

२०३२ सालदेखि शिक्षक पेशामा आबद्ध कडेल २०३६ साल भदौमा तत्कालीन मालेमा संगठित भएका थिए । । क्रान्तिकारी शिक्षक संघमार्फत संगठित राजनीतिक जीवन सुरु गरेका उनले धादिङ जिल्लाको बेनिघाट गाउँ कमिटीको सचिव, इलाका कमिटी सचिव हुँदै २०४३ सालदेखि जिल्ला कमिटीमा बसेर संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरे। राजनीतिक रूपले चुनौतीपूर्ण समयमै पार्टीलाई मजबुत बनाउने जिम्मेवारी उनले काधमा बोकेका थिए।

२०४५ साल असोजमा सम्पन्न प्रथम जिल्ला अधिवेशनको समयमा धादिङ जिल्लामा जम्मा १६ जना पार्टी सदस्य मात्र थिए—आठ जना पूर्ण र सात जना वैकल्पिक । पाँच सदस्यीय जिल्ला कमिटी गठन गर्ने सहमतिमा सबैभन्दा बढी मत ल्याउने नेतामध्ये कडेल अग्रपंक्तिमा परे। २०४३ देखि २०५५ सालसम्म जिल्ला कमिटी सदस्य र २०५५ देखि २०६६ सालसम्म उपसचिवका रूपमा काम गरेका उनले संगठन विस्तार, कार्यकर्ता प्रशिक्षण र राजनीतिक स्थायित्वमा निरन्तर योगदान दिए ।

सातौँ महाधिवेशनपछि केन्द्रीय सहकारी विभागको सदस्यसमेत बनेका कडेल २०७१ सालमा सम्पन्न नवौँ महाधिवेशन र त्यसपछि भएको दशौँ महाधिवेशनमा लगातार केन्द्रीय लेखा आयोगको सदस्यका रूपमा चयन भए । दशौँ महाधिवेशनमै केन्द्रीय सदस्यमा दाबी गरे पनि सर्वसम्मत नेतृत्व चयनको क्रममा पार्टीको आवश्यकतालाई प्राथमिकता दिँदै उनले लेखा आयोगमै चित्त बुझाएका थिए । पार्टी सदस्यता नम्बर ७६४ भएका कडेल पुराना, अनुभवी र निष्ठावान् नेतामा  पर्छन् ।दुई कार्यकाल केन्द्रीय लेखा आयोगमा बसेर काम गर्दा कडेलले देशभर पुगेर पार्टीको आर्थिक व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउने अभियान चलाए ।

बागमती प्रदेश संयोजक तथा आयोगको सचिवालय सदस्यका रूपमा जिम्मेवारी सम्हाल्दै उनले पार्टीको लेखा नियमावली, लेखा नीति र लेखा चुचाङ्क प्रणाली निर्माणमा महत्वपूर्ण भूमिका खेले। सातै प्रदेशमा लेखा सम्बन्धी तालिम सञ्चालन गराउनुका साथै केन्द्रीय कमिटी, प्रदेश, जिल्ला, उपत्यका र प्रवास कमिटीसम्मको लेखा परीक्षण गराउन सफल हुनु उनको कार्यशैलीको महत्वपूर्ण उपलब्धि मानिन्छ।

“हरेक क्षेत्रमा आर्थिक पाटो महत्वपूर्ण हुन्छ, अझ पार्टीभित्र यसको विशेष महत्व हुन्छ,” कडेल भन्छन्। पार्टीको आर्थिक पक्षलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउने अभियानमा आफूले प्रभावकारी काम गरेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार