एक समय थियो अनिल शाह सेलिब्रेटी बैंकर कहलिन्थे । र, उनी थिए पनि त्यस्तै । अहिले भने पूर्व बैंकरका रुपमा मोटिभेशनल स्पिकर र ट्रेनरको पुरानो छविसँगै पोडकास्ट होस्टको परिवर्तित परिचयका साथ थप क्रियाशील छन् ।
हिजो कुनै बेला नबिल बैंककै पूर्व सिईओ अनिल शाहको स्थान आज त्यही बैंकका वर्तमान सिईओ मनोज ज्ञवालीले लिएका छन् । ज्ञवाली पनि कर्म, आचरण र वाणीका बुताबाटै सेलिब्रेटी स्टेटस पाएका बैंकर हुन् । नेपाल राष्ट्र बैंक, ग्लोबल आईएमई बैंक, ग्लोबल आईएमई क्यापिटल, ज्योति विकास बैंकलगायत वित्तीय संस्थामा उच्च तहमा रहेर कुशल जिम्मेवारी वहन गरेको अनुभवको बुतामा उनी अहिले ठूला ठूला फोरमहरुदेखि टेलिभिजनका टक शोहरुमा बिकाउ बैंकर बनेका छन् ।
नेपाल बैंकर्स एशोसिएसनका सदस्य समेत रहेका उनै ‘सेलेबल’ सिईओ आज बचत तथा ऋण सहकारी अभियानको महाकुम्भ 'साकोस शिखर समिट २०८२' मा सुनिए । विगतमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ठूलो फोरममा अनिल शाह पनि सुनिएका थिए । सम्भवतः सहकारी अभियानको यतिको ठूलो मञ्चमा ज्ञवालीको पहिलो प्रस्तुतीकरण थियो । आजको दोस्रो सेसनमा सुनिएका ज्ञवालीले उही 'सिग्नेचर' शैलीमा उत्प्रेरणाको कुरा गरे ।
ज्ञवाली साकोस समिटको कार्यपत्र प्रस्तोताको सूचीमा परेसँगै देशैभरका बचत तथा ऋण सहकारीकर्मीहरु उनलाई सुन्न उत्सुक थिए । अन्यत्र बारम्बार सुनिएका भएपनि सहकारी अभियानको फोरममा देशैभरका सहकारीकर्मीहरुमाझ उनले सहकारीका बारे के कस्ता धारणा व्यक्त गर्छन् भन्ने सहभागीहरुमाझ चासो थियो ।
अनि, बैंकरहरु नै सहकारी सिध्याउन लागिपरेका छन् भन्ने चर्चा परिचर्चा पनि हुने गर्छ । यसलाई पुष्टि गर्ने केही प्रमाणहरु पनि सहकारी अभियान पेश गर्दछ । यद्यपि, सहकारीमा समस्या आउँदा बैंकमा असर पर्ने र 'भाइसभर्सा' अस्विकार गर्न पनि सकिन्न । यही मेसोमा बैंकरका रुपमा सफलताको शिखर चढ्दै गरेका ज्ञवालीको सहकारी अभियान सम्बन्धी धारणा औपचारिक रुपमा ‘लाउड एन्ड क्लियर’ रुपमा सुन्ने अभिलाषा बचत तथा ऋण सहकारी अभियानको थियो । र, सोही अनुरुप उनी प्रस्तुत पनि भए ।
उनले सहकारीमा कमजोर सुशासन र आन्तरिक नियन्त्रण प्रणाली समस्या भएको विषय आफ्नो प्रस्तुतीकरणमा जोड दिए । सुशासन र आन्तरिक नियन्त्रण प्रणालीलाई सहकारीहरुले जति बलियो बनाउँछन् त्यतिनै संस्थागत दिगोपना सुनिश्चित हुनेमा जोड दिए । त्यसले सहकारीको छवि निर्माण र विश्वसनीयता बढाउने उनको तर्क थियो । सहकारीमा मूलत: लगानीका बेलामा देखिने /फ्लेक्जीबिलीटी' मा पनि उनको फरक विचार थियो ।
‘कमजोर सुशासन र आन्तरिक नियन्त्रण प्रणालीको विषयलाई हामीले हेर्नैपर्ने हुन्छ, यो चाहिं कसकोमा के छ सबैले आफैले मम भन्नुहोला, ’ सिईओ ज्ञवालीले भने, ‘तपाईंहरु आफै सोच्नुस् तपाईंहरुको संस्थामा ऋण स्वीकृत कसरी हुन्छ ? सुशासन कस्तो छ ? अध्यक्षले भन्ने बित्तिकै सबै काम हुन्छ कि ? लेखा सुपरिवेक्षण समितिको संयोजकले भन्दा सबैकुरा हुन्छ कि ? ए फलानोलाई लोन दे आज कागजात पछि मिलाउदै गरौंला भन्ने चलन छ कि छैन ? आदि इत्यादि ।’
सहकारीहरुमा नीति नियममा लचकता हुने भन्दै त्यसल त्यसले वित्तीय समावेशिता र पहुँच बढाए पनि धेरै हुँदा अन्ततः आफैलाई खराब गर्नेतर्फ ज्ञवालीले सचेत गराए । ज्ञवालीले भने, ‘लड्डु मिठाइ खाँदा त मुख मिठै हुन्छ आहाँ हुन्छ तर यति धेरै खान भएन कि सुगर भइहालोस् ।’
सहकारीमा विश्वास जगाउनुपर्ने टड्कारो आवश्यकता बैंकर ज्ञवालीले देखेका छन् । यो सही पनि छ । सहकारी अभियन्तादेखि नियामक र सरोकारवालाहरुको एउटै भनाइ छ-सहकारीप्रति आम मानिसहरुको विश्वास पुनर्जागृत गराउनुपर्ने अवस्था छ । सहकारीमा नीति, नियम, अनुगमन, सुपरिवेक्षण भन्दा पनि विश्वासको बढी अर्थ हुन्छ । यही विश्वासले सहकारी सदस्यहरुमा जीवित रहन्छ । सहकारीमा मेरो बचत सुरक्षित छ भन्ने विश्वास सहकारीले नै सदस्यहरुलाई दिलाउनुपर्नेमा ज्ञवालीको पनि जोड थियो ।
सहकारीमा सुशासन छ, सञ्चालक वा व्यवस्थापनले बद्मासी गर्दैन भन्ने छवि सदस्यहरुमाझ कायम गर्न सकियो भने मानिसहरुले ढुक्कसँग सहकारीमा बचत गर्ने ज्ञवालीले सुझाए । यस्तै, यत्तिको आमदानी र नगद प्रवाह एवम् सुरक्षण भएको सदस्यलाई ऋण लगानी गर्दा सदस्यको बचत डुब्दैन भन्ने विश्वासका आधारमा बढी कारोबार हुने गरेको उल्लेख गर्दै ज्ञवालीले भने, ‘सहकारीमा बचत संकलन तथा ऋण लगानी दुबैमा विश्वासले बढी काम गर्छ । त्यो विश्वास आर्जन गर्न छवि सुधार आवश्यक छ । र त्यो भने सुशासन र बलियो आन्तरिक नियन्त्रण प्रणाली नै हो ।’ सिईओ ज्ञवालीले भने, ‘तपाईंहरु पारदर्शी हुनुस् पहुँचयोग्य हुनुस् र जानकारीप्रदायक हुनुस् र विश्वासयोग्य बन्नुस् । उनले भने, ‘विश्वास बढ्दा सदस्य बढ्छन् र सदस्य बढ्दा स्रोत बढ्छ । स्रोत बढ्दा लगानी बढ्छ र लगानी बढ्दा मुनाफा बढ्छ । तर, त्यसका लागि उनले मन्त्र सुनाए–बलियो शुसासन र आन्तरिक नियन्त्रण प्रणाली ।’
कुनै विशेष परिस्थितिका कारण एउटा दुईवटा ऋण डुब्दैमा सम्पूर्ण संस्था नै डुब्ने खतरा नभएको बताउँदै ज्ञवालीले संस्थागत सुशासन एवम् नीतिगत कमजोरी रहेको खण्डमा भने श्रृङ्खालबद्ध ढंगले ऋणहरु डुब्नेतर्फ सचेत तुल्याए । त्यही भएर संस्थागत सुशासन पहिलो कुरा हो । गभर्नेन्स ठीक भएको संस्था नडुब्ने उनको भनाइ थियो ।
अधिक तरलताको समस्याबाट गुज्रिरहेका ज्ञवालीले सहकारी सञ्चालक तथा व्यवस्थापकहरुलाई सुझाए, ‘अहिले गोल्डेन टाइम छ, बैंकहरुले एफडीमा २.७५ प्रतिशत ब्याज दिन्छन् । मेरो एजमा त मैले नसुकेको कुरा हो यो अहिलेसम्म । यो बेला राम्रो काम गर्ने सहकारीले ६ वा ७ प्रतिशतमा एफडी राख्नुभयो भने मानिसहरु खुसी भएर आउँछन् । बैंकिङ क्षेत्रमा भएको ११ खर्ब बढी तरलता छ यो भनेको सहकारीहरुका लागि न्यूनतम दरमा बचत संकलन गर्ने र दीर्घकालिन लगानी गर्ने सुनौलो अवसर सिर्जना भएको छ ।
केही सहकारीको बद्मासीका कारण सारा सहकारी क्षेत्रमा हिलो छ्याप्ने काम भएको भन्दै उनले राम्रा सहकारीहरुले आफूलाई सबैभन्दा न्यून ब्याजदरको लाभ उठाउँदै लामो अवधिको बचत संकलन गर्न सक्ने ज्ञवाली बताए । यसले सहकारीको ‘ फन्डामेन्टल’ बलियो बनाउने उनले बताए । यद्यपि, यसमा सहकारीकर्मीहरु चित्त बुझाउन सकेनन् र उनलाई प्रश्नहरु गरे– अर्थतन्त्र संकुचन भएको अवस्थमा, उद्योगधन्दाहरु राम्रोसँग चल्न नसकेको समयमा, युवाहरु विदेश पलायनका लागि हरदम तयार अवस्थामा र राजनीतिक अस्थिरताको भुमरीमा सहकारीहरुले अधिक तरलता कहाँ लगानी गर्ने ? सिईओ ज्ञवालीले यसमा अरु धेरै मन्त्र नफुके पनि आफ्नो भूगोल र परिवेश अनि सदस्यको आवश्यकता र बजारलाई विश्लेषण गरेर स–साना लगानीका उपायहरु खोजी गर्न आग्रह गरे । स्थानीय आवश्यकता परिपूर्ति गर्ने गरी माइक्रो इन्टरप्राइजेजमा लगानी गर्न उनको आग्रह थियो ।
सहकारीहरु सर्लक्कसँग राम्रो भएर आउने बित्तिकै बैंक वित्तीय संस्थाका समस्याहरु देखि घरजग्गा क्षेत्रमा भएका समस्याहरु पनि बिस्तारै समाधान हुँदै जान्छन् । ‘आज तपाईंहरुसँग करिब ५ खर्ब हाराहारीको कुल बचत निक्षेपको साइज छ, ’ज्ञवालीले भने, ‘मेरो शुभेच्छा छ तपाईंहरु ५ खर्ब अरु तानेर १० खर्ब बनाउनुस् त्यसले वास्तवमा आर्थिक समावेशीतामा योगदान गर्नेछ ।’
ज्ञवालीका कुरा सुन्नलाई मिठो सुनिएपनि कतिपयमा उनले चित्तबुझ्दो जवाफ दिन सकेनन् । कुराले चिउरा भिज्दैन भन्ने झैं उनका कतिपय उत्तरहरु त्यस्तै सुनिए । सँगै उनले बैंकिङ क्षेत्रका कमजोरीहरु मुनाफा केन्द्रीत कामहरुबारे पनि बोलेर सहकारी अभियानलाई आफ्नो विश्वासमा लिने कोशिस गरे ।
उनले जगेडा कोषलाई बलियो बनाउन सहकारीहरुलाई आग्रह गरे । ‘लस अब्जर्ब’ गर्न पनि ‘रिजर्भ कुशन’ बलियो बनाउनुपर्ने भन्दै न्यूनतम कानूनी प्रबन्ध भन्दा केही बेढी नै राख्न सक्दा राम्रो हुने उनले बताए । सदस्य शिक्षा, सहकारी शिक्षा र वित्तीय शिक्षामा अलि बढी काम गर्न ज्ञवालीको आग्रह थियो । ‘बोर्ड बाट निर्णय गरेर साधारणसभाबाट पारित गराउन सक्नुहुन्छ भने बढी रिजर्ब राख्दा त्यसले कुशन क्रिएट गर्छ, ’ज्ञवालीले भने ।
आजको दिनमा भन्नै पर्ने हुन्छ बैंकमा पैसा राख्दा ग्राहकहरु सुरक्षित महसूश गर्छन् । त्यस्तै सुरक्षा र ढुक्क हुने वातावरण सहकारीहरुले निर्माण गर्नुपर्नेमा उनको जोड थियो । यो एकदमै क्रिटिकल कुरा भएको ज्ञवालीको तर्क थियो । त्यसका लागि पारदर्शी भएर हुन्छ कि, प्रभावकारी सञ्चार गरेर हुन्छ कि, वित्तीय साक्षरताका कार्यक्रमसँग जोडेर होकि सकेसम्म बचतकर्ताको विश्वास जित्नसक्यो भने सहकारीहरुलाई बचत परिचालनदेखि सुरक्षित ऋण लगानी सम्म सहयोग पुग्ने उनको भनाइ थियो ।
उनले सहकारीले सदस्यहरुलाई वित्तीय साक्षरताका कार्यक्रमहरुलाई थप सघनताका साथ देशैभर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि निजी बैंकहरु सहकार्य गर्न तयार हुनुपर्ने धारणा राखे । उनले भने, अन्य निजी बैंकहरुले पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीहरुलाई वित्तीय साक्षरताका कार्यक्रम सञ्चालनमा सहयोग गर्न सक्छन्, नबिलको हकमा हामी त्यो काम गर्न तयार छौं ।’ पुँजी संकलन, संस्थाको लागि पुँजी संकलनसँगै सदस्यहरुमा बचतको बानी विकास गर्ने काम सहकारीले गरेको भन्दै प्रशंसा गर्न पनि भ्याए ।
उत्प्रेरक ज्ञवाली बैंकको वित्तीय व्यवस्थापनको पाटो बुझेका चार्टड अकाउन्टेन्ट पनि हुन् । भलै यो पटकको साकोस समिटमा बैंकरहरु हाबी भन्ने आवाजहरु पनि मुखरित भएका छन् । ओपोनियनहरु दुई स्पष्ट कित्तामा विभक्त देखिएका छन् । तर, पनि सेलिब्रेटी बैंकरलाई सुन्न अधिकांश सहभागी आतुर देखिए भने उनले बोल्दा पटकपटक तालीले उनको उपस्थिति र विचारको अनुमोदन पनि गरे ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com