Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
साकोस शिखर गोष्ठी २०८२

सहकारीमा राम्रा कर्मचारी टिकाउने सुत्र के हो ?

सहकारीमा राम्रा कर्मचारी टिकाउने सुत्र के हो ?

काठमाडौं । मुलुकका राम्रा सहकारीहरुमध्येमा पर्ने पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत भीम गुरुङका अनुसार सहकारीमा राम्रा कर्मचारी टिकाउन कठिन छ । दक्ष कर्मचारीहरुका लागि सहकारी शिखर चढ्ने सिंढी बनेको उनी बताउँछन् । उनी आश्चार्य भावसहित प्रश्न गर्छन्–सेवा सुविधा राम्रो दिंदा, वृत्ति विकासका उपयुक्त योजनाहरुको नीतिगत प्रबन्ध गर्दा र राम्रो वातावरण उपलब्ध गराउँदा गराउँदै पनि राम्रा कर्मचारी टिकाउन निक्कै कठिन छ ? उनले जान्न खोजे, ‘सहकारीमा राम्रो कर्मचारी टिकाउने सुत्र के हो ?’

सहकारीको सञ्चालक समितिदेखि व्यवस्थापनमा बसेर लामो अनुभव हासिल गरेका गुरुङले यो जिज्ञासा राखे-नेफ्स्कूनले २०८२ पुस ३ र ४ गते ललितपुरमा आयोजना गरेको साकोस शिखर गोष्ठी २०८२ को दोस्रो दिन अनुभवी बैंकर एवम् व्यवस्थापन विज्ञ भुवन दाहालसँग ।

9be2a3f31d983ebf46c00c4b0679d04bef01f6f0.jpg
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ

महोत्तरीको औरहीस्थित विषहारामाई बचत तथा ऋण सहकारी संस्था लि.का सचिव रामनारायण शाहले पनि दाहाललाई सोधे, ‘हाम्रो जस्तो ग्रामीण क्षेत्रमा सहकारीमा दक्ष जनशक्तिको अभाव छ । हामीले विज्ञापन गरेपनि भनेजस्तो कर्मचारी पाउन सकिदैन । त्यस्तो अवस्थामा सहकारीलाई कसरी राम्रोसँग सञ्चालन गर्न सकिन्छ ?’

गुरुङ र शाहको जस्तै आशयको जिज्ञासा भोलिपल्ट स्थिरीकरण कोषको चौथो वार्षिक परामर्श बैठकमा सहभागी पश्चिममा एक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षले पनि सोधे, ‘मैले हाम्रो संस्थामा सिईओ नपाएको लामो समय भयो, राम्रो मान्छे नै पाइदैन । म २ लाख तलब दिन तयार छु तर पाइँदैन ।’ नेफ्स्कूनले यस्ता किसिमका आवश्यकता पूरा गर्ने गरी मानव संशाधन बैंक बनाउनुपर्दैन भनेर समेत उनले सुझाए ।

माथिका तीन प्रतिनिधि उदाहरण मात्र हुन् । सहकारीमा काम गर्न दक्ष जनशक्ति अभाव भएको विभिन्न फोरमहरुमा आवाज उठ्ने गर्दै आएको छ । केही प्रतिष्ठित भनिएका सहकारीहरुले पनि मूलतः उच्च तहमा कर्मचारी माग गरेका विज्ञापनहरु दुई तीन पटक सम्म पुनः प्रकाशित गरिन्छन् । र, यो समस्या काठमाडौंमा तुलनात्मक रुपमा कम भएपनि बाहिर भने धेरै छ । यही समस्या भोग्दै आएका सहकारीकातर्फबाट गोष्ठीमा यस्तै भावसहितका प्रश्नहरु विज्ञसँग सोधिएका थिए ।

साकोस शिखर गोष्ठीमा बैंकर भुवन दाहालले विगतमा आफूले सानिमा बैंकमा गरेको अभ्यास सुनाए–हामीले काम अनुसार माम दियौं । पर्फमेन्श हेर्यौं । हामीले कुन जात, कुन थर, कुन लिङ्ग कुन धर्म, कुन प्रदेश, कुन दल आदिको केही हेरेनौं । हामीले खाली पर्फमेन्श हेर्यौं । पर्फमेन्श, पर्फमेन्श, पर्फमेन्श । जसले राम्रो कार्यसम्पादन गर्यो त्यसलाई प्रमोट गर्यौं । कसैको भनसुन नसुन्ने अभ्यास गर्यौं । शुरुमा स्टाफ हायर गर्ने बेला भनसुन आयो भने रिजेक्ट गर्यौं । त्यस्तै प्रमोशनको बेला भनसुन आयो भने उसको एक वर्ष ढिला गरायौं । तर, हाम्रो नेपालमा अभ्यास पनि गलत छ–राम्रो कार्यसम्पादन भएको व्यक्तिले पनि भनसुन गर्ने गर्छन् । एक नम्बरमा भएको व्यक्तिले पनि भनसुन गराउँछन् । सानिमामा हामीले यसलाई चिर्ने प्रयास गर्यौं ।’

'भुवनले त आफ्नो मान्छे हायर गरेको रहेनछ' भनेर राष्ट्र बैंककाहरुले थाहा पाएपछि शुरुमा रिसाएकाहरुले पनि पछि आफूलाई सम्मान व्यक्त गर्न थालेको उनले सुनाए । राम्रो कार्यसम्पादन गर्नेलाई प्रमोट गर्ने सिष्टम बसाल्न सहकारीहरुलाई उनले सुझाए । ‘एउटा सन्देश तपाईंहरुले के स्पष्टसँग प्रवाह गर्न सक्नुपर्छ भने, ’दाहालले भने, ‘यहाँ राम्रो काम गर्नेले पुरस्कार पाउँछ र नराम्रो काम गर्नेले दण्ड । यो कल्चर क्रिएट गर्नुपर्छ सहकारीहरुले पनि ।’

उनले भने, ‘सतप्रतिशत गर्न नसिकएला तर धेरै गर्न सकिन्छ । सानिमा बैंकमा मेरै पालामा पनि कति राम्रा कर्मचारी लुज गर्नुपर्यो । कतिजना अष्ट्रेलिया अमेरिका वा अन्यत्र जानुभयो उहाँहरुलाई राख्न सकेनौं । अरु बैंकमा पनि केही कर्मचारी जानुभयो । जस्तो मैले १० हजार तलब दिएको ठाउँमा अर्कोले ५० हजार दियो भने त मैले १५ वा २० हजार दिदैंमा उनी त बस्दैनन् । त्यस्तो अवस्थामा सम्भव हुन्न तर सकेसम्म राम्रो वातावरण क्रिएट गर्ने हो संस्थामा । सत प्रतिशत रिटेन गर्न हामी सक्दैनौं कहीपनि ।’

विश्वव्यापीकरणको युगमा समय पनि त्यस्तै रहेको दाहालले सुनाए । ‘नेपालको प्रतिव्यक्ति आम्दानी १४ सय डलरको हाराहारी छ, ’दाहालले स्टाफ रिटेन्सनको समस्याको कारण खोतले, ‘अमेरिका गयो भने त ८०–९० हजार प्रतिव्यक्ति आम्दानी छ । अष्ट्रेलिया गयो भने ६०–६५ हजार डलर छ । अनि राम्रो मानिस कहाँ बस्छ यहाँ । यो समस्या सहकारीमा मात्र होइन बैंक वित्तीय संस्थाहरुमा पनि छ ।’

देशमै रहे पनि एउटा सहकारीको कर्मचारीलाई अर्को संस्थाले धेरै बढी पैसा दिएर तान्न सक्ने स्थिति रहने उनले बताए । कर्मचारी रिटेन्शनको समस्या सहकारीमा मात्र होइन बैंक तथा वित्तीय संस्थाहरु पनि छ । तर, यहाँले राम्रो वातावरण सिर्जना गर्नुभयो, कामको सम्मान गर्ने संस्कृति संस्थामा विकास गर्नुभयो, नातावाद कृपावाद छैन है भन्ने सुनिश्चित गर्नुपर्छ । यहाँ त राजनीतिक दलहरुकातर्फबाट नै फलानो त हाम्रो कार्यकर्ता हो प्रमोशन गर्नुपर्छ है भन्नेसम्म हुन्छ । ‘तर एउटा कुरा के सत्य हो भने गाउँको मान्छे शहर आउन खोज्ने शहरको मान्छे विदेश जान खोज्ने यो संसारभर हुन्छ, ’ दाहालले भने ।

उनले कर्मचारीहरुका लागि सहकारीहरुले लर्निङ एण्ड डिभेलपमेन्टमा खर्च गर्नुपर्ने बताए । दाहालले भने, ‘अवसरहरु समानरुपले क्रिएट गर्नुपर्छ । केहीकेही कम्प्रोमाइज गर्नैपर्छ । हाम्रो घरकै छोराछोरी त विदेश जान्छन् हामीले नचाहँदा नचाहँदै के गर्ने ? किनकि हाम्रो आम्दानी कम छ नि त । तर, जब सहकारी अलिक ठूलो बनाउनुहुन्छ, आम्दानीको स्तर बढाउनुभयो भने कर्मचारीमा खर्च गर्न सकिन्छ र त्यसले रिटेन्सन रेट बढाउँछ ।’

597696850_1448464887280379_3338293455123799549_n.jpg
अनुभवी बैंकर एवम् व्यवस्थापन विज्ञ भुवन दाहाल

सानिमा बैंकमा लागू गरेको फमूर्ला दाहालले सुनाए, ‘ धेरै शाखा खोल्ने भन्दा थोरै शाखा राखेर आम्दानी बढायौं । थोरै शाखाबाट धेरै बिजनेश गर्ने सुत्र प्रयोग गर्यौं । त्यो भएपछि हामी धनी हुन्छौं हैं भन्ने सोचले काम गर्यौं ।’

उनले भने, ‘हामीले साईज ठूलो बढाए मात्र धनी हुन्छौं । विगतमा हाम्रो कृषि जीविकोपार्जनका लागि ठिक्क थियो । तर, कसरी काम गर्ने भन्ने कुरा असाध्यै महत्वपूर्ण हुन्छ । अहिले धान, मकै गहुँ लगाएर भारतसँग प्रतिस्पर्धा गर्न कठिन छ । हामीले के कृषि गर्यौं भने त्यही खेतबारीबाट बढी आम्दानी हुन्छ त्यसतर्फ सोच्नुपर्यो । के बिजनेश गर्दा आम्दानी बढी हुन्छ त्यो गर्नुपर्छ यसो गर्दा कर्मचारीमा पनि खर्च गर्न सकिन्छ र रिटेन्सन रेट राम्रो हुन्छ । थिङ्क वियोन्ड द बक्स ।’

उनले सानिमा बैंकमा स्टार एक्सलेन्स अवार्ड भनेर मिहेनत गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने प्रणाली विकास गरेको भन्दै त्यसले कर्मचारीहरु उत्प्रेरित भएको उल्लेख गरे । नयाँ काम गर्ने कर्मचारीलाई सधैं प्रोत्साहित गर्ने संस्कृति सहकारीभित्र पनि विकास गर्नुपर्ने दाहालको सल्लाह थियो ।

यसैगरी, दाहालले स्वयंसेवी भूमिका (सञ्चालक समिति वा उपसमितिहरुमा)  अवकाश प्राप्त बैंकर, अर्थशास्त्री वा वित्तीय संस्थाहरुमा काम गरेका विषयविज्ञहरुलाई राख्न सकिने दाहालले सुझाए । उनले राजा एउटा देशभित्र मात्र पुजिने तर विद्धान सर्वत्र पुजिने भनिए झैं विज्ञहरुको सहयोग लिदा सहकारीले फाइदा पाउने बताए । दाहालले भने–अलिकति फरक जस्तो सेक्टर देखिएपनि विज्ञको सल्लाह लिनुहोला किनभने एक्स्पर्टले गरेको डिसिजन बेटर हुन्छ ।’

यसैगरी, उक्त सत्रमा कर्मचारीहरुलाई तालिम र शिक्षाबाट इम्पावर गर्ने त हो तर त्यसलाई मानव संशाधन सम्बन्धी निर्णय प्रक्रियासँग जोडिएन भने कर्मचारीले छोड्ने विषयमा सचेत गराइएको थियो । ‘किनभने कर्मचारीले तालिम, शिक्षा र ज्ञान लिइसकेपछि राम्रो अवसर खोज्छ । त्यो राम्रो अवसर प्रदान गर्ने प्रणाली तपाईंले सहकारीमा विकास गर्नुभएको छैन भने उसले विकल्प त खोज्छ नै, ’ सहकारीहरुलाई सुझाव थियो ।

602358208_1448659483927586_3759205621430659181_n.jpg
साकोस शिखर गोष्ठी २०८२

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार