Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

मुलुकको निकासका लागि निर्वाचन सफल पार्न राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह

मुलुकको निकासका लागि निर्वाचन सफल पार्न राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षित भविष्य र मुलुकको निकासका लागि आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्यको निर्वाचन सफल पार्न आग्रह गरेका छन्। 

बागलुङको बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले शान्ति, सुशासन, विकास र समृद्धिको जनआकांक्षा पूरा गर्ने दायित्वका लागि यो निर्वाचन महत्त्वपूर्ण रहेको बताएका हुन्। 

ठूलो संघर्ष र बलिदानबाट प्राप्त संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले जनताको चाहना पूरा गर्नुपर्नेमा उनले जोड दिए। जनताको हितलाई केन्द्रमा राखेर सुशासनको माध्यमबाट भ्रष्टाचार र विकृति अन्त्य गर्दै विकासको गति तीव्र पार्नु आजको मुख्य आवश्यकता रहेको राष्ट्रपतिको भनाइ छ। 

उनले परिवर्तित सन्दर्भमा नवपुस्ताको चाहना सम्बोधन गर्न र मुलुकलाई राजनीतिक दुष्चक्रबाट बचाउन आपसी समझदारी र सहकार्यबाट निर्वाचनको महायज्ञ सफल पार्नुपर्ने उल्लेख गरे। शिक्षा र रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले स्वदेशमै उत्पादन र उद्यमशीलताका नवीन आयामहरू विकास गर्नुपर्ने बताए।

बदलिँदो विश्व परिवेशमा गुणस्तरीय र प्रविधिमैत्री शिक्षाको आवश्यकता रहेको औँल्याउँदै राष्ट्रपति पौडेलले विद्यालयहरूले ज्ञानसँगै नैतिकता, सीप र संस्कार सिकाउनुपर्ने बताए। राष्ट्र निर्माणको आधारशिला नै शिक्षा भएकाले यसलाई सरकारले सधैँ प्राथमिकतामा राख्नुपर्ने उनको तर्क छ। 

कृषि क्षेत्रलाई आधुनिकीकरण र औद्योगिकीकरण गर्न सघाउने खालको शिक्षा नै अहिलेको आवश्यकता रहेको भन्दै उनले शिक्षालाई अनुसन्धान र व्यवसायमार्फत जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार