Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता

सहकारी पीडितहरुको तर्फबाट पनि पर्यो उम्मेदवारी !

सहकारी पीडितहरुको तर्फबाट पनि पर्यो उम्मेदवारी !

काठमाडौं । सहकारी पीडितहरुको तर्फबाट पनि फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी परेको छ ।  सहकारी पीडितहरुको संगठन सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घका अध्यक्ष कुशल खत्रीले काठमाडौं जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराएका छन् ।

उनले सहकारी पीडितहरुको आवाज कुनै पनि सरकारले नसुनेको भन्दै पीडितहरुलाई न्याय दिलाउन सबैको सल्लाहबमोजिम आफू निर्वाचनमा होमिएको धिप्री डटकमलाई बताए । महासंघका बरिष्ठ उपाध्यक्ष पहलसिंह केसी लगायत केही सहकारी पीडितहरुका साथ आज अपरान्ह काठमाडौंको नयाँ बानेश्वरस्थित सहकारी प्रशिक्षण केन्द्रमा रहेको काठमाडौं जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर खत्रीले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । 

DSC05526_11zon.jpg
धिप्री फोटो

'हामी बानेश्वर आसपास र खासगरी सहकारी विभाग परिसरमा पनि लामो समय धर्ना बसेका थियौं, 'उनले भने, 'हामीले संघर्ष गरेको ठाउँ हो यो त्यसैले यो निर्वाचन क्षेत्रबाटै उठ्ने निर्णय महासंघले हिजो अबेर गरेको हो । अन्य राजनीतिक दलहरुसँग सम्वाद भएपनि कसैले पनि सहकारी पीडितहरुको विषयलाई एक नम्बर मुद्दा बनाएको देखिएन ।'

उनले भने, 'हामीले राजनीति गर्न चाहेको भए आज ७७ वटै जिल्लामा उम्मेदवार उठाउन सक्थ्यौं, पार्टी पनि दर्ता गर्न सक्थ्यौं तर त्यसो नगरी स्वतन्त्र रुपमा सबै पीडितहरुको हितको लागि उम्मेदवारी दिने निर्णय औपचारिक बैठक बसेर गरिएको हो ।'

बचत फिर्ताका लागि संसदमा आवाज बुलन्द गर्न उम्मेदवारी दर्ता गराएको खत्रीले बताए । उनले सडक र सदन दुबै ठाउँबाट आवाज उठाउँदा आफ्ना मुद्दाहरु झनै सशक्त र प्रभावकारी हुने भन्दै उम्मेदवारी दिने निर्णय गरिएको बताए ।

'यो हाम्रो रहर होइन, बाध्यता हो, 'खत्रीले भने, 'हामी कुनै राजनीतिक दलको प्रतिस्पर्धी होइनौं, हामी केवल सहकारी पीडित मुक्त समाजको निर्माणमा होमिएका हौं ।' आर्थिक अवस्था दयनीय भएकाले धेरै क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिन नसकिएको बताउँदै उनले कीर्तिपुर, भक्तपुर, ललितपुर आदिबाट पीडितहरुको तर्फबाट उम्मेदवारी दर्ता भएको बताए ।

DSC05540_11zon.jpg
धिप्री फोटो


निर्वाचनका लागि प्रचार प्रसार कसरी गर्नुहुन्छ भन्ने प्रश्नमा खत्रीले भने, 'अब म घर घरमा जान्छु, मलाई त भात पनि मतदाताहरुले खुवाउनुपर्छ, भयो भने दिनभर हिडेको पाँच दश रुपैयाँ पनि दिनुपर्छ । पीडाका लागि निस्किएको ज्वालामुखी हो यो । अरु जस्तो पैसा बाडेर, मतदाताहरुलाई झुटो आश्वासन दिएर वा मासुभात खुवाएर म भोट माग्न सक्दिन । उम्मेदवारहरुको भुठो आश्वासनमा परेर फेरि पाँच वर्ष सडकमा आन्दोलन गर्नुपर्ने पिटाइ खानुपर्ने हो भने मेरो भन्नु केही छैन, अन्यथा मलाई भोट दिई जिताउन म सबैलाई आग्रह गर्छु ।'

खत्रीले सहकारी पीडितहरुलाई न्याय चाहिएको छ भने आफूलाई साथ दिन काठमाडौं क्षेत्र नं १ का सम्पूर्ण मतदाताहरुसँग आग्रह गरे । 'आजसम्म जसरी मैले सडकमा सहकारी पीडितहरुको आवाज बुलन्द गर्दै आएको छु,' केसीले भने, 'निर्वाचन जिते भने झन सशक्त ढंगले संसदमा समेत आवाज उठाउँछु कानून निर्माणमा भूमिका खेल्छु  त्यसका लागि साथ र समर्थन गर्न हार्दिक आग्रह गर्दछु ।'

DSC05502_11zon.jpg
धिप्री फोटो

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार