Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
टिप्पणी

श्रीमान् सचिवज्यू ‘बिरामी’ हुनुहुन्छ !

श्रीमान् सचिवज्यू ‘बिरामी’ हुनुहुन्छ !

ललितपुर । राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा आजबाट ललितपुरमा शुरु भएको दुई दिवसीय 'दोस्रो राष्ट्रिय युवा तथा प्रविधि सम्मेलन-२०८२'  मा सहभागी थिए भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेल । बिशिष्ट अतिथिका रुपमा सहभागी उनी प्रमुख अतिथिको अनुपस्थितिमा प्रमुख अतिथि नै बने । पूर्व मन्त्री एवम् महासंघका पूर्व अध्यक्ष केशब बडालसँगै सम्मेलनको उद्घाटन पनि गरे ।

त्यसको केही समयपछि मन्तव्यका लागि मञ्चमा उक्लिएका सचिव भुजेलको स्वर स्पष्ट सुनिएन । स्वरमा कम्पन थियो । 'सेकी' थियो ।  बिरामीझैं देखिन्थे । हुन पनि हो रहेछ । शुरुमै सचिव भुजेलले भने, ‘फिभरको कारणले थला परेको छु । दुई तीन दिन सम्म फिभरले सतायो । बोल्न पनि गाह्रो भैरहेको छ । माफ गर्नुहोला ।’

सचिव भुजेल बिरामी हुनु त स्वाभाविक बिषय भयो । तर, उनले मञ्चमा उभिएर गरेको भाषणको संश्लेषण गर्ने हो भने उनलाई सहकारी सचिवको जिम्मेवारीले बिरामी पारेको बिम्बसँग जोड्न कठिन हुँदैनथ्यो । 

दैनिक रुपमा मन्त्रालय पुग्ने सहकारी पीडितहरु, दवाब समूहहरु, सहकारी सञ्चालकहरुको गुनासो सुन्दा सुन्दा आफहरु हतोत्साही भएको उनले बताए । हतोत्साही अर्थात् सहकारीका समस्या सुन्दा सुन्दा बिरामी झैं भएको । 

उनले भने, ‘मन्त्रालयमा बस्दा सहकारीका समस्या, सञ्चालकहरुका समस्या, बचतकर्ता अभियानको दिनहुँको दबाब आदि कारणले सबै सहकारी खराब हुन्, कुनै पनि सहकारी ठीक छैनन भन्ने लाग्छ । तर, महासंघका साथीहरुलाई भेट्दा वा यस्तो सम्मेलनमा आउँदा उहाँहरुको उत्साह, उर्जा देखेर मन्त्रालय बस्दाको विचार त गलत रहेछ भन्ने पनि लाग्छ ।’ 

उनले आफ्नो सम्बोधनको शुरु सहकारीको महिमा गानबाट गरे । सहकारीका विषयमा आफू अनभिज्ञ र कम अनुभवी भन्दै उनले २०४६ सालमा प्रजातन्त्र पुनर्बहालीपछि सहकारीको लहर चलेको देख्दा यो अभियानले उथलपुथलनै ल्याउँछ, मुलुकमा ठूलो आर्थिक गतिविधिलाई  चलायमान बनाउँछ, समृद्धि ल्याउँछ भन्ने उत्साह जागृत भएको बताए । उनले अर्थतन्त्रमा सहकारीको योगदान महत्वपूर्ण रहेको र तीन खम्बे अर्थनीति अवलम्बन समेत भएको भन्दै सहकारीले हजारौंलाई रोजगारी र लाखौंलाई अप्रत्यक्ष रोजगारी दिएको चर्चा गरे । अनि, कुल जनसंख्याको एक तिहाई हिस्सा कुनै न कुनै रुपमा सहकारीसँग जोडिएको बताए ।

स्वरमा कम्पनसहित सचिव भुजेलले सहकारी क्षेत्रमा महिला सहभागिता ५० प्रतिशत भन्दा बढी भएको र उनीहरुको नेतृत्व विकास र सशक्तीकरणमा सहकारी माध्यम बनेको भन्दै सुरुवाती सम्बोधनमा महिमा गान गाए । उनले भने, ‘पुँजीको अभाव पूर्तिदेखि महंगो ब्याजदरमा साहुबाट ऋण लिनुपर्ने अवस्था अन्त्य गर्यो । वित्तीय पहुँच बिस्तार गर्यो ।’

ठीक ४ मिनेट बोलिसकेपछि सचिवले  भने, ‘तर’ । हो, त्यही 'तर' पछि उनले सहकारीहरुका समस्याका कुरा गरे । त्यस पछिका  उनका भनाइहरुले उनलाई केवल शरिरको बिमार होइन, सहकारीको बिमारले समेत ग्रस्त पारेको स्पष्ट आभाष हुन्थ्यो । सचिव भुजेलले ४ मिनेपछि वर्तमानको वास्तविकता बताए ।

उनले अगाडि भने, ‘म दुई महिना भयो यो मन्त्रालयमा आएको । म आइसकेपछिको यो दुई महिना सधैभरि सहकारी पीडितहरुको गुनासो, समस्याग्रस्त सहकारी पीडितहरुको दुखेसो र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले राम्रोसँग काम गर्न नसकेको, यो प्रलोभनमा पर्यो, यो बायस्ड भयो, यो निस्क्रिय भयो भनेर आउने दबाव समूहरुसँग सधैंभरि वादविवाद, छलफल गर्दैमा बित्यो । र, यो दुई महिनाको अविध विचार गर्दा मलाई यस्तो लाग्छ कि कुनै पनि सहकारी संस्थाहरु समस्याग्रस्त नभएका छैनन् । मेरो मानसपटलमा लागेको कुरा गर्दैछु । कुनै पनि सहकारी संस्था यसका मूल्य, मान्यता र सिद्धान्तमा चलेका छैनन् जस्तो अनुभूति भएको छ ।’

उनले भने, ‘मन्त्रालयमा बसेर कुरा सुन्दा सुन्दा लाग्छ कुनै पनि सहकारी सद्दे छैनन् । राम्रोसँग सञ्चालन भएको छैन । सबै डुबेका छन् ।’ तर, फेरि उनले महासंघसँग समग्र अभियानलाई कटाक्ष पनि गरे । उनले भने, ‘तर, आज यो सम्मेलन हुँदै गर्दा मलाई भित्र भित्र उत्साह जागेको छ । सहकारी महासंघका पदाधिकारीहरुको मनोबल केही घटेको जस्तै देखिदैंन । उहाँहरुको अनुहार हेर्दा । हामी त मन्त्रालयमा बस्दा यति हतोत्साही भएर बस्नुपरेको अवस्था छ ।’

सचिव भुजेलले अरु थप सहकारीहरुलाई पनि समस्याग्रस्त घोषणा गर्नुपर्यो भनेर दवाब आइरहेको पनि बताए । यो अर्को बिमार थियो उनको र मन्त्रालयको लागि । उनले भने, ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सिफारिश पनि भएको छ । अब तिनीहरुलाई पनि समस्याग्रस्त घोषणा गर्नुपर्ने अवस्था छ । तर, घोषणा गरेर मात्र भएन तिनलाई कसरी पार लगाउने भन्ने अर्को चुनौती छ । यस्तो अवस्थामा सहकारीलाई जगाउने, उर्जा थप्ने, र सहकारीप्रति फैलिएको नकारात्मक भाष्य र भ्रम चिर्न सहकारी महासंघ र सहकारीमा आवद्ध सबैलाई लागि पर्न पनि म अनुरोध गर्न चाहन्छु  ।’

सहकारीहरु समस्यामा पर्नका कारणहरुबारे विभिन्न अध्ययन प्रतिवेदनहरुको उस्तै निष्कर्ष रहेको उल्लेख गरे । उनले भने, ‘विगतमा जे जति सहकारीहरु धराशायी भए त्यसबाट के बुझिन्छ भने जोखिमको आँकलन सही समयमा गरिएन । धितो नराखी कर्जा प्रवाह गरियो, जो वास्तविक सदस्य हुन् उनीहरुभन्दा बाहिरका गैरसदस्यको ठूला ठूला रकम बचत स्वीकार गरियो । त्यस्ता रकम सञ्चालकहरुको कम्पनीमा लगानी गरियो । त्यहीं कारण संस्थाहरु डुबे । अहिलेसम्मको अध्ययन प्रतिवेदनहरुको निष्कर्ष यस्तो छ । सहकारीका सञ्चालकहरु पनि दोषी छन् ।’ 
सचिव भुजेलले भने, ‘एकदम सम्मानित र आर्थिक रुपमा सम्पन्न व्यक्तिहरु अहिले शिर निहुँराएर हिडेको र मलाई कारबाही गरेपनि हुन्छ भनेर आएको अवस्था छ । यस्तो देख्नुपर्दा सारै अफ्ठेरो महशूस हुन्छ । त्यसकारण महासंघले पनि अनुगमन प्रभावकारी बनाउनुपर्यो ।’

सहकारी विभागले पनि काम नगरेको उनले बताए ।  विगतमा सहकारी डिभिजन कार्यालयहरुमार्फत जुन अनुगमन नियमन हुन्थ्यो, त्यो काम अहिले फितलो भयो, कडाइ भएन भन्ने सचिवको भनाइ थियो । उनले उचित निर्देशनहरु समयमै नदिइएको र आवश्यक निर्णय पनि समयमै नगरिएन भन्दै दिइएका निर्देशनहरु पनि सहकारीहरुले पालना नगरेको बताए । अनि स्वनियमनको अभियानको रटानप्रति पनि उनले आपत्ति जनाए ।  ‘हामीले स्वनियमन भन्यौं, सरकारी हस्तक्षेप ग्राह्रय हुँदैन भन्यौं, ’ उनले भने, ‘अनि अहिले समस्या आयो । यी कारणले सहकारी क्षेत्रमा अहिलको अवस्था आइपर्यो भन्ने अध्ययनहरुको निष्कर्ष छ ।’ 

अघिल्लो वर्ष राष्ट्रिय सहकारी नियमन प्राधिकरण पनि स्थापना भएको भन्दै उनले अब सहकारीका सबै संघहरु तथा महासंघहरु र राज्यका निकायबीच समन्यव आवश्यक भएको भन्दै त्यसो हुँदा मात्र सहकारी समस्या समाधान गर्न सकिने बताए । उनले भने, ‘धराशयी नभएका सबै सहकारीहरुलाई बचाउँदै यो सहकारीहरुको मूल्य, मान्यता प्रवर्धन गर्न सबैको योगदान अमूल्य रहन सकोस् ।’
अन्त्यमा सम्मेलनको पूर्ण सफलताको कामना सहित मञ्चबाट ओर्लिसकेपछि तल पुगेर पनि सचिव भुजेलले भने, ‘गाह्रो भो !’

सम्बोधनको शुरु आरामदायी कुराबाट गरेका मन्त्री भुजेलले ४ मिनेटपछि सहकारी अभियान बिरामी भएको कुरा गरे । आशा गरौं उनको शरिरको बिमार र सहकारी क्षेत्रको बिमार दुबै शीघ्र निको हुने दिशातर्फ अघि बढ्नेछ । शिघ्र स्वास्थ्यलाभको कामना ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार