Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

भक्तपुर बचत संघले गर्यो अर्धवार्षिक समीक्षा, प्रगति सन्तोषजनक रहेको ठहर

भक्तपुर बचत संघले गर्यो अर्धवार्षिक समीक्षा, प्रगति सन्तोषजनक रहेको ठहर

भक्तपुर  । २०८२ माघ १७ गते भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष हरिकृष्ण बल्लले संघको अर्धवार्षिक समीक्षाले संघको कार्य प्रगतिको अवस्थाबारे बोध हुने र कमजोरीलाई सुधार गरेर अगाडि बढ्न सहयोग गर्ने बताए ।

सहकारीमा बहु नियामकबाट जारी बहु निर्देशनले सहकारी संस्थाहरु अन्यौलमा रहेको उनले बताए । नियामकले नियमन तथा निरिक्षण गर्नु स्वाभाविक भएपनि नियमनको नाममा नियोजन गर्ने निर्देशनप्रति संघको आपत्ति रहेको उनले स्पष्ट पारे । सहकारी संस्थाको संचालन गतिविधिलाई ध्यान नै नदिई संघमा रहेको तरलता गणना नहुने, खोलिएका शाखाहरु बन्द गर्नुपर्ने जस्ता जारी निर्देशनले सहकारी संस्थाको संचालन प्रक्रियालाई नै विथोल्ने तथा कमजोर बनाउने उनको भनाई थियो । सहकारीलाई एकद्धार प्रणालीबाट मात्र नियमन गर्नु पर्नेमा जोड दिदैं राष्ट्रिय सहकारी नियमन प्राधिकरणले दर्ता अभिलेखिकरण गर्ने समय अवधि २०८२ फागुन ११ गतेसम्म थप गरेकाले दर्ता हुन बाँकी संघमा आबद्ध सदस्य संस्थाहरुलाई समयमै दर्ता हुन उनले अनुरोध गरे ।

संघका उपाध्यक्ष जगनाथ प्रजापतिले स्वागत मन्तव्य राख्दै संघले आ.व. २०८२।०८३ को बार्षिक कार्यक्रम तथा बजेटको कार्यान्वयनको समीक्षा गर्न अर्धबार्षिक समीक्षा कार्यक्रम राखिएको बताए । संघका सचिव कान्छाभक्त घजुले अर्धवार्षिक समीक्षामा संघले पुषमसान्तसम्मको कार्यक्रम प्रगति प्रस्तुत गरे । उनले संघका सदस्य संस्थालाई निरन्तर शिक्षा तथा तालिम अन्तर्गत संस्थाको संस्थागत, संचालक र कर्मचारीको क्षमता अभिवृद्धि हुने तालिमलाई जोड दिएको बताए । हालसम्म संघमा २०३ सदस्य मध्ये १९५ वटा संस्थाको साधारणसभा भएको र ८ वटा संस्थाको साधारणसभा गर्न बाँकी रहेको बताए । संघले गरेको समन्वय तथा पहलकदमी भूमिका बारेमा जानकारी गराए । संघले हालसम्म गरेको १२ वटा संस्थाको अनुगमन गरेकोे उनले उल्लेख गरे ।

संघकी कोषाध्यक्ष कृष्णश्वरी मचामसीले अर्धवार्षिक समीक्षामा संघको वासलात तीन अर्ब दश करोड पुगेको जानकारी गराइन् । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन अनुसार संघले कारोबारलाई खुम्चाउनुपर्ने बाध्यात्मक परिस्थिति अनुसार संघले कारोबार घटाउने लक्ष्य राखिएको बताइन् । सोही अनुसार २०८२ पुष मसान्तसम्ममा ३.४१ प्रतिशतले घटाउन सफल भएको उनले बताइन् । उनले हाल ऋण लगानीको वातावरण नहुँदा संघ संस्थामा अत्याधिक तरलता बढेकोले तरलताको व्यवस्थापनमा सकस परेको बताइन् ।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी ऐन २०७४ ले दिएको अधिकारको प्रयोग गर्दै बचत तथा ऋण कारोबार गर्ने सहकारी संघहरुलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखिकरण गर्न पाउनुपर्ने बताए । बचत तथा ऋण सहकारी संघहरुको कारोबारको व्यवस्थापन मापदण्ड ल्याई नियमन गर्नुपर्नेमा निर्मुल गर्ने खालका केही निर्देशनले संघको अस्तित्व माथि नै प्रश्न उठाएको उनको भनाइ थियो । उनले सहकारी ऐन नियम र निर्देशन अनुसार संघको कारोबारलाई व्यवस्थित गर्दै लगेको तर निर्धक्क कारोबार गर्न पाउने वातावरण बन्न नसकेकोमा चिन्ता व्यक्त गरे ।

संघका लेखा सुपरिवेक्षण समितिका संयोजक दामोदर न्यौपानेले संघको अर्धबार्षिक प्रगति सन्तोषजनक रहेको बताए । संघको अर्धवार्षिक समीक्षामा समिति र उपसमितिहरुबाट ३४ जना र कर्मचारीहरु ९ जनाको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार