Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

२५ वर्षमा पोखरा रोयल साकोसः सपना, संघर्ष र सफलताको यात्रा

२५ वर्षमा पोखरा रोयल साकोसः सपना, संघर्ष र सफलताको यात्रा

काठमाडौं । सफलता प्राप्त गर्न सर्वप्रथम सपना देख्नुपर्छ । सफलता प्राप्तिको प्रस्थान विन्दु सपना हो । त्यो सपना साकार पार्न श्रृङ्खलावद्ध संघर्षहरु सहन तयार हुन्छु भन्ने संकल्प आवश्यक पर्दछ । संकल्प भनेको दृढ शक्ति र सामर्थ्य हो । त्यो संकल्पप्रति सच्चा प्रतिबद्धता आवश्यक पर्दछ । प्रतिबद्धता केवल एकपटक मात्र होइन, निरन्तर आवश्यक पर्दछ । यदि, यी काम गर्न सकियो भने कुनै पनि व्यक्ति होस् वा संस्था, त्यसले सफलता आस्वादन गर्न सक्दछ । यो प्रमाणित सत्य हो । यस्तै, सपना, संकल्प र संघर्षको बलमा मुलुकको सहकारी अभियानमा विशिष्ट छाप छोड्न सफल भएको छ गण्डकी प्रदेशको कास्की जिल्लास्थि पोखरामा अवस्थित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड । त्यहीं सफलताको अर्को खुड्किलो पार गर्दै पोखरा रोयल साकोस आज २०८३ साल जेठ ८ गते २५औं वर्ष प्रवेश गरेको छ । 

‘सुखी सदस्य, दिगो सहकारी’को परिकल्पनाका साथ सदस्य सेवामा समर्पित समुदायमा आधारित पोखरा रोयल साकोसले सदस्यमैत्री, प्रविधिमैत्री, विश्वसनीय, सुरक्षित अनि पारदर्शी सेवालाई सधैं प्राथमिकतामा राखेको जनाएको छ । विगतदेखिका यी अविचलित प्रतिबद्धताहरुमा अडिग रहँदै यिनै आयामहरुलाई थप परिस्कृत र परिमार्जित गर्दै सदस्यहरुलाई सुखी बनाउने संकल्प दोहोर्याएको छ । साथै, २५औं स्थापना दिवसका अवसरमा यो लामो यात्रामा साथ दिने सदस्यहरु, शुभचिन्तकहरु तथा सरोकारवालाहरुप्रति कृतज्ञता व्यक्त समेत गरेको छ । 

स्वस्थ्य वित्तीय अवस्था  
साकोसले सार्वजनिक गरेको २०८३ बैशाख मसान्तको वित्तीय विवरणअनुसार हाल संस्थामा १० हजार ४ सय ४५ जना सदस्य छन् । संस्थाको कुल सम्पत्ति २ अर्ब ५२ करोड ७२ लाख बढी छ । १५ करोड ५१ लाख बढी शेयर पुँजी रहेको साकोससँग २२ करोड ५२ लाख रुपैयाँ बढी स्वपुँजी अर्थात् संस्थागत पुँजी छ । १ अर्ब ९२ लाख बढी बचत रहेको साकोसले १ अर्ब ४५ करोड बढी ऋण लगानी गरेको छ । तरलता ४६.२४ प्रतिशत छ । 

साकोसले अबको ध्यान सदस्यहरुलाई उत्पादनमा जोड्ने, आय आर्जनका बहुविकल्पहरु उपलब्ध गराउने, उद्यमशीलताका प्रयासहरुमार्फत क्रियाशीलता र रोजगारीका अवसरहरु सृजना गराउने र राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने तर्फ सकेसम्म योगदान गर्ने रहेको जनाएको छ । सोही अनुरुप पोखरा रोयल साकोसले गत वर्ष नै व्यवसाय विकास सेवा डेस्क (बीडीएस डेस्क) स्थापना गरेको थियो । पछिल्लो पटक महिला सदस्यहरुलाई व्यावसायिक सीप सिकाउने उद्धेश्य बमोजिम १५ दिने पाककला (कुकिङ्ग) तालिम प्रदान गरेको छ ।

प्रविधिमा फड्को
पोखरा रोयल साकोस प्रविधि प्रेमी सहकारी हो । अवस्थिति, सदस्यहरुको रुचि र संस्थाको निरन्तरको प्रयासका कारण यसले सहकारीमा प्रविधि प्रयोगलाई विशेष जोड दिएको छ । साकोसले आफ्नो सेवालाई क्यासलेस, चेकलेस र पेपरलेस बनाउँदै लगेको छ । 

संस्थाको कारोबारलाई सुरक्षित, प्रविधिमैत्री र समयानुकूल बनाउन कोर बैंकिङ प्रविधिलाई अवलम्बन गरिएको छ । तथ्याङ्कहरुलाई क्लाउड प्रविधिमार्फत सुरक्षित गरिएको छ  । सदस्यहरुका लागि कनेक्ट आईपीएस, ट्याब्लेट बैंकिङ सुविधासमेत उपलब्ध छ । रोयल स्मार्ट बैंकिङ सेवामार्फत बचत रकमको जानकारी, स्टेटमेन्ट, मोबाइल टपअप, बिल भुक्तानी, ट्रान्सफर, एटीएम र क्यूआर सेवा उपलब्ध गराइएको छ ।

सेवाहरुमा विविधता
सदस्यहरुको सुख दुःखको साथी पोखरा रोयल सहकारी ‘जन्मदेखि मृत्युसम्म’ उनीहरुसँग जोडिएको छ । सदस्यहरुलाई  शिशुस्याहार राहत, स्वास्थ्योपचार, पेन्सनदेखि किरिया खर्चसम्म उपलब्ध गराउँदै आएको पोखरा रोयलले जनाएको छ । रोयल फाउन्डेसन नामक छुट्टै सहयोगी संस्थामार्फत पनि सहकारी सामाजिक उत्तरदायित्वका गतिविधिहरु सञ्चालनमा छन् । रोयल फाउन्डेसनमार्फत साकोसले प्रतिसदस्य १० हजारका दरले मृत्यु राहत र ३ हजारका दरले सुत्केरी स्याहार रकम उपलब्ध गराउँदै आएको छ । सहकारीले सदस्यहरूको दुर्घटना बीमासमेत गरेको छ । 
पोखरा रोयल सहकारीले पेन्सनसमेत दिने गरेको छ । रोयल फाउन्डेसनमार्फत ७५ वर्ष उमेर पुगेका ज्येष्ठ सदस्यहरूलाई वार्षिक रुपमा जनही ५ हजारका दरले पेन्सन उपलध गराउँदै आएको जनाएको छ ।

हाल पोखरा रोयल साकोससँग रोयल बचत, मासिक नियमित, लाभांश, नारी, ज्येष्ठ नागरिक, छुनुमुनु, संस्थागत, भ्रमण, बीमा, रेमिट्यान्स, आवधिक र मुद्दती बचत लगायत दर्जन बढी प्रकारका बचत खाता सञ्चालनमा छन् भने साकोसले व्यापार÷व्यवसाय, घर÷जग्गा, आवास÷घर, औद्योगिक, शैक्षिक, कृषि, सवारीलगायत १० शीर्षकमा ऋण प्रवाह गर्दै आएको छ । आफ्ना सेवाहरुबारे, सदस्यहरुको कर्तव्य र अधिकारबारे अनि सहकारीबारे जानकारी गराउने उद्देश्यले यसै वर्ष पोखरा रोयल सहकारीले सदस्य हाते पुस्तिका समेत प्रकाशन गरेर उपलब्ध गराएको छ ।

सेवामुखी सहकारी 
पोखरा रोयल साकोसले सदस्यहरूलाई सहुलियत प्रदान गर्ने उद्देश्यले विभिन्न संस्थाहरूसँग सम्झौता गरी सेवा प्रदान गर्दै आइरहेको छ । बुद्धचोकमै ग्यालेक्सी हस्पिटल, आविष्कार हस्पिटल अर्थोप्लास्टी एन्ड ट्रमा सेन्टर, न्यूरोडमा युनाइटेड रिफरेन्स ल्याबोरेटरी, लाइफकेयर डाइग्नोस्टिक्स, पद्मश्री हस्पिटल एन्ड एप्लाइड साइन्सेस सेवा दिइरहेको छ । यी संस्थाहरूबाट सेवा लिँदा सहकारीका सदस्यहरूले सहुलियतसमेत पाउँछन् । यसले गर्दा सदस्यहरुलाई सहकारीमार्फत विविध लाभ उपलब्ध भइरहने र संस्थाप्रति समर्पण भाव पैदा गर्ने विश्वास साकोसले लिएको छ ।

सहकारी अवधारणामा रेस्टुराँ
पोखरा महानगरपालिका– १० को बुद्ध चोकमा साकोसकै महिला सदस्यहरुको सक्रियता र संलग्नतामा रोयल दिदीबहिनी किचन सञ्चालनमा छ । उक्त किचनमा ९९ जना महिलाको जनही २ लाख लगानी छ । सहकारीको अवधारणाबाट सञ्चालित रेस्टुराँ निजी क्षेत्रका लागि पनि अनुकरणीय छ ।

यीनै कामहरु गरेका कारण संस्थाको कारोबार मात्र होइन प्रतिष्ठा पनि बढेको आम सदस्यहरुको बुझाइ छ । संस्थाले विभिन्न समयमा उत्कृष्ट व्यवस्थापकदेखि सर्वाधिक कर तिर्नेमा समेत सम्मानित हुँदै आएको छ । गत वर्षमात्र नेफ्स्कूनद्वारा घोषणा गरिएको नेपालको साकोस अभियानको उत्कृष्ट व्यवस्थापकको पुरस्कार समेत पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङले प्राप्त गर्नुभएको थियो । 

अर्कोतर्फ, साकोसले सदस्य र कर्मचारीहरुलाई विभिन्न सम्मान तथा पुरस्कारमार्फत उत्प्रेरित गर्दै आएको छ । सदस्य, बाल बचतकर्ता, सेवा केन्द्र, बचत समूहको केन्द्रहरू र कर्मचारीलाई कारोबार तथा कार्य सम्पादनको आधारमा सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ भने प्रत्येक महिना उत्कृष्ट सदस्य घोषणा गरी सम्मान गर्दै आएको छ । यस्तै, कर्मचारीहरूमा पठन संस्कृति विकास गराउन पुस्तकालयमा अध्ययन अनुसन्धानको संस्कृति पनि संस्थाले बसालेको छ ।

सहकारी अध्ययन अवलोकनको पाठशाला
पोखरा पुग्ने जोकोही सहकारीकर्मीको पहिलो रोजाइ पोखरा रोयल साकोस बन्ने गरेको छ । यति मात्र होइन, काठमाडौं बाहिर राम्र्रोसँग चलेका सहकारीहरुको अध्ययन अवलोकन गर्ने जोकोहीको रोजाइमा पनि पोखरा रोयल साकोस अनिवार्य पर्दछ । यो साकोसले बनाएको छवि भएको संस्थाका सूचना अधिकारी मिलन ढकाल बताउनुहुन्छ । साकोसले बेलायत, मलेसिया लगायतका मुलुकमा पनि कसिलो सहकारी सम्बन्ध बिस्तार गरेको छ ।

यस्तै, काठमाडौंको चन्द्रागिरि साकोससँग भगिनी सम्बन्ध स्थापित गरेको र यसमार्फत धेरै सिकाइ अनुभव, ज्ञान र सीप आदानप्रदान भएको सूचना अधिकारी ढकालले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध विस्ताहरु अन्य सहकारीहरुका लागि पनि अनुकरणीय र उदाहरणीय बनेको छ । यस्ता सहकार्यले पोखरा रोयल सहकारीलाई देश भित्र र देश बाहिर प्रतिष्ठित बनाएको छ भने सदस्यहरुमा गौरवको अनुभूति भएको छ । यसले हामीलाई अझै बढी जिम्मेवारीबोध गराएको छ । हामी आगामी दिनमा यस्ता सम्बन्धहरुलाई मलजल गर्दै लाने छौं ।’

मिसन १०० अभियान 
‘सुखी सदस्य, दिगो सहकारी’ को परिकल्पना पुरा गर्न मिसनहरुमा आधारित सदस्यमैत्री, प्रविधिमैत्री, विश्वसनीय, सुरक्षित अनि पारदर्शी सेवालाई साकोसले जोड दिएको छ । मुलुकभरका सहकारीहरुलाई सधैं नयाँ काम गर्न उत्प्रेरित गर्ने र सहकारीको छवि सुधारमा विशेष जोड दिदैं आएको पोखरा रोयलले मिसन १०० नामक अभियान सञ्चालन गर्यो जसले सबैको ध्यानाकृष्ट पनि भयो ।
कोभिड-१९ को समयमा पोखरा रोयल साकोसले शुरु गरेको मिसन १०० अभियान साकोसको रणनीतिक मार्गचित्रको मुख्य हिस्सा नै बनेको छ । तरलता व्यवस्थापनका लागि संस्थाले मिसन १०० अभियानमार्फत बचत र तरलता वृद्धि गरेको थियो भने सुरक्षित र भरपर्दो लगानीका लागि पनि अभियान सञ्चालन गरेको थियो । यस्तै, सदस्य वृद्धि, सामाजिक उत्तरदायित्वमा प्रभावकारी भूमिका र छवि निर्माणका लागि सय दिने मिसनका विविध गतिविधिहरुले प्रतिफल दिन थालेको साकोसले जनाएको छ ।

'सिल्बर जुब्ली' इतिहास
नेपाल सरकारको उदार अर्थनीतिलाई आत्मसात गर्दै अन्तर्राष्ट्रिय सहकारी सिद्धान्त, मूल्य मान्यता र आदर्श बमोजिम स्थानीय नेपाली नागरिकहरुको आर्थिक, सामाजिक एवं सांस्कृतिक आवश्यकता परिपूर्ति गर्दै राष्ट्र निर्माणमा टेवा पुर्याउन २०५५ साल वैशाख ९ गते नेपालभर कार्यक्षेत्र रहने गरी रोयल सहकारी संस्थाको रुपमा काठमाण्डौको अनामनगरमा स्थापना भई २०५५ साल चैत्र १८ गते पोखरामा क्षेत्रीय कार्यालयको रुपमा स्थापना भएको सहकारी संस्था सञ्चालनकै क्रममा क्षेत्रीय एवं शाखा कार्यालयहरुलाई स्थानीयकरण गरी स्वायत्त संस्थाको रुपमा दर्ता गर्नुपर्ने भन्ने सरकारी नीतिका कारण तत्कालिन संस्थाको चौथो वार्षिक साधारण सभाको निर्णय बमोजिम सबै शाखा कार्यालयहरुलाई स्थानीयकरण गरी स्वायत्तता प्रदान गर्ने निर्णय भयो ।

सोही बमोजिम पोखरामा रहेको क्षेत्रीय कार्यालयलाई स्थानीय व्यक्तिहरुको सहभागितामा २८ जना सदस्य र ७ लाख पुँजी रहने गरी २०५९ साल जेठ ८ गते पोखरा रोयल सहकारी संस्था लिमिटेडको नामबाट तत्कालिन डिभिजन सहकारी कार्यालय कास्कीमा दर्ता नं. २५०–२०५८÷०५९ बाट विधिवत दर्ता गरिएको हो । संस्था सञ्चालनको क्रममा २०७६ कात्र्तिक २३ गते सम्पन्न १८ औँ वार्षिक साधारण सभा बाट पोखरा महानगरपालिका वडा नं. ३० मोहरिया कास्कीमा रहेको शिशुवा महिला बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण सभा पश्चात भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको २०७६ साल मंसिर २४ गतेको निर्णयानुसार दर्ता नं.२५०–२०५८÷०५९ बाट कास्की, स्याङ्जा, तनहुँ र लमजुङ जिल्लाभर कार्यक्षेत्र रहने गरी पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापित भएको हो ।

२०७६ कात्र्तिक २३ गते १८ औँ वार्षिक साधारण सभाबाट पोखराको शिशुवा महिला बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण पश्चात संस्थाको कार्यक्षेत्र हाल कास्की, स्याङ्जा, तनहुँ र लमजुङ जिल्लाभर रहेको छ । 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार