काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले सहकारीमार्फत देश समृद्धिको मार्गमा बढ्ने कुरामा दुईमत नभएको दाबी गर्नुभएको छ । सहकारी संस्थाहरु आम जनताको सुखदुःखको साथी बनेको भन्दै उहाँले संविधानले सरकारी, सहकारी र नीजि क्षेत्रलाई अर्थतन्त्रको तीन खम्बाको रुपमा उल्लेख गरेर सहकारी क्षेत्रको बिस्तार र प्रर्वद्धनमा जोड दिएको बताउनुभयो । यसले सहकारी क्षेत्रको चुनौती र कमीकमजोरीलाई चिर्दै संविधान र कानुन प्रदत्त अधिकारको उपयोगसहित आम जनताको जीवनस्तर उकास्ने अभियानको सारथी बन्न अभिप्रेरित गरेको उहाँले उल्लेख गर्नुभयो ।
आफू स्वयम् संस्थापक रहेको र सहकारीको क्षेत्रमा छुट्टै पहिचान कायम गरेको सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशमा पहिचान बनाएको कैलालीको धनगढीस्थित नवजीवन सहकारीले पहिलो पटक आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रमुख देवकोटाले समूहले व्यक्तिलाई उत्थान गर्नुपर्दछ र गर्न सकिन्छ भन्ने उदाहरण सहकारीले दिएको दाबी गर्दै सबै सहकारीकर्मीका लागि यो गौरवको कुरा भएको बताउनुभयो ।
सुर्केथैली, बाकस अनि पटुकीमा पोको पारेका निम्न आय समूहका पैसा जनताको बैङ्कका रुपमा सहकारीले सहकार्यमा परिचालन गरेको दाबी उहाँले प्रस्तुत गर्नुभयो । ‘त्यत्तिकै निस्क्रिय रहेको पैसा अण्डा दिने कुखुरा भएको छ, ’प्रदेश प्रमुख देवकोटाले भन्नुभयो,‘यो खुशीको कुरा हो ।’
व्यक्तिगत र पारिवारिक ढङ्गले सञ्चालन गरिएका र केही बदमास नियतकाले नेतृत्व गरेका सहकारीले यो अभियानमा हिलो छ्याप्न खोजेको उहाँले बताउनुभयो । ती सिमित उदाहरण बाँकी सहकारीको लागि सिकाइ होस् र सहकारीको मर्यादा कायम रहोस् भन्ने सबैको चाहना भएको उहाँले बताउनुभयो । ‘नकारात्मकताको बिउ रोपेर सकारात्मकता उम्रन सक्दैन, ’उहाँले भन्नुभयो, ‘त्यसैले केही छिटपुट बदनियतलाई समग्र सहकारी जगतको बदनामीमा जोड्नु घोर अन्याय हुनेछ ।’
पैतिस हजार सदस्यको आवद्धता, पाँच अर्बभन्दा बढी निक्षेप संकलन, चार अर्बभन्दा बढी कर्जा प्रवाहसहित देशका सहकारी मध्येकै एक अग्रणी र उत्कृष्ट सहकारीको रुपमा आज नवजीवन उभिएको उहाँले बताउनुभयो । नवजीवन आजको जस्तो गौरवपूर्ण अवस्थामा आउनुमा आफू लगायत केही साथीहरुको सहकार्यको परिकल्पना, होस्टेमा हैँसे गर्नेहरुको साथ र एउटा अवोध बालकको जीवनदानको घटनाको परिदृश्यसँग जोडिएको उहाँले चर्चा गर्नुभयो ।
‘२०४८ सालको कुरा हो, सडक दुर्घटनाको आलो घाउले रन्थनिएको एउटा बेसहारा बनेको बालकलाई हामी केही साथीहरु मिलेर अस्पताल र उपचारको पहलमा जुट्यौं, ’नवजीनको इतिहास स्मरण गर्दै प्रदेश प्रमुख देवकोटाले सुनाउनुभयो, ‘यो हाम्रा सहकार्यले बालक निको भए, उनका बाबु भेटिए अनि आँखाभरी आँसु झार्दै ती बाबुले आफ्नो छोरालाई नयाँ जीवन दिएकोमा धन्यवाद दिए । एकताले सकारात्मक परिणाम ल्याउन सकिन्छ भन्ने कुरामा हामीलाई थप हौसला प्राप्त भयो र हामी एउटा यस्तै संस्थाको परिकल्पनामा पुग्यौं । नयाँ जीवन प्राप्त गरेको त्यो बालकको समग्र घटनालाई प्रेरणाको रुपमा लिदै संस्थाको नाम नवजीवन राख्न पुग्यौं ।’
मानिसले सफलता देख्छन् र सफलतामा हातेमालो गर्छन् तर संघर्ष धेरैलाई थाहा नहुने भन्दै उहाँले एउटा बाँसको ‘मुना’ जमिनबाट निस्केर केही हप्तामै २०औं फिट अग्लो बाँस बन्न पुग्छ, तर त्यसको बिउ अर्थात् जरा पाँच वर्षसम्म जमिनमा माटोमुनि गडेको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, ‘त्यो पाँच वर्षको राप, ताप र प्रयत्नलाई नजरअन्दाज गरेर जमिनमाथिको हर्लक्क बढेको बाँसको मात्र चर्चा गर्नु अन्याय हुन्छ जस्तो लाग्छ । सांच्चिकै नवजीवनको यो छवि स्थापनाकालपूर्व र स्थापनासगैंका ठोस अभियानका परिणाम हुन् जस्तो लाग्छ ।’
नवजीवन सहकारी संस्थाले सुदूर पश्चिम र लुम्बिनीका लाखौं जनतामा आर्थिक क्रियाशीलता अभिवृद्धि गरी जीवनस्तर उकास्न सफल भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नवजीवन परिवर्तनको संवाहक हो र रहिरहनुपर्दछ । सहकारीको मूल्य, मान्यता र शिद्धान्तलाई सर्वोपरि राखेर अघि बढेको हुनाले नै इतिहासका कुनै कालखण्डले नवजीवनलाई बिचलित पारेको छैन ।’
सहकारीले वित्तीय साक्षरतामा अझै जोड दिएर आम समुदायलाई यो विषयसँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो । वित्तीय साक्षरतामा सहकारीले विशेष ध्यान दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो । ‘हामी सबै कुरा पढाउँछौं तर पैसाको बारे केही सिकाउँदैनौं,’ प्रदेश प्रमुख देवकाटोले भन्नुभयो, ‘चाहिने पैसा हो सबैतिर, तर त्यसैको बारेमा पढाइ छैन । विद्यालय, विश्वविद्यालयका पाठ्यक्रममा वित्त सम्बन्धी विषयवस्तु अनिवार्य समावेश गरिनुपर्दछ । आर्थिक समृद्धिका लागि सकारात्मक सोचाइले मात्र पुग्दैन नपुग्ने सकारात्मक कार्य आवश्यकपर्दछ ।'
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com