काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी ७ जेठदेखि टुँडिखेलमा ‘सिप मेला २०८२’ आयोजना गर्ने भएको छ । महानगरले यो संस्करणमा २ हजार ८२ जनालाई सहभागी गराउने लक्ष्य लिएको छ । महानगरका अनुसार गत वर्ष फारम भरेर तालिम लिन नपाएका आवेदक, महानगरमा स्थायी वा अस्थायी बसोबास गरिरहेका, बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति, विगतमा सडक व्यापार, ठेलामा व्यापार गरेका व्यक्तिलाई तालिमको प्राथमिकतामा राखिएको छ ।
विश्व मजदुर दिवस २०८२ का सन्दर्भमा सुरक्षित, व्यवस्थित र दिगो श्रम बजार विषयमा कुरा गर्दै महानगर प्रमुख बालेन्द्र (बालेन) शाहले सिपयुक्त जनशक्ति भएमात्र सुरक्षित रोजगारी हुने, उत्पादन वृद्धिमा योगदान हुने र यस चक्रबाट देशको आर्थिक समृद्धिमा योगदान पुग्ने बताउनुभएको छ ।
मेलाको पहिलो संस्करण श्रमिक दिवस २०८१ का दिनदेखि टुँडिखेलमा सुरु भएको थियो । त्यस संस्करणमा तालिमका लागि ६८ हजार ८ सय ६६ जनाले आवेदन दिएका थिए । मेलाबाट विभिन्न विधामा २ हजार ८१ युवालाई सिपमूलक तालिम प्रदान गर्ने लक्ष्य राखिएको थियो ।
त्यसमा लक्ष्यभन्दा धेरै २ हजार ५ सय ७५ जनालाई तालिम प्रदान गरिएको थियो । यसरी तालिम प्राप्त प्रशिक्षार्थी रोजगार क्षेत्रमा आबद्ध हुनुभएको, केही प्रशिक्षार्थी स्वरोजगार बनेका छन् । रोजगार र स्वरोजगारमा आबद्ध नभएका र महानगरपालिकाको सम्पर्कमा रहेका जनशक्तिलाई उद्योग तथा कम्पनीहरूसँग सहकार्य गरेर महानगरले ‘अन द जब ट्रेनिङ’ गराइरहेको छ ।
१५ हजार युवालाई सिपमूलक तालिम प्रदान गरेर कम्तीमा ५ हजार जनालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्य सहित आर्थिक वर्ष २०८०/८१ देखि महानगर गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रम कार्यान्वयनमा आएको छ । सिप नजानेकालाई सिकाउने, सिपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सिपयुक्त जनशक्ति उपलब्ध गराउने मेला आयोजनाको लक्ष्य रहेको महानगरले जनाएको छ ।
सिप नभएर अनौपचारिक क्षेत्रको अर्थतन्त्रमा बसिरहेका जनशक्तिलाई रोजगारी र उद्यमका अवसरबाट औपचारिक अर्थतन्त्रमा रूपान्तरण गराउनु मेलाको लक्ष्य छन् ।
‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनका मुख्य लक्ष्य हुन् ।
महानगरका अनुसार धुनिबेँसी नगरपालिका वडा नम्बर १, ३ र ४ तथा ककनी गाउँपालिका वडा नम्बर १, २ र ३ लाई ल्यान्डफिल साइटका प्रत्यक्ष प्रभावित वडा हुन् । यस वर्ष १० विधाका ३० पेसासँग सम्बन्धित विषयमा तालिम हुनेछन् । यी विधा र विषय छनोट उद्योग, श्रम बजार र समाजको माग अध्ययनलाई आधार बनाइएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com