काठमाडौं । कल्याणकारी बचत तथा ऋण सहकारी संस्था ललितपुरका प्रमुख कार्यकारी अधिकृत कुमार खत्रीको संयोजकत्वमा बागमती प्रदेश कोअपरेटिभ म्यानेजर्स क्लब गठन भएको छ । बागमती प्रदेश भित्र रहेका सबै प्रकृतिमा कार्यरत सहकारीका व्यवस्थापन प्रमुखहरुको मानव संशाधनको सक्षमता विकासमा जोड दिने उद्देश्यले बैशाख २६ मा एक कार्यक्रम गरी क्लब गठन गरिएको हो ।
क्लबको सदस्यहरुमा हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था दोलखाका प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेत, महिला मिलन साकोस मकवानपुरका व्यवस्थापक फुलमायाँ मोक्तान, ज्योती मिर्मिरे सामुहिक साकोस काभ्रेका प्रमुख कार्यकारी अधिकृत गोपाल दहाल, धादिङ बचत संघका प्रमुख कार्यकारी अधिकृत गोकर्ण दुवाडी, नेचुरल साकोस काठमाण्डौंका प्रबन्धक घनश्याम नेपाल र बंगलामुखी साकोस भक्तपुरका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठ रहनुभएको छ । केही दिन अघि मात्रै गठन भएको क्लबले आधिकारिकता पाउन बाँकी नै छ । यसै पृष्ठभूमिमा, क्लबको आवश्यकता, औचित्य, उद्देश्यबारे संयोजक खत्रीसँग संक्षिप्त कुराकानी गरेका छौं ।
बागमती प्रदेश कोअपरेटिभ म्यानेजर्स क्लब गठनको औचित्य के हो ?
यो नितान्त लुज फोरम हो । बागमती प्रदेश भित्र रहेका सबै प्रकृतिका सहकारीका व्यवस्थापन प्रमुखहरुको साझा फोरमको रुपमा क्लब रहनेछ । असल सिकाइ आदान प्रदान गर्ने थलोको रुपमा रहने छ । त्यस्तै सहकारी भित्रको मानव संशाधनलाई स्वस्थ, सक्षम, प्रविधिमैत्री र अनुभवहरु साटासाट गर्ने थलो बनाउने छौं ।
केही क्लबहरु दर्ताभएका छन् भने केहीको दर्ता छैन । यो प्रदेश स्तरीय क्लब भएको हुँदा रजिष्ट्रार कार्यालयले दर्ता गर्दैन । दर्ता गर्ने हुँदा जिल्ला प्रशासन कार्यालय नै हो । बागमती प्रदेश सहकारी संघले आयोजना गरेको कार्यक्रमबाट गठन त भयो अब एक पटक छलफल गरेर दर्ताको विषयमा टुंगोमा पुग्छौं । सम्भवत जिल्ला प्रशासनमै दर्ता गर्छौ होला ।
यसको परिकल्पना के हो ?
बागमती प्रदेश सहकारी संघमा आवद्ध भएका सदस्यहरुको व्यवस्थापन प्रमुखहरुलाई सदस्यता प्रदान गर्ने छौं । हरेक जिल्लामा व्यवस्थापन प्रमुख र सहायक व्यवस्थापन प्रमुखहरुको क्षमता अभिवृद्धिमा काम गर्ने छौं । बदलिदो परिवेशमा कसरी सर्भिस डेलिभरी गर्ने, ऐन कानुन, प्रविधि लगायतका कार्यक्रमहरु लिएर सदस्यहरु माझ जानेछौं ।
सहकारी ठगीका घटनाहरु बढिरहेका छन् । यस्ता घटना हुन नदिन तक्लबको भूमिका के कस्तो रहन्छ ?
पछिल्लो समय सहकारीमा दुई प्रकारको समस्या देखिएका छन् । एउटा सहकारी संस्थाबाट पिडित सदस्य र अर्को सदस्यबाट पिडित संस्थाहरु छन् । सदस्यहरुले कर्जा नतिर्ने र सञ्चालकहरु आफैले दुरुपयोग गरेको भेटियो । यस्तो अवस्थमा सहकारी संस्थालाई सुशासनमा लैजानुपर्छ, जनताको बचतलाई सुरक्षित परिचालन गर्नुपर्छ, संस्था ठूलो बनाउने भन्दा पनि स्वस्थ बनाएर जानुपर्छ, स्वस्थ संस्था बनाउने क्रममा ठूलो पनि बनाएर जाऔं, स्वस्थ र ठूलो संस्था बनाउँदै गर्दा मानव संशाधनको क्षमता पनि विकास गर्दै जाऔं । अहिलेको समस्या भने संस्थाको उचाई धरहरा जत्रो भयो अनि परिचालन गर्ने क्षमता भने जमिननै भयो । एक करोडको संस्था परिचालन गर्ने दिमागले १ अर्बको संस्था सञ्चालन गर्नको लागि क्षमता नपुको हो की भन्ने कता कता हामिलाई लागेको छ । संस्थाको आकारसँगै मानव संशाधनको क्षमता बढाउँदै जानुपर्छ ।
सहकारी क्षेत्रमा काम गर्ने कर्मचारीहरु बैंक तथा वित्तीय संस्थामा फड्को मार्ने प्रवृत्ति छ नि ?
पछिल्लो समय राम्रा व्यक्तिहरु सहकारीमा आउन चाँहदैनन् । मैले धेरै सहकारीका प्रशिक्षक कार्यक्रम तथा विभिन्न फोरमहरमा सोध्दै पनि आएको हुन्छु ‘तपाईंको बच्चाहरुलाई सहकारी क्षेत्रमा आवद्ध गराउन चाहनुहुन्छ ? उहाँहरुबाट जवाफ आउँछ ‘अह चाहँदैनौं । वा हुँदैन ।’ सहकारीका नेतृत्वका साथै सहकारी क्षेत्रकै म्यानेजरहरुले पनि त्यही भन्छन् । यसको अर्थ भनेको जसले सहकारी चलाएको उसैलाई सहकारीप्रति विश्वास छैन । मैले कस्तो संस्था चलाएको छु भनेर आफैलाई समेत विश्वास छैन ।
त्यस कारण यो क्षेत्रको भविष्य त्यति राम्रो हैन कि भन्ने छ । राम्रा राम्रा संस्थाहरुमा पनि कर्मचारीहरु अन्य क्षेत्रमा सिफ्ट हुने, विदेश पलायन हुने क्रम छ । यसको मतलब भविष्य यस क्षेत्रमा छैन भन्ने नै हो । मैले धेरै ठाउँमा देखेको छु पुरुषभन्दा बढी महिलाहरु सहकारीमा प्रवेश गरेका छन् । पहिलो कुरा राम्रा मान्छेहरु सहकारीमा आउन चाहेका छैनन् । यसको अन्य अर्थ नलागोस् एभरेजभन्दा पनि तल्लो लेबलका मान्छेहरु मात्रै सहकारीमा काम गर्न आएको हो की भन्ने देखिन्छ । कोही न कोही व्यक्तिको सिफारिसमा आउँछन् । भएका व्यक्ति टिकाउने र राम्रा मान्छेहरु आउने वातावरण बनाउने भनेकै संस्था स्वस्थ बनाउने हो । सहकारीमा भविष्य सुरक्षित छ भनेर विश्वस्त बनाउन सक्यौं भने मात्रै क्षमतावान कर्मचारी यस क्षेत्रमा हुन्छन् । नत्र भने सहकारी अहिलेको युवाहरुको अन्तिम रोजाइ हुनेछ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com