Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
खेल

चेसमा सिएमए पुरुषोत्तम  सिलवालको एकल अग्रता

चेसमा सिएमए पुरुषोत्तम  सिलवालको एकल अग्रता

काठमाडौँ। काठमाडौ  महानगरपालिका वडा नं २७ को आयोजनामा सञ्चालन भइरहेको श्रीमती मंगलादेवी सिंह स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता अन्तर्गत दोस्रो दिन पाँच चरणको खेल सम्पन्न  भएका छन्।  दोस्रो संस्करणको बुद्धिचाल स्पर्धामा काठमाडौँका युवा खेलाडी सीएम पुरुषोत्तम सिलवाल सबै प्रतिद्वन्दीलाई पराजित गर्दै पूर्ण ५ अंकका साथ एकल अग्रता हासिल गर्न सफल भएका छन्। 

गत महिना श्रीलंकामा सम्पन्न वेस्टर्न एसियन एमेच्योर चेस प्रतिस्पर्धामा नेपाललाई रजत पदक दिलाएका उदियमान खेलाडी सीएम पुरुषोत्तमले क्रमशः हार्दिक पन्त, रामकृष्ण महर्जन, महेन्द्रकुमार साम्बा हाम्फे, शैलेन्द्र न्यौपाने र सीएम नवीन तण्डुकारलाई पराजित गरेका छन्। प्रतिस्पर्धामा तीनजना खेलाडीहरूले समान ४.५ अङ्क जोडेर संयुक्त दोस्रो स्थानमा रहन सफल भएका छन्। जसमा मकवानपुरका एफएम क्षितिज भण्डारी, झापाका प्रकाशचन्द्र नेपाल र ललितपुरका सुरज महर्जनले पुरुषोत्तम लाई पछ्याइरहेका छन्। क्षितिजले पाँचौँ चरणमा प्रकाशचन्द्रसँग बराबरी खेले भने चौथो चरणको खेलमा खोटाङका धिरेन राई र तेस्रो चरणमा काठमाडौका कुशल बेलबासे माथी जित निकाले।

पाँचौँ चरण बराबरी खेलेका प्रकाशले तेस्रो र चौथो चरणमा स्याङ्जाका सुशील सुवेदी र काठमाडौका जनार्दन श्रेष्ठलाई पराजित गरेका छन्। यसैगरी ललितपुरका सुरज महर्जनले तेस्रो, चौथो र पाँचौं चरणमा क्रमशः अशोकमोहन श्रेष्ठ, सन्देश श्रेष्ठ र कमल श्रेष्ठलाई पराजित गरेका छन्। ज्याठा स्थित अन्नपूर्ण उच्च माविको सभा हलमा भइरहेको प्रतियोगितामा काठमाडौँका जनार्दन श्रेष्ठ, सीएम नवीन तण्डुकार, खोटाङका धिरेन राई, काभ्रेका राहुल चौप्रधान, दोलखाका आशिष फुयाल, झापाका राजन सुवेदी र काठमाडौँकै सीएम भगवती प्रसाद शर्माले समान ४-४ अङ्क बटुलेर संयुक्त तेस्रो स्थानमा उभिन सफल भएका छन्। त्यस्तै महिला तर्फ भर्खरै सम्पन्न भएको नेशनल जुनियर विजेता रिया श्रेष्ठले ३ अंक जोडेर अग्रता लिएका छन् । रियासँगै समान ३ अङ्क प्राप्त गर्नेमा प्रतिमा बास्कोटा, शान्ति धिमाल र ओमन नेशनल च्याम्पियन सिन्दिरा जोशी रहेकी छिन् ।

स्वीस लिग प्रणाली अनुसार नवौं चरणसम्म हुने प्रतियोगितामा विजेताले २५ हजार, उपविजेताले २० हजार र तृतीय स्थान प्राप्त गर्ने खेलाडीले १५ हजार नगद पुरस्कार हात पार्ने छन् । प्रतियोगितामा कूल नगद पुरस्कार १ लाख ४५ हजार रहेको छ।

8dfc60bc-508f-4dbb-af3e-fad968fd03ec.jpg
undefined
9be98353-d016-43c7-b164-45cf06b53566.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार