Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
सुक्खा ग्रस्त क्षेत्र घोषणा

मधेशमा सुक्खाका कारण धान रोपाइँ हुन नसकेपछि कृषि मन्त्रालयले अध्ययन टोली परिचालन गर्ने

मधेशमा सुक्खाका कारण धान रोपाइँ हुन नसकेपछि कृषि मन्त्रालयले अध्ययन टोली परिचालन गर्ने

काठमाडौँ । मधेश प्रदेशका ८ जिल्लामा सुक्खाका कारण धान रोपाइँ हुन नसकेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ती जिल्लामा अध्ययन टोली पठाउने भएको छ । हालको अवस्थामा समस्या समाधानका लागि गर्न सकिने तत्कालीन र दीर्घकालीन उपाय र विकल्प अध्ययन गर्न कृषि प्राविधिक टोली पठाउने निर्णय भएको हो ।

शुक्रबार कृषि मन्त्री रामनाथ अधिकारीले मन्त्रालय र मातहतका कर्मचारीसँग छलफल गरी तुरुन्तै ती क्षेत्रमा टोली पठाउन निर्देशन दिएका हुन् । टोली आइतबार उक्त क्षेत्र पुग्ने छ । मन्त्री अधिकारीको निर्देशन अनुसार प्रत्येक जिल्लामा केन्द्रबाट २/२ जनाको दरले टोली पठाउने निर्णय भएको हो । टोलीले मधेश प्रदेशमा रहेका मन्त्रालय अन्तर्गतका कार्यक्रम र आयोजनाका कर्मचारीसँग पनि समन्वय गर्ने छ ।

मधेश प्रदेश सरकारले लामो समय पानी नपर्दा खानेपानीको समेत अभाव भएको र धान रोप्ने अवस्था समेत नभएको भन्दै केही दिनअघि सुक्खा ग्रस्त क्षेत्र घोषणा गरेको थियो । मन्त्री अधिकारीले अबका केही दिनभित्र वर्षा नभएको अवस्थामा तीनै तहको सरकारले विकल्प खोज्नुपर्ने मन्त्रालय मातहत सबै निकायलाई त्यसतर्फ लगाउनुपर्ने बताउनुभयो ।

हाल रहेका सिँचाइ संरचना पूर्णरूपमा सञ्चालन गरी सिँचाइका लागि अन्य विकल्प के-के हुन सक्छन् भनेर सम्बन्धित निकायसँग छलफल गरी तत्कालीन र दीर्घकालीन निर्णय गरिने मन्त्री अधिकारीले जानकारी गराउनुभयो । मधेशका ८ जिल्लामा हालसम्म करिब ४६ प्रतिशत रोपाइँ सकिएको मधेश प्रदेश कृषि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार