काठमाडौं । जेनजीहरुले सेप्टेम्बर ८ मा गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा कागेश्वरी मनोहरा नगरका युवाहरुको अग्रसरतामा अहिले साँझ दीप प्रज्जलनसहित श्रद्धाञ्जली व्यक्त गरिएको छ । श्रद्धाञ्जली सभामा सहभागीहरुले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए ।
उक्त अवसरमा स्थानीय युवाहरुको अगुवाईमा नगरपालिका अगाडिको चोकको सडकमा 'जेनजी: रेष्ट इन पिस ब्रेभ सोल्स' लेखेर मैनबत्ती बालिएको थियो । उक्त संक्षिप्त सम्झना सभामा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ का वडा सदस्य सुशान्त श्रेष्ठले भ्रष्टाचार, बेरोजगारी, बेथिति विरुद्ध सुशासन, पारदर्शिता, इमानदारी, विधिको शासन, नीति निर्माण तहमा युवाको भावना प्रतिनिधित्व तथा सहभागिता जस्ता माग राख्दै प्रर्दशनमा उत्रिएका युवाहरुमाथि सरकारको अविवेकी कदमले निम्त्याएको विभत्स तथा कारुणिक अवस्था अक्षम्य भएको भन्दै मृतकहरुको चीर शान्तिको कामना गर्नुभयो । दिवगंत आत्माको चीर शाीन्तका कामनासहित उनीहरुको भावनालाई प्रतिबिम्वित हुने परिवर्तन मुलुकले साँच्चिकै खोजेको उहाँले बताउनुभयो ।

श्रेष्ठले धिप्री डटकमसँग कुरा गर्दै आफू कुनै राजनीतिक दलको मूल्य, मान्यता र सिद्धान्तप्रति आस्थावान भएपनि जेनजीहरुको आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्नुभयो । वडा सदस्य श्रेष्ठले भन्नुभयो, 'म राजनीतिक दलप्रति आस्थावान हुँ, जेनजीको उमेर समूह भर्खरै कटाएको युवा नै हुँ तर पनि युवाहरुको माग जायज छ । मलाई लाग्छ कुनै पनि राजनीतिक दलको सिद्धान्त गलत हुँदैन तर नेतृत्वले सही निर्णय र खासगरी दुरदर्शिता प्रदर्शन गर्न नसक्दा समस्याहरु आउँछन् ।' यद्यपि, जेनजीको आन्दोलनका नाममा विकसित पछिल्ला विध्वंशकारी र अराजक गतिविधिहरुप्रति भने समर्थन गर्न नसकिने श्रेष्ठले तर्क गर्नुभयो । जे जति अराजकता, नृसंश व्यवहार तथा सार्वजनकि भौतिक सम्पत्तिहरुमाथि आगजनी गर्ने तथा भत्काउने कार्य भए ती जेन्यून जेनजीको नभई त्यहाँ घुसपैठ भएको उहाँले बताउनुभयो ।
जेनजी पुस्ताको प्रदर्शनका क्रममा प्रहरीको गोली प्रहारबाट १९ जना युवाहरुको निधन भएको थियो भने थुप्रै घाइते भएका थिए । सभाले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको समेत कामना गरेको छ ।


Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com