Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नेपालले जारी गरेको उत्पतिको प्रमाणपत्रलाई भारतले मान्यता दिने

नेपालले जारी गरेको उत्पतिको प्रमाणपत्रलाई भारतले मान्यता दिने

काठमाडौं । नेपाल र भारतका भन्सार अधिकारीहरूबीच द्धिपक्षीय वैदेशिक व्यापार थप सहज एवं सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर चैत २८ गते सुरु वार्ता सम्पन्न भएको छ । 

दुवै पक्षले भन्सार प्रक्रियालाई पेपरलेस बनाउँदै व्यापार सहजीकरण गर्न, लजिस्टिक्स लागत घटाउन तथा अनधिकृत व्यापार नियन्त्रणमा सहकार्य गर्न सहमति जनाएका छन् । नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत जारी हुने उत्पतिको प्रमाणपत्रलाई भारतले मान्यता दिने सहमति भएको भन्सार विभागले जानकारी गराएको छ ।

त्यस्तै आयात–निर्यातसम्बन्धी पूर्वसूचना आदान–प्रदानका लागि समझदारी गर्ने, भन्सारसम्बन्धी आपसी सहयोगसम्बन्धी सम्झौता अगाडि बढाउने र सीमावर्ती क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार निर्माण गरी व्यापार प्रवर्धन गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन् ।

नेपाल–भारत सीमा क्षेत्रमा क्वारेन्टिन सुविधाको विस्तार गर्ने, तेस्रो मुलुकबाट भारत हुँदै नेपाल आउने–जाने रेलमार्ग व्यापारमा प्रयोग हुँदै आएको विद्युतीय कार्गो ट्र्याकिङ प्रणाली (इसिटिएस) लाई सडकमार्ग (ट्रक) मा समेत विस्तार गर्ने र लागत घटाउने सहमति भएको छ । भैरहवा र चाँदनी दोधारामा निर्माणाधीन एकीकृत जाँचचौकी (आइसिपी) हरू शीघ्र निर्माण गरी सञ्चालनमा ल्याउने तथा विराटनगरमा रेल कार्गो सेवा सञ्चालन गर्ने लगायतका विषयमा छलफल एवं सहमति भएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार