Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित  ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भई आज स्वदेश फर्किएका छन्। 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, परराष्ट्र सचिव तथा सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरेका थिए। 

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल सोमबार प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दोहा प्रस्थान गरेका थिए।

दोहामा राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघको महासभाको निर्णयअनुसार आयोजना गरिएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’को मुख्य सत्रलाई सम्बोधन गरेका थिए। साथै उनले गरिबी निवारण, उत्पादक रोजगारी र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच बैठकमा समेत मन्तव्य राखेका थिए।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गरेका थिए। साथै उनले कतार राष्ट्रिय संग्रहालयको अवलोकन समेत गरेका थिए। 

सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा पहिलो पटक आयोजित ‘सामाजिक विकासका लागि विश्व शिखर सम्मेलन’पछि दोहामा दोस्रो संस्करण सम्पन्न भएको हो। यस सम्मेलनमा विश्वभरका देशहरूले विकासको असमानता, जनसङ्ख्या असन्तुलन र प्रविधिको प्रभावका विषयमा छलफल गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार