Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

बन्द सरकारी उद्योगहरू पुनः सञ्चालनका लागि रुस सरकारको सहयोगको अपेक्षा

बन्द सरकारी उद्योगहरू पुनः सञ्चालनका लागि रुस सरकारको सहयोगको अपेक्षा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि रुसका राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभबीच मंगलबार मन्त्रालयमा भेटवार्ता भएको छ।

भेटका क्रममा नेपाल र रुसबीचको व्यापार तथा आर्थिक सम्बन्धलाई थप विस्तार गर्ने, व्यापार सहजीकरणमा सहकार्य बढाउने र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

राजदूत सुरोभ्त्सेभले नेपाल र रुसबीच व्यापार तथा आर्थिक फोरममार्फत भइरहेको सहकार्यलाई अझ प्रभावकारी बनाउने दिशामा वर्तमान नेपाल सरकारले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले दुई देशबीचको आर्थिक तथा औद्योगिक सहकार्य आगामी दिनमा अझ मजबुत हुने अपेक्षा पनि व्यक्त गर्नुभयो।

सोही अवसरमा राजदूत सुरोभ्त्सेभले रुसका आर्थिक विकास मन्त्रीको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवलाई रुस भ्रमणका लागि औपचारिक निमन्त्रणा गर्नुभयो। मन्त्री यादवले उक्त निमन्त्रणा स्वीकार गर्दै दुई देशबीचको सहकार्यलाई थप उचाइमा पुर्‍याउन भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्नुभयो।

भेटवार्ताका क्रममा मन्त्री यादवले नेपालमा हाल बन्द रहेका सरकारी उद्योगहरू पुनः सञ्चालनका लागि रुस सरकारको प्राविधिक तथा आवश्यक सहयोगको अपेक्षा रहेको बताउनुभयो। विशेषगरी हेटौंडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनका लागि सहकार्य गर्न प्रस्ताव राख्नुभयो।

मन्त्री यादवको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै राजदूत सुरोभ्त्सेभले रुस सरकारसँग आवश्यक समन्वय गरी नेपालले उठाएका प्रस्तावहरूमा सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार