Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
साकोस शिखर गोष्ठी २०८२

अहिले त 'लेनी' यति राम्री हुनुहुन्छ.....

अहिले त 'लेनी' यति राम्री हुनुहुन्छ.....

ललितपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का पूर्व अध्यक्ष ऋषिराज घिमिरेको 'सेन्स अफ ह्युमर' गजबको छ । सहकारी अभियानमा उनलाई चिन्नेजान्नेहरु उनको यो ‘पर्सोना’बाट राम्रैसँग परिचित छन् ।  ठट्टा गर्नु उनको बानी हो । उनको ठ्ट्टामा पनि सहकारीकर्मीहरु भद्रता भेट्छन् । 

वाकपटुताका धनी ऋषि एशियाली ऋण महासंघ (अकू) का पनि पूर्व अध्यक्ष हुन् । त्यसैले उनको अकूका खम्बाहरु लेनी र रञ्जितसँगको सम्बन्ध पनि सुमधुर छ । नेपालका सहकारी अभियन्ताहरुमध्ये तुलनात्मक रुपमा अंग्रेजी राम्रो भएका ऋषिमा सञ्चार सहजताको लाभ छ । त्यसैले उनी आफ्नो स्वभावजन्य ठट्यौलीको सदुपयोग गर्दै लेनी र रञ्जितसँग रसिलो सम्वादमा रहनेदखि अभियानकर्मीहरुलाई मनोरञ्जन प्रदान प्रदान गर्न मौका मिल्दा पछि हट्दैनन् ।

विशेषतः साकोस अभियानका ठूला फोरमहरुमा ऋषि आफ्नो सम्बोधनमा केही न केही प्रसङ्गहरु उप्काउँछन् र सहभागीहरुको ध्यान आकर्षित गर्छन् । त्यसले कुनै गहन विषयवस्तुको प्रस्तुति पूर्व 'एपिटाइजर' को काम पनि गर्छ । 

यस्तै एउटा 'सेन्स अफ ह्युमर'युक्त 'एपिटाइजर'  ऋषिले हिजो साकोस शिखर गोष्ठी २०८२ को पहिलो दिन पस्किए । गोष्ठी अन्तर्गत सहकारीमा नेतृत्व पुनर्जागरणको विषयको सत्रको अध्यक्षता गरेका ऋषिले कार्यपत्र प्रस्तोता अकूकी प्रमुख कार्यकारी अधिकृत ऐलिनिता भी स्यान रोके (लेनी) लाई परिचय गराउनुपर्ने थियो । उनी पोडियममा गए र भन्न थाले, ‘लेनीसँग मेरो चिनजान भएको करिब ३० वर्ष भयो । उहाँ वर्षमा दुई चोटी नभएपनि वर्षमा एक चोटी त नेपाल (नेफ्स्कूनको कार्यक्रममा) अवश्य आउनुहुन्छ ।’

त्यसपछि ऋषिले 'ह्युमर'को सहयोगले सहभागीहरुलाई आफू र कार्यक्रमको विषयवस्तुतर्फ विस्तारै प्रवेश गराए । ‘अहिले त लेनी यस्ती राम्री हुनुहुन्छ । ३० वर्षअघि उहाँ कस्तो हुनुहुन्थ्यो होला ? तीन दशकअघि उहाँ पहिलो पटक नेपालमा प्रेजेन्टेशन गर्न आउँदा पुरुष जति पढ्ने भन्दा पनि उहाँको अनुहारमा हेर्थे, म बाहेक ।’

हेरिटेज गार्डेनको सभाहल हाँसोमय भयो । ऋषिले थपे, ‘लेनीमा आज पनि उत्तिकै उर्जा छ ।’ अनि, ऋषिले कृतज्ञता भाव प्रकट गरे र भने, ‘बचत ऋण सहकारी अभियान वा क्रेडिट युनियनबारे सार्वजनिक कार्यक्रमहरुमा म जे बोल्छु त्यो बोल्न सिकेको पनि उहाँबाट नै हो । मेरो गुरु पनि लेनी नै हो । अरु कुरा त मैले के भन्नु र ? लेनी र रञ्जित नभइदिएको भए यति बोल्न पनि सकिदैनथ्यो होला ।’ हाँसो पछिको हार्दिकता थियो ऋषिको यो भनाइ ।

क्रेडिट युनियन अभियानको सुदृढीकरण र व्यावसायिकताका लागि लेनीले आफ्नो अमूल्य समय खर्चेको चर्चा ऋषिले मञ्चबाट गरे ।

सन् १९९५ देखि एशियाली ऋण महासंघमा कार्यरत लेनी सन् २०१४ देखि अकूको प्रमुख कार्यकारी अधिकृत (सिईओ) रहँदै आएको भन्दै ऋषिले भने आयरल्याण्डमा भएको विश्व ऋण परिषद् (ओकू) को कार्यक्रममा ग्लोबल वुमन लिडरशीप नेटवर्क (जीडब्लुएलएन) कोतर्फबाट ऐटेना अवार्ड प्राप्त गरेकी उनमा वित्तीय सहकारीहरुको व्यवस्थापकीय विज्ञता रहेको उनले  जानकारी गराए ।

साकोस शिखर गोष्ठीमा आज लेनीले गर्ने लिडरशीप सम्बन्धी प्रेजेन्टेशन (यो सम्बोधनका क्रममा लेनीको प्रेजेन्टेशन बाँकी नै रहेकाले) सशक्त भएको पूर्व जानकारी पनि ऋषिले सहभागीहरुलाई गराए ।

प्रत्येक पल्ट लेनी नेपाल आउँदा ऋषिको भेट नभएको सम्भवतः छैन नै । लामो चिनजान र नेपाली सहकारी अभियान बुझेकी लेनी पनि ऋषिको व्यक्तित्वबाट प्रभावित रहँदै आएको अनौपचारिक कुराकानीमा बताउने गर्छिन् । सोही कारण साकोस अभियानका नेपाली चेला ऋषि र क्रेडिट युनियन अभियनकी विदेशी गुरु लेनीको यो हार्दिकता अरु अभियानकर्मीका लागि पनि प्रेरणा बन्दै आएको छ ।

598259523_1447889160671285_5236307051060678498_n.jpg

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार