Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
टिप्पणी

२०/२२ वर्ष उमेरका नेफ्स्कून अध्यक्ष !

२०/२२ वर्ष उमेरका नेफ्स्कून अध्यक्ष !

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालको तारिफ गरेर अघाएनन्-सहकारी मन्त्रालयका सहसचिव मदन कोइराला । त्यसो त पछिल्लो समयमा सहकारी अभियानको केन्द्रमा रहेका नेफ्स्कून अध्यक्ष ढकालको ‘सफ्ट पावर डिप्लोमेसी’ को चर्चा सहकारी अभियानमा बढी नै हुने गरेको छ । सबैलाई मिलाउन सक्ने, सांगठनिक चातुर्य र शैलीमा सौम्यताले ढकाल अभियानको हितका लागि काम फत्ते गराउन धेरै हदसम्म सफल देखिएका छन् पनि ।

आज स्थिरीकरण कोषको चौथो वार्षिक परामर्श बैठकमा सहभागी मन्त्रालयका सहसचिव कोइरालाले भने,‘मैले  अध्यक्षज्यूको उमेर त सोधेको छैन तर उहाँको एक्टिभनेश हेर्दा २०/२२ वर्षको जस्तो लाग्छ । काम गर्ने सक्रियता र तौरतरिका अनि उर्जा ।’

कोइरालाले भने, ‘म अध्यक्षज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । उहाँ यति सक्रिय हुनुहुन्छ, एउटा सानो कुरा केही भयो वा मन्त्रालयबाट केही हुँदैछ भनेर हामीले भन्दा नभन्दै पनि कहींकतैबाट थाहा पाउनुभयो भने पनि उहाँले मन्त्रीज्यू, सचिवज्यू वा हामीसँगै समय लिएर पनि ल यसो गर्नुपर्छ सर भनेर सुझाव दिन आउनुहुन्छ । उहाँको सक्रियता वास्तवमै प्रशंसनीय छ ।’

उनले नेफ्स्कून अध्यक्षलाई सक्रियताको लागि धन्यवाद दिदै सहकारी अभियानलाई सफल बनाउनुहोस् भनी शुभेच्छा समेत व्यक्त गरे । मन्त्रालयबाट सरुवा भएर जान लागेका कोइरालाले केवल भन्नकै लागि मात्र हार्दिकताका शब्दहरु सार्वजनिक फोरमबाट अभिव्यक्त गरेको होइन भन्ने स्पष्ट आभाष हुन्थ्यो । उनले भने, ‘स्थिरीकरण कोषलाई पनि राम्रो बनाउनुहोस् । अभियानलाई सफल बनाउनुहोस् । मन्त्रालयले के सपोर्ट गर्नुपर्ने हो सधैं तयार रहन्छ ।’

नेफ्स्कून नेतृत्वको २ वर्षे कार्यकाल पूरा गरेका ढकालले यो बीच ‘लिड’ गरेका केही बहसपैरवीको फल लाग्न शुरु भएको पनि छ । खासगरी राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकमा नेतृत्वको भूमिका छायामा परेको अवस्थामा नेफ्स्कून अध्यक्ष ढकाल अभियानको लिडरको रुपमा सक्रिय छन् । 

बचत ऋण सहकारी अभियानको नेतृत्वदायी संघ नेफ्स्कूनका अध्यक्ष ढकालले पछिल्लो समय तालुकदार मन्त्रालयदेखि सहकारी विभाग, राष्ट्रिय सहकारी नियमन प्राधिकरणदेखि अभियानकर्मी र सरोकारवालाहरुसँग विकास गरेको सम्बन्ध, प्रदर्शन गरेको सक्रियता, खटाइ र त्यसले देखाएका संकेतहरुबाट खुसी नै देखिन्छन् ।

कोइरालाले भने, ‘ कर्जा सूचना केन्द्रमा सहकारीहरु आवद्धताको तयारी अन्तिम चरणमा पुगेको छ । यसमा नेफ्स्कून अध्यक्षको भूमिका पनि महत्वपूर्ण छ । र प्राधिकरण पनि लागेको छ ।’

करिब एक वर्षअघि आफू मन्त्रालयमा सरुवा भएपछि स्थिरीकरण कोषको कार्यविधि संशोधन गरिएको भन्दै उक्त संशोधनका लागि नेफ्स्कून अध्यक्ष ढकालले लिएको अग्रसरता र देखाएको तत्परताको समेत कोइरालाले मञ्चबाटै प्रशंसा गरे । यस्तै, बचत तथा ऋण सहकारीका लागि छुट्टै ऐन आवश्यक भएकाले त्यसका लागि नेफ्स्कून नेतृत्वबाट लिइएको अग्रसरताको पनि उनले कुरा आज उठाए । 

त्यसो त, नियामकीय नेतृत्वहरु परिवर्तन हुने बित्तिकै सबैभन्दा पहिला भेटेर शुभकामना दिनेदेखि साकोस अभियानका मुद्दाहरुलाई परिचित गराउन ढकाल कुनै कसर बाँकी राख्दैनन् । नेफ्स्कूनका फोरमहरुमा सबैलाई मिलाएर स्पेस उपलब्ध गराउँछन् । मन्त्रालयदेखि विभाग, प्राधिकरण आदि सम्मका अधिकारीहरुलाई उपयुक्त स्पेस उपलब्ध गराउन पनि ढकालले भरमग्दूर प्रयास गरेका छन् । कतिले ढकाललाई ‘कोअपरेटिभ डिप्लोम्याट’ को समेत संज्ञा दिन्छन् ।

ढकालको खटाइको नेफ्स्कूनका कर्मचारीहरु समेत प्रशंसा गर्छन् । हिजो उनीमाथि खोट देखाउनेहरु पनि यो दुई वर्षमा ढकालको सक्रियता स्तुत्य रहेको अनौपचारिक कुराकानीमा बताउँछन् । भन्छन्, ‘चन्द्र ढकाल खट्न चाहिं सक्ने अभियन्ता हुन् । खाना पनि केही खाँदैनन् । खाली फलफुलको भरमा कुदेका छन् कुदेका छन् ।’

फेरि वित्तीय अनुशासनको पाटोमा पनि उनी हालसम्म ‘क्लिन’ देखिएको अभियानकर्मीहरु बताउँछन् । उनको सामाजिक सञ्जालमा सक्रियता पनि बाक्लै छ । आफ्ना कुराहरु राख्छन्, सञ्चारमाध्यमहरुमा छाउँछन् र भिजिबिलीटी बढाउँछन् पनि । यही रणनीति उनको निर्वाचनताका पनि देखिन्थ्यो । 

भर्खरै ३४औं वार्षिक साधारणसभा र साकोस शिखर गोष्ठी २०८२ सफलतापूर्वक (नेफ्स्कून बरिष्ठ उपाध्यक्षदेखि अधिकांश सञ्चालकहरु तथा केही सहभागीहरुको धारणाका आधारमा) सम्पन्न गरेका नेफ्स्कून अध्यक्षको बाँकी कार्यकालमा साकोस अभियानका अन्य थुप्रै इस्यूहरुले समाधानको मार्ग पहिल्याउन । धिप्री डटकमको तर्फबाट उनलाई यही शुभकामना । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार