काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले धितो सुरक्षणालाई ऋण लगानीको मुख्य आधार बनाउँदा सहकारीहरुको रिकभरीमा समस्या आएको बताएका छन् । ऋण लगानी उठाउन नसक्दा सहकारीमा बचत फिर्तामा समस्या आएको भन्दै संस्थाको कारोबार र प्रवृत्तिको संवेदनशीलता समयमै बुझ्न उनले सहकारीकर्मीहरुलाई आग्रह गरे ।
देशभरका बचत तथा ऋण सहकारीका सञ्चालक समिति तथा व्यवस्थापनका उच्च अधिकारीहरु सहभागी साकोस शिखर गोष्ठी २०८२ को दोस्रो दिन पुस ४ गते उनले भने ‘हामीले धितो हेरेर ऋण लगानी गर्यौं । हामी बैंकरहरुले पनि बिगारेको यही हो र त्यसो नगर्न म सहकारीका साथीहरुलाई पनि आग्रह गर्छु । अहिले सहकारीमा पनि त्यहीं हो, धितो ठीक छ, मान्छे ठीक छ भने ल आइज आइज भन्ने अनि दिइहाल्ने परिपाटी छ । पैसा न मान्छेले तिर्छ न धितोले तिर्छ, पैसा क्यासफ्लो ले तिर्छ । व्यक्तिको आम्दानी कस्तो छ, नगदप्रवाहको स्थिति कस्तो छ त्यसले ऋण उठ्छ उठ्दैन भन्ने निर्धारण गर्छ । धितो त लास्ट रिजोर्ट वा लास्ट स्ट्र मात्र हो ।’
उनले जो ऋणीको क्यासफ्लो जेनेरेट भैरहेको छ, उसले समयमै किस्ता तिर्ने भन्दै त्यस्तो व्यक्ति जे जस्तो प्रकृतिको भएपनि र उसको धितो नभएपछि ऋण तिर्ने बताए । ‘तर, जसको क्यासफ्लो हुँदैन, ’बोल्न सिपालु ज्ञवालीले बुझाउन खोजे, ‘त्यो व्यक्ति लकमा पर्छ, आपतमा पर्छ । हामीले धेरै ठाउँमा देखेका छौं, जग्गाको पनि मुल्य तलमाथि हुनसक्छ । कतिपय ठाउँमा त रियलस्टेटको मुल्य ५० प्रतिशतको हाराहारीमा घटेको छ ।’
ज्ञवालीले वास्तविकता उजागर गरे, ‘अब तपाईंहरुले धितोमा जतिमा ऋण लगानी गर्नुभएको छ, त्यो बेच्दा त्यसको आधा पनि असुल नहुने अवस्था छ । त्यो पनि बिक्दैन फेरि । यसरी पोर लोन रिकभरी भएको छ हामीकहाँ र यो समस्या सहकारीहरुमा धेरै छ । यसमा ख्याल गर्नैपर्ने हुन्छ ।’
उनले भने, ‘त्यसैले तपाईंहरुले आजको दिनमा जुन ऋण लगानी गर्नुहुन्छ, त्यो भोलि असुल हुन्छ भन्ने कुरा आजको डेटमा चाहिं विश्वास हुनुपर्यो, भोलिको ठेगान छैन । भोलि मान्छेकै त ठेगान छैन, लोन आउला नआउला तर लोन दिदांका बखत चाहिं यो लोन समयमै रिकभर हुन्छ भन्ने विश्वास हुनुपर्यो ।’
सहकारीहरुको कारोबारको संवेदनशीलता सहकारीकर्मीहरुलाई नै बैंकरका नाताले उनी सम्झाउँदै थिए । उनले भने, ‘दुई चार वटा खराब न्यूजले सहकारीलाई समस्यामा पार्छ । एक पटक सदस्यलाई पैसा फिर्ता दिन सकेन भने हल्ला चलोस् न, अनि त्यसपछि त कहानी शुरु भैहाल्छ । त्यसो भयो भने तासको घर जस्तो हुन्छ हाम्रो सहकारी संस्था । हामी यति संवेदनशील संस्था हौं नि । केही गर्नै पर्दैन दुई चार वटा खराब न्यूजले हामीलाई सोत्तर पार्छ ।’
सोही कारण उनले संस्थाको कारोबार र प्रकृतिको संवेदनशीलतालाई ध्यानमा राखेर त्यस्तो अवस्था सृजना हुन नदिने गरी काम गर्न आग्रह गरे । उनले भने, ‘त्यसकारण लिक्विडिटी मिसम्याच हेर्नुपर्यो अनि पोर लोन रिकभरी हेनुपर्यो । कतै हामी लिक्विडिटी लकमा त छैनौं वा पर्दैनौं त्यो पनि विचार गनुपर्छ ।’
आजको मितिमा सहकारीको एउटा ठूलो समस्या भनेको गभर्नेन्सका कारणले ऋण लगानी र त्यसको रिकभरी भएको ज्ञवालीको ठहर थियो । ‘आजका मितिमा सहकारीहरुमा यो ठूलो समस्या हो, ’सिईओ ज्ञवालीले भने, ‘तपाईं हामीले देख्यौं नि त कस्ता कस्ता मान्छेहरु सहकारीमा इन्भल्भ भएका रहेछन्, कस्ता कस्ता मान्छेले सहकारीबाट बद्माशी गरेका रहेछन्, ती फटाहा, बद्माशहरुले गर्दा हामी सारा सहकारीकर्मीहरुलाई शिर उठाएर हिड्न र काम गर्न गाह्रो बनाइदिए, हामी कति नियत सफा भएर काम गरिरहेका मान्छेको पनि मन खिन्न भएको छ । दुई चारजना फटाहाहरु एक ठाउँमा जम्मा हुँदा पनि त्यसले इम्प्याक्टको फरक पार्दछ ।’
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com