Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

प्रधानमन्त्रीद्वारा सुरक्षा व्यवस्था चुस्त बनाउन र निर्वाचनको तयारीमा पूर्ण रूपमा लाग्न निर्देशन

प्रधानमन्त्रीद्वारा सुरक्षा व्यवस्था चुस्त बनाउन र निर्वाचनको तयारीमा पूर्ण रूपमा लाग्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे शुक्रबार जानकारी लिनुभएको छ । पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहपछि उहाँ यहाँ आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा बैठकमा सहभागी हुनुभएको हो ।

प्रधानमन्त्री कार्कीले गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे, प्रदेशका सुरक्षा निकायका प्रमुख, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रदेश निर्वाचन अधिकारी नारायण ढकाल र मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासे लगायतसँग निर्वाचन तयारीबारे जानकारी लिनुभएको हो ।

निर्वाचनको तयारीबारे जानकारी लिएपछि प्रधानमन्त्री कार्कीले सुरक्षा व्यवस्था चुस्त बनाउन र निर्वाचनको तयारीमा पूर्ण रूपमा लाग्न सबै निकायलाई निर्देशन दिनुभएको प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले जानकारी दिनुभयो । प्रधानमन्त्रीलाई गण्डकी प्रदेशमा भएको चुनावी तयारीबारे अवगत गराउने र उहाँको निर्देशन लिने काम भएको प्रमुख सचिव घिमिरेले बताउनुभयो ।

“प्रदेशमा निर्वाचनलाई मध्यनजर गर्दै के कस्ता काम भए र के के बाँकी छन् भन्नेबारे जानकारी गरायौँ,” घिमिरेले भन्नुभयो, “उहाँले व्यवस्थित र चुस्त तवरले चुनावी तयारीमा लाग्न निर्देशन दिनुभएको छ ।” प्रधानमन्त्री कार्की शुक्रबार दिउँसो नै नेपाली सेनाको हेलिकोप्टरमार्फत लुम्बिनी प्रस्थान गर्नुभएको छ ।

गण्डकी प्रदेशमा कुल १८ लाख ४४ हजार ३५५ मतदाता रहेका छन्। १८ निर्वाचन क्षेत्रमा ३१४ उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमध्ये २९ जना महिला उम्मेदवार रहेका छन् । प्रदेशभर १,२६९ मतदान स्थल तोकिएका छन् ।
हाल मौसम अनुकूल रहेको र मौसमविद्हरूले प्रतिकूलताको पूर्वानुमान नगरेकाले तोकिएको मिति फागुन २१ गते एकै दिन निर्वाचन सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।
प्रधानमन्त्री कार्कीले हालसम्मको तयारीलाई सन्तोषजनक र उत्साहप्रद भन्दै सम्बन्धित अधिकारीहरूलाई धन्यवाद दिनुभयो । उहाँले निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र विवादमुक्त रूपमा सम्पन्न गराउन फिल्डमा खटिएका कर्मचारी तथा सुरक्षा निकायको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । राष्ट्रलाई निकास दिने माध्यमका रूपमा यस निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा लिएर सबैले मिलेर दायित्व पूरा गर्नुपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार