भक्तपुर, २८ वैशाख । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको नेतृत्वमा भएको अन्तर–जिल्ला अध्ययन अवलोकन भ्रमणले हालै जारी “सहकारी अध्यादेश २०८३“ प्रति कडा आपत्ति जनाउँदै यसको तत्काल संशोधनका लागि साझा धारणा बनाउने निर्णय गरेको छ । धादिङ, नुवाकोट र रसुवाका जिल्ला बचत संघहरूसँगको छलफलपछि सहकारीकर्मीहरूले सरकारले संघहरूको कारोबार रोक्का गरेर सहकारी अभियानलाई नै संकटमा पारेको निष्कर्ष निकालेका छन् ।
भक्तपुर बचत संघका अध्यक्ष हरिकृष्ण बल्लले सहकारी संघहरूबीच सिक्ने, सिकाउने र समसामयिक विषयमा साझा धारणा बनाई सरकारलाई दबाब (लबिङ) दिने उद्देश्यले यो भ्रमण आयोजना गरिएको बताउनुभयो । उहाँले सहकारी ऐन २०४८ देखि पाएको अधिकार प्रयोग गरी अर्बौंको कारोबार गरिरहेका संघहरूलाई एक्कासी रोक्नु गलत भएको उल्लेख गर्नुभयो । “समस्याको समाधान संस्था बन्द वा कारोबार रोक्का होइन, प्रभावकारी व्यवस्थापन हो,“ अध्यक्ष बल्लले भन्नुभयो ।
धादिङ बचत संघका अध्यक्ष सीता दुवाडीले अध्यादेशले प्रारम्भिक संस्थाहरूको संघमा कारोबार गर्ने अधिकार हनन गरेको र उनीहरूलाई बैंक तथा वित्तीय संस्थाप्रति परनिर्भर बनाएको बताउनुभयो । नुवाकोट बचत संघका अध्यक्ष नारायण श्रेष्ठले संघहरूको कारोबार रोकिँदा सदस्यहरूको बचत फिर्तामा थप जटिलता आउने र अन्ततः जनताको पैसा जोखिममा पर्ने बताउनु भयो । रसुवा बचत संघका अध्यक्ष ओम प्रसाद आचार्यले कारोबार रोक्का भएपछि ऋण तिर्नु नपर्ने मानसिकता विकास भई सहकारी अभियान नै संकटमा पर्ने भएकाले अध्यादेश तत्काल संशोधन हुनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर बचत संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले संघले सदस्य संस्थाहरूलाई दिँदै आएको सेवा र असल अभ्यासबारे प्रस्तुतीकरण गर्नुभएको थियो । भ्रमण टोलीले ती जिल्लाहरूका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरहरूको समेत अवलोकन गरेको थियो ।
२०८३ वैशाख २६ र २७ गते भएको यस भ्रमणमा भक्तपुर बचत संघका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र कर्मचारी गरी जम्मा २९ जनाको सहभागिता रहेको थियो । यो भ्रमणले संघहरूबीच एकता, सहकार्य र साझा बुझाइ कायम गर्दै अध्यादेश संशोधनका लागि बलियो जनमत सिर्जना गरेको सहभागीहरूको ठहर छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com