Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार प्रतिबद्ध: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार प्रतिबद्ध: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी 'ग्रे लिस्ट' बाट बाहिर निकाल्न सरकारले सबै सम्भव उपाय अवलम्बन गर्ने बताउनुभएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा अर्थ मन्त्रालयमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लन्डरिङ (एपीजी) अन्तर्गतकोइन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आईसीआरजी) कार्ययोजनासम्बन्धी छलफलमा उहाँले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

एपीजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डा. वाग्लेले सम्पूर्ण सामर्थ्य प्रयोग गरेर नेपाललाई ग्रे लिस्टबाट मुक्त गरिने बताउनुभयो । नयाँ सरकार गठनपछि सुशासनका क्षेत्रमा भएका काम जनताले प्रत्यक्ष अनुभूति गर्न थालेको उहाँको भनाइ थियो । 

अर्थमन्त्री डा. वाग्लेले ग्रे लिस्टबाट बाहिरिन तत्काल र नियमित रूपमा गर्नुपर्ने कामहरू सम्बन्धित सरकारी निकायहरूले अघि बढाइरहेको तथा त्यसको निरन्तर मूल्यांकन भइरहेको बताउनुभयो ।

पछिल्लो समीक्षा अवधिको तुलनामा ग्रे लिस्टसम्बन्धी सूचकमा नेपालको अवस्थामा सुधार आएको उहाँको दाबी थियो । कार्यक्रममा एपीजीका उपकार्यकारी सचिव डेभिड स्यान्ननले नेपालले ग्रे लिस्टबाट बाहिरिन अझै पर्याप्त काम गर्न बाँकी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार