Sep 18 2026 | २०८३, असोज २ गते

Sep 18 2026 | २०८३, असोज २ गते

Follow us

कागेश्वरी मनोहरा नगरपालिका र टेक्सपायर कलेजबीच ‘कम्युनिटी टेक मेन्टरसिप प्रोग्राम’ सञ्चालनका लागि समझदारी

कागेश्वरी मनोहरा नगरपालिका र टेक्सपायर कलेजबीच ‘कम्युनिटी टेक मेन्टरसिप प्रोग्राम’ सञ्चालनका लागि समझदारी

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका र टेक्सपायर कलेजबीच समुदायमा डिजिटल साक्षरता तथा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यका साथ ‘कम्युनिटी टेक मेन्टरसिप प्रोग्राम’ सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त कार्यक्रमले स्थानीय तह, शैक्षिक संस्था र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै डिजिटल रूपान्तरणको आधार तयार पार्ने लक्ष्य राखेको छ ।

सम्झौताअनुसार विद्यार्थी तथा स्थानीय समुदायलाई डिजिटल सीप, कोडिङ, सूचना प्रविधि, नवप्रवर्तन र उद्यमशीलतासम्बन्धी तालिम तथा व्यावहारिक सिकाइ उपलब्ध गराइनेछ। कार्यक्रममार्फत समुदायमा प्रविधिमैत्री वातावरण निर्माण गर्नुका साथै युवाहरूको सीप विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

नगरपालिकाले सूचना प्रविधिलाई प्राथमिकतामा राख्दै कागेश्वरी मनोहरालाई ‘आइटी हब’का रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। नगर प्रमुख उपेन्द्र कार्कीले टेक्सपायर कलेजसँगको सहकार्य उक्त लक्ष्य प्राप्तितर्फको महत्त्वपूर्ण पहल भएको बताउनुभयो ।

उहाँले सम्झौतापछि प्रविधिको पहुँच समुदायसम्म विस्तार गर्दै विद्यार्थी र स्थानीय युवालाई डिजिटल सीप तथा नवप्रवर्तनसँग जोड्न कार्यक्रमले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । ज्ञानमा आधारित र प्रविधिमैत्री नगर निर्माणका लागि यस्ता सहकार्य आवश्यक रहेको नगरप्रमुख कार्कीको भनाइ थियो ।

टेक्सपायर कलेजका प्रतिनिधिहरूले पनि नगरपालिकासँगको सहकार्यले प्रविधिमैत्री शिक्षाको विस्तार, दक्ष जनशक्ति उत्पादन र स्थानीय स्तरमा नवप्रवर्तनको संस्कृति विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार