Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us
मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना-२०८२

मनसुन अवधिमा उच्च सतर्कता अपनाउन निर्देशन

मनसुन अवधिमा उच्च सतर्कता अपनाउन निर्देशन

काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२औँ बैठक आज कार्यकारी समितिका अध्यक्ष एवं गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले आगामी मनसुन अवधिमा सम्भावित विपद्‌को पूर्व तयारी तथा प्रतिकार्यका लागि समन्वित कार्य योजना पारित गर्दै उच्च सतर्कता अपनाउन सम्बद्ध निकायलाई निर्देशन दिएको छ।

बैठकमा मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना-२०८२ पारित गरिएको छ। कार्य योजनामा यस वर्षको मनसुनमा सम्भावित विपद्‌बाट देशभर करिब ४ लाख ५७ हजार १ सय ४५ घरधुरीका १९ लाख ९७ हजार ७ सय ३१ जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ।

उक्त कार्य योजना राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा विभिन्न सरोकारवाला मन्त्रालय तथा विभागका प्रतिनिधिहरूको सहभागितामा तयार पारिएको हो। कार्य योजनामा सम्बन्धित निकायको जिम्मेवारी, विषयगत क्षेत्रको समन्वय, प्रतिकार्य सामग्रीको मौज्दात, दक्ष जनशक्तिको विवरण र आवश्यक सम्पर्क व्यक्तिको जानकारी समेटिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ। मनसुनजन्य बाढी, पहिरो, डुबान, चट्याङ लगायतका घटनाबाट ठुलो जनधनको क्षति हुनसक्ने पूर्वानुमान गरिएकाले समयमै पूर्व तयारीका कार्यलाई तीव्रता दिइनुपर्ने बैठकको निष्कर्ष छ।

गृहमन्त्री लेखकले बैठकमा बोल्दै विपद् व्यवस्थापनमा पूर्व तयारी, सूचना प्रवाह, राहत तथा उद्धार संयन्त्रको प्रभावकारिता, र सबै तहमा समन्वय र स्पष्ट जिम्मेवारी निर्धारण अत्यावश्यक रहेको बताउनुभयो । उहाँले सम्भावित जोखिम न्यूनीकरणका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन निर्देशनसमेत दिनुभयो ।

बैठकमा सरोकारवाला मन्त्रालय, विभाग तथा निकायले आ-आफ्नो पूर्व तयारी अवस्था, कार्य योजना र स्रोत साधनको उपलब्धता विवरणसहित प्रस्तुत गरेका थिए। बैठकले मनसुन अवधिमा आवश्यक सतर्कता, विपद्‌पछिको द्रुत प्रतिकार्य र दीर्घकालीन व्यवस्थापनका पक्षमा एकीकृत र समन्वित प्रयास गर्न सबै पक्षलाई आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार