कागेश्वरी मनोहरा, काठमाडौं । ‘बालश्रम मुक्त कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ लाई हार्दिक बधाई दिन चाहन्छु । साथै बालश्रम मुक्त वडाको आजको यो घोषणा साँचो अर्थमा लागू होस्, कागजमा मात्र नहोस् । अबदेखि कोही पनि बालबालिका श्रमिक हुन नपरोस् । कुनै पनि बालबालिकाको भविष्य अन्धकारमय नहोस् भन्ने चाहना व्यक्त गर्दछु । बालश्रमबाट मुक्त बनाउन मात्र होइन, हाम्रो भविष्य निर्माणका लागि पनि साथ दिनुहोस् ।’
कागेश्वरी मनोहरा नगरपालिकाले आज जुन १२ अर्थात् बालश्रम विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर वडा नं ५ लाई बालश्रम मुक्त वडा घोषणा गर्न बिहान आयोजना गरेको कार्यक्रममा पूर्व बालश्रमिक १५ वर्षीय सुवाष वाइवाले भन्नुभयो ।
उहाँले त्यसो भनिरहँदा मञ्चमा नगरपालिकाकी उप्रमुख शान्ता थापासँगै बालश्रम मुक्त घोषित वडा नं ५ का वडाध्यक्ष शंकर पाण्डे लगायत नगरका सबै वडाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका जिम्मेवार व्यक्तिहरु तथा सरोकारवालाहरुको उपस्थिति थियो । साथमा थिए, स्थानिय विद्यायका थुप्रै बालबालिकाहरु ।
सुवाषले आफ्नो लिखित मन्तव्यमा थप्नुभयो, ‘हामी किताब र खेलौनासँग रमाउनुपर्ने उमेरमा यदि भारी बोकेर हिड्नुपर्यो भने त्यो हामीमाथिको अन्याय हो । बालश्रमले हामीजस्ता बालबालिकाको शारिरिक, मानसिक र बौद्धिक विकासमा नकारात्मक असर पुर्याउँदछ । बालश्रमको मुख्य कारण गरिबी, अशिक्षा, बेरोजगारी आदि हुन् ।’
अनि, उहाँले आफू जस्तै बालश्रमबाट उद्दार भई बालगृहमा आश्रित बालबालिकाहरुको तर्फबाट आवाज उठाउँदै भन्नुभयो, ‘बालबालिकाको हातमा औजार होइन, किताब नै सुहाउँछ अनि बालबालिकालाई कारखाना होइन विद्यालय नै प्यारो लाग्छ । सबै बालबालिकाले शिक्षा, माया, सुरक्षा र आशाको अनुभव गर्न पाउनुपर्दछ । बालश्रम मुक्त भएर हामीले फेरि सपना देख्न थालेका छौं, विद्यालय जान पाएका छौं, खेल्न रमाउन साथी बनाउन पाएका छौं, अनि सबैभन्दा ठूलो कुरा सम्मानपूर्वक बाँचेका छौं । हामीले हेपिने होइन हौसला दिने समाज बनाइदिनुस् ।’
त्यस्तै, कार्यक्रममा स्थानीय कान्तिभैरव माध्यमिक विद्यालयकी कक्षा १० की छात्रा सजना ढकालले पनि भन्नुभयो, ‘पढ्ने उमेरमा हामीले पढ्न पाउनुपर्छ । काम होइन, कलम समाउनु पर्छ । आउनुहोस्, हामी सबै मिलेर हाम्रा साथीहरुलाई स्कूल फर्काउने काम गरौं । बालश्रम अन्त्य गरौं । बालअधिकारको सम्मान गरौं ।’
आफूले बाल श्रम गर्नुपर्ने अवस्था नभएको र विद्यालय जान पाएको भएपनि विभिन्न कारणले बालश्रम गर्न बाध्यहरुको लागि मुलपानी बस्ने सजनाले आवाज उठाउनुभयो, ‘अझै पनि हाम्रो समाजमा धेरै दाजुभाइ तथा दिदीबहिनी बालश्रममा लाग्न बाध्य छन् । उनीहरु स्कूल जान पाउँदैनन् । बालापनको रमाइलो लिन पाउँदैनन् । यो निक्कै दुःखद कुरा हो ।’
र, बालश्रम मुक्त वडा घोषणा भएको वडा नं ५ का लागि ढाडस पनि दिइन्, ‘आज हामीले हाम्रो वडा बालश्रम मुक्त वडा घोषणा गर्यौं । यो केवल घोषणा होइन, यो परिवर्तनको संकल्प हो ।’
सुवाष र सजनाले आज आफूहरु जस्तै उमेर समूहका तर बालश्रम खेप्न बाध्य देशभरकै हजारौं बालबालिकाको दबिएको अनि दबाइएको आवाजको प्रतिनिधित्व गर्नुभयो । उहाँहरुले कागेश्वरी मनोहरा नगरपालिका र त्यसम पनि विशेषतः वडा नं ५ लाई बालश्रम मुक्त वडा घोषित भएकोमा धन्यवाद दिनुभयो, घोषणालाई निरन्तरता दिन सचेत तुल्याउनुभयो, कागजमा मात्र होइन व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो अनि अन्य वडा र नगरहरुलाई पनि क्रमशः यो अभियानमा साथ दिई मुलुकलाई नै बालश्रम मुक्त बनाउने अभियानमा ऐक्यबद्ध भएर लाग्न प्रेरित पनि गर्नुभयो ।
आजको कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख थापालगायत सबै वक्ताहरुले कागेश्वरी मनोहरालाई बालश्रमिक मुक्त नगर बनाउने संकल्प प्रस्तुत गर्दै त्यसमा सबै सरोकारवाला सबैको साथ, सहयोग र समन्वयको आग्रह गर्नुभयो ।

कार्यक्रममा उपप्रमुख थापाले वडा नं ५ का वडाध्यक्ष शंकर पाण्डेलाई बालश्रम मुक्त वडा घोषित भएकोमा सम्मानस्वरुप प्रमाणपत्र प्रदान गर्नुभएको थियो । उक्त सम्मानपत्र वडा नं ५ का वडा सदस्य सुशान्त श्रेष्ठले वाचन गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालक (एमसी) वडा नं ५ का वडा सदस्य श्रेष्ठले सुवाष वाइवाले भनेको कुरा मनन गर्दै बालश्रम मुक्त वडाको घोषणा केवल कागज र बोलीमा मात्रै सीमित नराखी अक्षरशः व्यावहारिक परिणति दिने विषयमा प्रतिबद्धतासहित सबैको साथ सहयोगको अपेक्षा गर्नुभयो ।
सुवाषको स्टोरी
सिन्धुली घर भएका सुवाषलाई करिब २ वर्षअघि इस्थर बेञ्जामिन स्मृति संस्थाले उद्दार गरेको थियो । हाल उनी उक्त संस्था (२०६३ सालमा स्थापित) कै संरक्षणमा ललितपुर, धापाखेलस्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन् । बाल उद्घार नेपाल (चाइल्ड रेस्क्यू नेपाल) नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा सञ्चालित उत्तः बालगृहमा उनीजस्तै अन्य २१ जना (१० देखि १६ वर्ष उमेरका) ले आश्रय मात्र पाएका छैनन् भविष्य निर्माणको रेखा पनि कोर्दैछन् । भविष्यमा नेपाली सेनामा काम गर्ने सुवाषको लक्ष्य छ । उनले आफूहरु जस्तो बालश्रमिकको मुहारमा मुस्कान ल्याउने, थुप्रै बालश्रमिकको जीवन फेर्ने काम गरेको भन्दै कार्यक्रममा इस्थर बेञ्जामिन स्मृति संस्था र सिआरएनलाई धन्यवाद समेत दिए ।
सन् २००२ देखि हरेक वर्ष जुन १२ लाई विश्वभर रहेका श्रमिक बालबालिकाले आफ्नो राष्ट्रका तर्फबाट बालबालिकाका निमित्त प्रदान गरिने अधिकार पाउन र बालश्रमबाट उन्मुक्ति पाउन् भन्ने उद्देश्यका साथ यो दिवस मनाइन्छ। हरेक वर्ष फरक फरक नाराका साथ मनाइने यो दिवस यसवर्ष ‘प्रगति स्पष्ट छ, तर गर्नुपर्ने धेरै बाँकी छ, हाम्रा प्रयत्नहरुलाई गति दिऔं ’भन्ने नाराका साथ विश्वभर आयोजना भइरहेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालमा बालश्रम निवारण गर्ने लक्ष्यका साथ बालश्रम राष्ट्रिय गुरुयोजना २०६१–२०७१ निर्माण गरेको थियो तर सो गुरुयोजना सफल नभएपछि मन्त्रालयले दोस्रो पटक बालश्रम राष्ट्रिय गुरुयोजना (२०७५–२०८५) निर्माण गरी लागू गरेको अवस्था छ । गुरुयोजनाको लक्ष्य अनुसार सरकारले २०७९ सालमा नै निकृष्ट तथा शोषणयुक्त बालश्रम निवारण गर्ने भने पनि व्यहारतः यो सम्भव नदेखिएको अवस्था छ । पछिल्लो पटक बालश्रममा केही कमी आए पनि गुरुयोजनाले लिएको लक्ष्य अनुसार अन्त्य गर्न अझै धेरै काम गर्नुपर्ने देखिएको छ ।
नेपालले निकृष्ट प्रकारको बालश्रमसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि (१८२) लगायत बालश्रम अन्त्य गर्ने विभिन्न सन्धिमा हस्ताक्षर गरेको छ । यस्तै, संयुक्त राष्ट्रसङ्घले आगामी सन् २०३० सम्ममा पूरा गर्ने गरी निर्धारण गरेको दिगो विकास लक्ष्यहरू अन्तर्गत २०२५ सम्ममा सबै प्रकारका बालश्रम अन्त्य गर्न तत्काल प्रभावकारी उपाय अपनाउने नेपाल सरकारको लक्ष्य अनुरुप समेत राष्ट्रिय गुरुयोजना लागु गरिएको हो ।
श्रम मन्त्रालयका अनुसार बालश्रममुक्त स्थानीय तह कार्यविधि २०७७ बमोजिम देशभरका ७५३ पालिकामध्ये हालसम्म नौ वटा बालश्रममुक्त पालिका घोषणा भएको छ । आर्थिक वर्ष २०८०/८१ सम्म २०४ वटा पालिकालाई कार्यविधिबमोजिम ससर्त अनुदान प्रदान गरिएको र चालु आव २०८१/८२ का लागि पनि ७० पालिकालाई अनुदान दिने गरी दुई करोड १० लाख रुपियाँ विनियोजन गरेकोमा ५५ वटालाई मात्रै त्यो अनुदान उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । अहिले सङ्घीयताको मर्म र भावना अनुकूल हुने गरी विद्यमान बालश्रम (निषेध तथा नियमित गर्ने) ऐन २०५६ लाई विस्थापित गर्न नयाँ ऐनको मस्यौदा तर्जुमाको कार्य भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
सन् २००२ देखि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आग्रहमा यो दिवस मनाउन थालिएको हो । कानुनतः १४ वर्षभन्दा कम उमेरका बालबालिकाको सर्वाङ्गीण वृद्धि र विकासमा नकारात्मक असर पार्ने गरी काम गराउनुलाई बालश्रम मानिन्छ । बाध्यतावश श्रममा लगाउँदा उनीहरूले शिक्षा, खेलकुद र मनोरञ्जन अधिकार र पहुँचबाट वञ्चित हुनुपरेको हुन्छ । श्रममा रहँदा बालबालिकाको शारीरिक, मानसिक, सामाजिक तथा नैतिक विकासको गतिविधिमा बाधा वा अवरोध हुन्छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com