Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

पशुपति क्षेत्रका १५ शिवालयको अध्ययन संरक्षणका लागि ११ सदस्यीय कार्यदल गठन

पशुपति क्षेत्रका १५ शिवालयको अध्ययन संरक्षणका लागि ११ सदस्यीय कार्यदल गठन

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका १५ वटा शिवालयको अध्ययन तथा संरक्षणका लागि ११ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ । धार्मिक महत्त्वका सम्पदाको संरक्षण तथा प्रवर्द्धनको उद्देश्यका साथ पशुपति क्षेत्र विकास कोषका निमित्त उपनिर्देशक ईश्वरमान भण्डारीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत संस्कृति महाशाखा, पशुपति क्षेत्र विकास कोष, पुरातत्त्व विभाग, गुठी संस्थान केन्द्रीय कार्यालय, काठमाडौँ महानगरपालिका-८ कार्यालय एवं पशुपति क्षेत्रमा कार्यरत सुरक्षा निकायहरूको संलग्नतामा बसेको बैठकले कार्यदल गठनको निर्णय गरेको हो । 

समितिको सदस्यमा पुरातत्त्व विभागका स्ट्रक्चरल इञ्जिनियर डा. पुरुषोत्तम डंगोल, विभागकै पुरातत्त्व अधिकृत राजेश परियार, खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा विश्वराज सिलवाल, मन्त्रालयका पुरातत्त्व अधिकृत भीष्म बाँस्कोटा, सशस्त्र प्रहरी बल नेपाल, पशुपति मन्दिर सुरक्षा बेसका सहायक प्रहरी निरीक्षक सुदर्शन खतिवडा, काठमाडौँ महानगरपालिकाको कार्यालय सम्पदा तथा पर्यटन विभागका आर्किटेक्ट गौरव श्रेष्ठ, कोषका इञ्जिनियर मदनराज पाण्डे, कोषका आर्किटेक्ट रिक्का श्रेष्ठ र संस्थानका सबइञ्जिनियर भीमप्रसाद अधिकारी रहनुभएको छ । कोषका पुरातत्त्व अधिकृत सुशील कुमार गौतम सचिव रहनुभएको छ ।

कार्यदललाई सम्पदाको धार्मिक महत्त्व, संरक्षण तथा प्रवर्द्धनका विकल्पसहित अध्ययन गरी प्रतिवेदन पेस गर्न एक महिनाको समय दिइएको कोषले जनाएको छ । पन्ध्र शिवालय क्षेत्र भासिँदै जान थालेकाले त्यस क्षेत्रमा आरती गरिरहेको संस्थालाई कम मानिस मात्र सहभागी गराएर आरती सञ्चालन गराउन पत्राचार गरिएको पनि बताइएको छ ।

बागमती किनारमा रहेको यो क्षेत्र भासिँदै जाँदा सम्पदा क्षेत्र खतरामा पर्न सक्ने भएकाले यसको संरक्षण गरिनुपर्ने पुरातत्त्व विभागको भनाइ छ । दैनिक हजारौँ मानिस यस क्षेत्रमा जम्मा भएर आरती गर्दा धेरै भार भएर समस्या आएको विभागले जनाएको छ । नदीले तलबाट बालुवा बगाउने र माथि दैनिक रूपमा हजारौँ मानिसको भारले थिच्ने गरेकाले जोखिम बढेको भन्दै यसको संरक्षण गरिनुपर्ने विभागको भनाइ छ ।

त्यस्तो संवेदनशील क्षेत्रमा आरती गर्न नहुने भन्दै विभागले यसको विकल्प खोज्न सुझाएको छ । पशुपतिनाथ मूल मन्दिरभित्र परम्परागत आरती हुने गरेकाले यस्ता आरतीका नाममा सम्पदा क्षेत्रमा हानी हुने गरी कुनै पनि गतिविधि नगर्न पनि विभागले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार