काठमाडौं । बौद्धस्थित अजम्बरी बचत तथा ऋण सहकारी संस्था लि. को १७ औं बार्षिक साधारण सभा नियामकीय निर्देशनहरुको पालना गर्दै उल्लासपूर्ण सदस्य सहभागिताका साथ मितव्ययी ढंगले सर्वसम्मत नयाँ सञ्चालक समिति निर्वाचित गर्दै आज सम्पन्न भएको छ ।
सदस्यहरुको सबैभन्दा महत्वपूर्ण र विराट सभाले आगामी चार वर्षका लागि नुर्बु लामाको अध्यक्षतामा नयाँ सञ्चालक समिति तथा मिङमा शेर्पाको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति समेत निर्वाचित गरेको छ । दुबै जना दोस्रो कार्यकालका लागि सर्वसम्मत हुनुभएको हो ।
सदस्यहरुको सभ्य र भव्य सहभागितामा पूर्वनिर्धारित एजेण्डाहरुउपर एक एक छलफल गरी लम्बेतान भाषण विना छिटो र छरितो तरिकाले साधारणसभा सम्पन्न गर्न सकिन्छ भनेर अजम्बरी साकोसले उदाहरण प्रस्तुत गरेको छ । यस्तै, संस्थाले समयमै वार्षिक लेखापरिक्षण सम्पन्न गरी वार्षिक साधारणसभा समेत सकेर संस्थागत सबलताको अर्को उदाहरण प्रस्तुत गरेको छ ।
साकोसका अध्यक्ष नोर्बु लामाको सभापतित्वमा आयोजित साधारणसभामा सञ्चालक समितिको तर्फबाट सचिव ग्याल्जेन शेर्पाले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सदस्यहरुले पारित गर्नुका साथै उहाँले नै प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को प्रस्तावित कार्यक्रम तथा बजेट ससदस्यहरुबाट सर्वसम्मत स्वीकृत गरिएको थियो ।
सो क्रममा सचिव शेर्पाले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखी सुरक्षित ऋण लगानीमार्फत सदस्यहरुको सामाजिक आर्थिक समृद्धिका लागि काम गर्ने विश्वास दिलाउनुभएको थियो ।
यस्तै, सभाले लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै संस्थाको आन्तरिक कार्यविधि संशोधन, गैर वित्तीय सम्पत्ति बिक्री लगायतका प्रस्तावहरु पारित गरेको थियो । साधारणसभामा प्रस्तुत विभिन्न प्रस्ताव उपर सदस्यहरुले राखेको जिज्ञासा प्रमुख कार्यकारी अधिकृत (सिईओ) गान्वा सुनुवारले सम्बोधन गर्नुभएको थियो ।
अजम्बरीको पछिल्लो अवस्था
आर्थिक वर्षान्त (२०८१/८२) मा १ करोड ९० लाख बढी शेयर पुँजी रहेको अजम्बरी साकोसको बचत निक्षेप साढे ३४ करोड बढी छ भने २३ करोड ११ लाख बढी ऋण लगानी रहेको सदस्यहरुलाई उपलब्ध गराइएको वार्षिक प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, वित्तीय लगानी १ करोड २३ लाख बढी रहेको छ ।
निस्क्रिय सदस्यहरु हटाई साकोसमा हाल १५७२ सेयर सदस्य (८९९ महिला, ६७१ पुरुष र २ संस्थागत) कायम छन् । गत आर्थिक वर्षको अन्त्यसम्ममा ३५ करोड ४० लाख ५२ हजार बढी कुल सम्पत्ति रहेको साकोसले २०८३ को असार मसान्तमा यो सम्पति वृद्धि गरी ४३ करोड ५७ लाख बढी पुर्याउने लक्ष्य लिएको छ ।
अजम्बरी साकोसले सदस्य सुरक्षा तथा राहतकोष नीति २०७९ अधिनस्थ सदस्य सुरक्षा कार्यक्रममार्फत सदस्य र सदस्यको एकाघर परिवारको सदस्यहरुको उपचार खर्च लगायत औषधी खरिदमा चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पतालसँगको सम्झौता बमोजिम १० देखि २५ प्रतिशत छुट तथा सहुलियत उपलब्ध गराउँदै आएको छ भने प्रविधिमैत्री सेवालाई पनि प्राथमिकतामा राखेर काम गरेको सचिव शेर्पाले साधारण सभालाई जानकारी गराउनुभयो । मुख्य कार्यालयसँगै एउटा सेवा केन्द्र रहेको अजम्बरी साकोसमा हाल १२ जना कर्मचारी कार्यरत छन् ।
नयाँ सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति निर्वाचित
अजम्बरी साकोसले १७औं वार्षिक साधारण सभाले नुर्बु लामाको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति तथा मिङमा शेर्पाको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको छ । संस्थाको उपाध्यक्षमा दावा थाक्चे शेर्पा, सचिव ग्याल्जेन शेर्पा, कोषाध्यक्ष आङपासाङ शेर्पा तथा सदस्यहरुमा भक्त सुन्दर साहु, नुर्वु शेर्पा र विजय कुमार पण्डित सर्वसम्मत निर्वाचित हुनुभएको छ भने लेखा समिति सदस्यहरुमा बुद्ध बहादुर लामा र मिठु माया तामाङ निर्विरोध निर्वाचित हुनुभएको जानकारी सभामा गराइएको थियो ।
नयाँ सञ्चालक समितिका अधिकांश अनुहार दोहोरिएका छन् । नवनिर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको शपथ ग्रहण समेत आजै सम्पन्न भएको छ । सदस्यहरुको सहभागिताबीच निर्वाचन उपसमिति (संयोजक अधिवक्ता विष्णु कुमारी राई तथा सदस्यद्वय ङिमा नुर्वु शेर्पा र अधिवक्ता अनिता लामा) को तर्फबाट नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराइएको थियो । यसैगरी, साकोसमा ३ जना सल्लाहकार, १ कानुनी सल्लाहकार, २ जना ऋण उपसमिति सदस्य तथा २ जना शिक्षा उपसमिति सदस्य रहेका छन् ।
मितव्ययी साधारणसभा
साधारणसभा सञ्चालनको क्रममा साकोसका सिईओ गान्वा सुनुवारले भन्नुभयो, ‘हामीले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारणसभा सञ्चालनसम्बन्धी निर्देशन बमोजिम साधारणसभा सम्पन्न गर्दैछौं । कोभिड पछाडिबाट नै गैरसदस्यरहित, फजूलखर्चरहित साधारण सभा सञ्चालन गर्दै आएको इतिहास छ । यो वर्षपनि हामीले त्यही असल परम्परालाई निरन्तरता दिएका छौं ।’
उहाँले अतिथि बोलाउने, लामा भाषण गर्ने र पट्यारलाग्दो बनाउने परम्परा अजम्बरी साकोसले विगतदेखि नै तोडिसकेको भन्दै यो पटक त झन प्राधिकरणले पनि त्यस्तै निर्देशन जारी गरेका कारण संस्थाले बसालेको थिति सही प्रमाणित भएको दाबी प्रस्तुत गर्नुभयो । संस्थामा सदस्यहरुको धेरैभन्दा धेरै सहभागिता सुनिश्चित गर्नुपर्ने भएका र आफ्नै स्थान उपलब्ध नभएका कारणमात्रै पायक पर्ने ब्याङ्क्वेटमा गरिएको अजम्बरीको व्यवस्थापनले जनाएको छ । यद्यपि, सकेसम्म मितव्ययी साधारणसभा सम्पन्न गरिएको अजम्बरी साकोसले जनाएको छ ।
सम्मान तथा पुरस्कार
साधारणसभाको अवसर पारेर अजम्बारी साकोसले विभिन्न विधामा सदस्यहरु र कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । संस्थाको उन्नयनमा भूमिका खेल्ने मुख्य कार्यालय बौद्ध तथा सेवा केन्द्र कार्यालय अत्तरखेल अन्तर्गतका उत्कृष्ट सदस्य र उत्कृष्ट ज्येष्ठ सदस्यहरुलाई २० कित्ता शेयर पुरस्कार र प्रशांसपत्रले सम्मानित गरिएको थियो भने दुबै कार्यालयका उत्कृष्ट बालबचतकर्ताहरुलाई दुई हजार बचत थप र सम्मान पत्र प्रदान गरिएको थियो ।
यसैगरी, १५ वर्ष सेवा अवधि पूरा गर्ने साकोसकी विभागीय प्रमुख (व्यवसाय विभागकी बरिष्ठ अधिकृत) सरस्वती तामाङलाई नगद १५ हजार र प्रशंसापत्रसहित सम्मानित एवम् पुरस्कृत गरिएको थियो ।
अजम्बरी साकोसको अठोट, गुणस्तरीय सदस्य
यसैबीच, अजम्बरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज सम्पन्न १७ औं वार्षिक साधारणसभाका क्रममा नयाँ सञ्चालक समिति तथा व्यवस्थापन प्रमुखको तर्फबाट गुणस्तरीय सदस्यहरु बनाउने अठोट व्यक्त भएको छ । गुणस्तरीय सदस्यहरु हुँदा मात्र संस्था दिगो, व्यावसायिक र सफल हुने भन्दै नव निर्वाचित सञ्चालक समिति तथा व्यवस्थापनको तर्फबाट क्वालिटी सदस्यहरु निर्माणमा लाग्ने सामूहिक प्रतिबद्धता व्यक्त गरिएको हो ।
उक्त प्रतिबद्धताप्रति साधारणसभामा उपस्थित सदस्यहरुले समेत सहमति जनाएका थिए । संख्यात्मक वृद्धि भन्दा गुणात्मक वृद्धि नै सहकारी संस्थाको सफलताको मापक भएकोले निस्क्रिय सदस्यहरुलाई हटाइ बाँकी सदस्यहरु र नयाँ बनाउने सदस्यहलाई पनि नियमित सहकारी शिक्षा र तालिमका माध्यमबाट गुणस्तरीय बनाउँदै लाने सामूहिक भावना साधारण सभामा व्यक्त गरिएको थियो । साकोसका प्रमुख कार्यकारी अधिकृत गान्बा सुनुवारले भन्नभुयो, ‘हाम्रो जोड क्वालिटी सदस्यहरु बनाउँदै अजम्बरी साकोसको दिगोपना र व्यावसायिकता सुनिश्चित गर्ने हो ।’
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम
अजम्बरी साकोसले उत्पादनमूलक एवम् व्यापार व्यवसायका क्षेत्रमा ऋण लगानीलाई विशेष प्राथमिकतामा राखेको जानकारी सभामा गराइएको थियो । सदस्यहरुलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने र ऋण लगानीलाई सुरक्षित गर्ने दृष्टिले पनि उत्पादनमूलक ऋण लगानीलाई जोड दिइएको सचिव शेर्पाले बताउनुभयो । साकोसले क्षमतामा आधारित र सुरक्षित ऋण लगानीलाई निरन्तरता दिने जनाएको छ । अजम्बरी साकोसले धितो सुरक्षण राखी व्यापार व्यवसाय सञ्चालनका लागि अन्य प्रकृतिका ऋणमा भन्दा कम्तिमा १ प्रतिशत न्यून ब्याजदर लिने जनाएको छ ।
चालु आर्थिक वर्षका लागि सदस्यता वृद्धि, शेयर पुँजी वृद्धि, बचत तथा निक्षेप वृद्धि तथा ऋण लगानी वृद्धिका लक्ष्यहरु तोकी सोही अनुसार काम गर्न व्यवस्थापनलाई कार्यविवरण उपलब्ध गराएको जानकारी सभामा गराइएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com