काठमाडौं । काठमाडौंको मध्यभागमा रहेको पञ्चकुमारी मैतीदेवी उपत्यकाका प्रसिद्ध शक्तिपीठहरूमध्ये एक हो । बडादसैँका अवसरमा मैतीदेवीको दर्शन गर्नका लागि भक्तजनहरूको ठूलो भिड लाग्छ । यो देवीहरूको माइती भएका कारण माइतीदेवीहुँदै मैतीदेवी भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।
यी देवी मनकामनाको पनि आमा भएका कारण मनकामनाको दर्शन गरिसकेपछि रुद्रमतीमा नुहाएर मयुरकुण्डको जल मैतीदेवीमा चढाएपछि भक्तजनको मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास छ ।
मनकामनासहित विभिन्न देवीहरूको स्थापना गरिएको मैतीदेवी काठमाडौंका विभिन्न २८ वटा टोलका इष्टदेवतका रूपमा पुजित छिन् । मन्दिरको दायाँ भागमा मनकामना माईको शिलाको मूर्ति छ । यो शिलाको आधा भाग तान्त्रिक विधिबाट मनकामना लगेको भन्ने भनाइ छ ।
त्यसैले आधा शिला मनकामना र आधा शिला मैतीदेवीमा रहेकाले मनोकामना पूरा गर्न मनकामना देवीमा जे चढायो, यहाँ पनि त्यही चढाउनुपर्छ भन्ने धार्मिक मान्यता छ । मन्दिरभित्र बंगलामुखी, भैरव, शिव, अष्टमातृका, देवपुरुष, गणेशलगायत देवीदेवताको दर्शन गर्न सकिन्छ । चारैतिर मानव बस्तीले घेरिएको मैतीदेवीको उत्पत्तिबारे विभिन्न जनश्रुतिहरू पाइन्छ ।
पौराणिककालमा पञ्चकन्याहरू आकाशमार्गबाट उडेर माइत जान हिँडेका थिए । बाख्रा चराउन बसेका कुनै एक तान्त्रिकले देश रक्षाका लागि आफ्नो तन्त्र शक्तिद्वारा ती देवीहरूलाई यहाँ बस्न बाध्य पारेकाले तिनै पञ्चदेवीको माइतीका रूपमा यसलाई ‘माइती देवी’ हुँदै मैतीदेवी भन्ने गरिएको हो ।
अर्को किंवदन्दीअनुसार रुद्रमती अर्थात् हालको धोवीखोलाको किनारमा एक जना किसानले खेत खन्दै जाँदा उनले एउटा ढुंगा (शिला) भेटे । त्यसलाई सार्न उनले धेरै प्रयास गरे पनि सकेनन् । बरु उनी थाकेर त्यहीँ भुसक्कै निदाए ।
त्यसैबेला आकाशमार्गबाट पञ्चकुमारीहरू मयुरमा हिँडिरहेका बेला मयुरको प्वाँखको हावाले किसान ब्युँझिन पुगे । त्यसपछि उनले सबै कुरा सविस्तार देवीहरूलाई बताए ।
पञ्चकुमारीहरूलाई आफ्नो कुरा बताएपछि देवी खुसी भएर त्यसैमा बसिन् । त्यसैले कतिपयले यसलाई मयुरतीर्थसमेत भन्ने गरेका छन् । मन्दिरको मूलद्वारको सिधा उत्तरतर्फ मयुरतीर्थ छ ।
राजा गुणकामदेवले कान्तिपुर शहरको स्थापना गरेपछि यसका वरिपरि गणेश, भैरव आदि देव पुरुषका साथै काली, योगिनी, अष्टमातृकाजस्ता देवदेवीको स्थापना गरेका थिए भन्ने भनाइ छ ।
काठमाडौं निर्माण गर्दा राजा गुणकामदेवले देशरक्षार्थ नगरको चारैतिर लुमडी अजिमा (भद्रकाली), कङ्ग अजिमा (कंकेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तकती अजिमा (नील बाराही), ङेतमरु अजिमा (नरदेवी), बछला अजिमा, लुती अजिमा (इन्द्रायणी) स्थापना गरी खटजात्रा चलाएको बताइन्छ ।
इतिहासविद् भुवनलाल प्रधानका अनुसार पहिलोपटक राजा प्रताप मल्लले मन्दिर निर्माण गर्न लगाएका हुन् । तर, त्यसपछि विभिन्न समयमा यो मन्दिरको पुनर्निर्माण र आसपासमा विभिन्न देवीदेवताको स्थापना गरिएको पाइन्छ । तर, ती सबैका कुनै लिखत छैनन् । सन् १९९८ मा मैतीदेवी मन्दिर अंकित हुलाक टिकट प्रकाशन भएको छ ।
पहिले नक्साल भगवती, गुह्येश्वरी, पञ्चकुमारी मैतीदेवी, शोभा भगवती, कालीकास्थन, भद्रकाली, नरदेवी, इन्द्रायणी र विजेश्वरीमा दरबारबाट पूजा मात्र पठाइन्थ्यो । तर, पछिल्लो समयमा महाअष्टमीका दिन राष्ट्राध्यक्षले मैतीदेवीको दर्शन गर्ने प्रचलनसमेत छ ।
मैतीदेवी प्राङ्गणमा नेवार समुदायका सात जातिको दाह संस्कार गर्ने घाटसमेत छ । यहाँ ब्रम्हनालसँगै राजकुलो थियो । ज्ञानधाराबाट आएको त्यो कुलो घट्टेकुलोको धोवीखोलामा पुगेर मिसिन्थ्यो । तर संरचना निर्माण हुँदै जाँदा यी कुरा इतिहास बनेका छन् ।
ऐतिहासिक धार्मिक महत्त्वको मैतीदेवी क्षेत्रमा बनेका नयाँ संरचनासँगै कतिपय संरचना विलीन भएका छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com