Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

केबी उप्रेतीको कारागार जीन्दगी

केबी उप्रेतीको कारागार जीन्दगी

काठमाडौ । सहकारीको बचत अपचलनको अभियोगमा मुद्दा खेपिरहेका कृष्ण बहादुर उप्रेती (केबी उप्रेती) हाल काठमाडौंको डिल्लीबजार कारागारमा छन् । उनलाई महाराजगञ्ज प्रहरीले २०८१ असार २० गते बुधबार बालाजुबाट नियन्त्रणमा लिएको थियो । 

शुरुमा करिब एक महिना  जिल्ला प्रहरी प्ररिसर काठमाडौं राखिएका उनलाई त्यसपछि डिल्लीबजार कारागार सारिएको थियो । पछिल्ला १५ महिनादेखि कारागारमा रहेका केबीको कारागार कहानी जान्ने प्रयास धिप्री डटकमले गरेको छ । 

सहकारी प्रवेशको उनको प्राथमिक काललाई घटाउने हो भने केबी करिब ३ दशक मुलुकको सहकारी अभियानको केन्द्रमा रहे । चर्चा परिचर्चामा रहे । तर, पछिल्ला १५ महिना उनी मौन छन् । हुनत त्यसअघि उपचारका लागि लामो समय भारत रहँदा पनि उनी सञ्चारमाध्यममा बोलेका थिएनन्, भलै उनका बारेमा बग्रेल्ती समाचारहरु बने । 

डिल्लीबजार कारागारको ‘क’ ब्लकमा राखिएका उप्रेतीलाई भेट्न एक मित्रका साथ यस पंक्तिकार २०८२ मंसिर २३ गते मंगलबार करिब ११ बजे त्यहाँ पुगेको थियो । यो भेटको उद्देश्य उनको कारागार जीवनसँगै बाहिरी समाज, सहकारी र परिवेशप्रतिको उनको दृष्टिकोणबारे बुझ्नु थियो । किनकि उनीबारे उनैले बोलेका कुराहरु समाचारमा कम आएका छन् यो बीच । काराबास जीवनबारे उनको बुझाइबारे पत्रकारिताको धर्म अनुसार जान्नेबुझ्ने र उनका पछिल्ला भोगाइ र विचार प्रकाशमा ल्याउने प्रयासस्वरुप भेट भएको थियो ।

२०८२ मङसिर २३ बिहान करिब ११:३०
‘कृष्णबहादुर उप्रेती ! केबी उप्रेती, कृष्णबहादुर उप्रेती ! ए ! केबी उप्रेतीलाई  बोलाइदेउ ।’ बडी सर्च गरेर सबै विवरण भर्ने अनि भेट्ने व्यक्तिबारे आवश्यक सबै प्रक्रिया पुरा गरेर हामी दुई उनलाई भेट्ने अन्तिम बिन्दुमा पुगेपछि कारागार सुरक्षाकर्मीले भित्रका सुरक्षाकर्मीहरुलाई यसरी उनको नाम बोलाएर भेट्ने व्यक्तिहरु आएको बारे जानकारी दिए ।

केही समयको प्रतीक्षापछि उनी बाहिर निस्के । हामीलाई देख्ने बित्तिकै उनी मुस्काए । दाह्री काटेका उनी सफाचट देखिन्थे । हरियो क्याप, स्वेटर र सुरुवालमा थिए । नजिक आएपछि हात मिलाउँदै सोधे, ‘के छ ?’ हामीले ठीकै भएको बताएपछि ‘यही बसौं कि अलि पर जाने हो’ भनेर सोधे ? हामीले ‘यहाँ पनि भिड छैन, यहीं बस्दा हुन्छ’ भनेपछि बारको आरपार भएर बस्यौं । केबीलाई हाम्रो पहिलो र स्वाभाविक प्रश्न थियो, ‘तपाईंको स्वास्थ्य कस्तो छ ?’ उनले जवाफ फर्काए, ‘ठीक छु । ’

केबीले कारागार बसाइले जीवन र जगतप्रतिको आफ्नो  धारणा र बुझाइ फेरिएको बताए । व्यस्तता स्थिरतामा बदलिएको र ठहरावले मन र शरिर दुबैमा ठाउँ लिएको उल्लेख गरे । सधै मोबाइलमा झुण्डिरहने केबी इन्टरनेट र सामाजिक सञ्जालबाट 'कट अफ' छन् । कुनै आपतकालीन अवस्थामा सम्पर्क गर्नुपर्दा ल्याण्ड लाइनबाट फोन गर्न मिल्छ । अरुलाई सम्पर्क गर्नुपर्दा पूर्व जानकारी गराउनुपर्दछ । त्यहीबाट अन्यत्र सम्पर्कको व्यवस्था मिलाइदोरहेछ । अभियानमा रहँदा बेफुर्सद र विविध तनावमा रहने केबी फुर्सदिला बनेका छन् । अनि यो फुर्सद कसरी बिताउँछन् त ? मैले सोधेँ, ‘तपाईंको दैनिकी कस्तो छ ?’

उप्रेतीको दैनिकी
उनले सुनाए, ‘बिहान ५ बजेतिर उठ्छु । करिब एक घन्टा योग गर्छु । हिड्डुल गर्छु । दिउँसो चेस खेल्ने, पत्रपत्रिका पढ्ने, टेलिभिजन हेर्ने र गफिने गर्छु । अनि भेटघाट त छदैछ । दिन गएको पत्तै हुँदैन । बेलुकी १० बजेतिर सुत्छु । बस्न सहज त, खानपिनमा पनि समस्या छैन ।’ कारागार पुस्तकालयमा दिनहुँ जाने र केही पुस्तक पढ्ने गरेको बताए ।

सहकारी अभियान, राजनीति र समसामयिक विषयमा अन्य साथीभाइसँग गफिने गर्छन् तर राजनीतिका विषयमा धेरे चर्को स्वरले ठूलो समूहमा गफ गर्न मनाही भएको उनले बताए । उक्त ब्लकको तल्लो तलामा उनी अरु ४ जनासँगै बस्छन् । बस्न सहज छ । खानपिनमा पनि समस्या छैन । खोजेका कुरा खान पाइन्छ । बाहिरबाट मगाउन पनि सकिन्छ । पहिला माछामासु नखाने उनी कारागार बसेपछि भने मासु खान थालेका छन् । 

गएको जेठतिर भने उनी कारागारको ट्वाइलेटमा लडे । जसका कारण खुट्टामा चोट लागेर उपचार नै गर्नुपर्ने भयो । करिब १० दिन बीर अस्पताल बसे । त्यसबाहेक स्वास्थ्यजन्य अन्य केही समस्या नभएको बताए । पहिलेदेखिकै समस्यामा नियमित औषधी सेवनबाहेक अरु केही नभएको हामीलाई सुनाए । 

केबी कारागारभित्र सबैसँग घुलमिल भएको बताउँछन् । त्यसले गर्दा पनि समय बिताउन सहज भएको बताए । शुरु शुरुमा त दिउँसाको धेरै समय आफन्त, साथीभाइ र अभिायनकर्मीहरुसँगै भेट्दैमा जान्थ्यो । हिजोआज भने त्यति धेरै बाक्लो भेटघाट नभएको उनले बताए । अन्यत्रको तुलनामा डिल्लीबजार कारागारमा सहज भेटघाटको व्यवस्था कारागार प्रशासनले मिलाएको हामीले पनि समाचारहरुमा सुन्दै आएका थियौ। हुन पनि त्यही रहेछ । 

देश र विदेशका कार्यक्रमहरुमा तारन्तार सहभागी हुने चलायमान केबी १५ महिनादेखि स्थिर छन् । शान्त छन् । यद्यपि, अनुहारमा कान्तिमा कमी देखिएन । आत्मविश्वास गुमाएका छैनन् । तनावमा अल्झिएका छैनन । बोलीमा टाठोपनाको कमी देखिएन । आत्मविश्वासी देखिए । भन्छन्, 'सहकारी अभियानका ९० प्रतिशत साथीहरुको मप्रति सदासयता छ, सद्भाव छ ।' 

अभियानकर्मीहरुबारे केबी
धेरै अभियानकर्मीहरु आफूलाई भेट्न आएको भन्दै नपुगेका केही अभियानकर्मीहरुबारे पनि खुलेर बताए । र, केही आउँदैनन् भन्ने सोचेका पनि कसोकसो गरेर भेट्न पुगको प्रसङ्ग पनि केबीले उप्काए । तर, उनले एउटा गुनासो गरे, ‘विश्वास र भरोसा गरेका केहीबाट असहयोगको गन्ध आयो । अचम्म लाग्यो ।’ अनि, आफ्ना बारेमा सदासयता राख्ने केही अभियानकर्मीहरुले मुखले मात्र ठीक्क पारेको तर ‘आवश्यक सहयोग’ नगरेको गुनासो पनि उनले थपे ।

असहयोगको आभाष
उनले पार्टीको माथिल्लो तहबाट भन्दा पनि सहकारी विभागबाट असहयोगको कुरा चुहाए । उनी आवद्ध संस्थामा समस्या आएको खबरहरु बाहिरिएसँगै एमालेको केन्द्रीय सहकारी विभाग सचिवबाट उनलाई हटाइएको थियो । तर, उनी अरुलाई दोष दिन चाहन्नन । आफूमाथिका ८ मुद्दामध्ये ७ वटामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपनि एउटा मुद्दाले उनको कारागार बसाइ लम्बिएको बताए ।

उनी अझै भन्छन्, ‘परिबन्दले यो अवस्था आयो ।’ उनले काम गर्दै जाँदा कमजोरी भए, केही गल्ती पनि भए तर आफ्नो कुनियत नभएको बताए । नियतनै खराब राखेर काम नगरेको उनको स्पष्टोक्ति थियो । अनि, कारागारभित्रका अरु केही कैदीहरु पनि विभिन्न परिबन्दले परेको बताउँछन् । यस्तै आशय डिल्लीबजार कारागारमा रहेका र बसेर निस्केकका उच्चपदस्थहरुले बेलाबेलामा बोल्दै पनि आएका छन् ।

सहकारी बैंकबारे केबी
जसरी हुन्छ सहकारी अभियान बलियो बन्नुपर्ने उनको भनाइ छ । अभियानबारे साथीभाइहरुमार्फत जानकारी लिएको र पत्रपत्रिका तथा टेलिभिजनमार्फत अपडेट राखेको बताए । उनले सहकारी बैंकको आसन्न निर्वाचन बारे पनि मुख खोले । धेरै दुःख गरेर यो अवस्थामा पुगेको सहकारी बैंकको अबको नेतृत्व सक्षम, अभियान बुझेको, लिडरशीप लिन सक्ने, प्रारम्भिक संस्था बनाएर काम गरेको व्यक्तिले गर्नुपर्छ भन्ने बताए । राम्रो व्यक्तिको हातमा नेतृत्व जाँदा बैंकले प्रगति गर्ने अन्यथा समस्या आउन सक्नेतर्फ उनले सचेत तुल्याए ।

बैंकलाई सहज होस् पार्टीलाई सहज होस् भन्नका लागि आफूले कुनै नचाहिने काम नगरेको जीकिर उनले गरे । उनले भने, ‘कति फरार भए तर म बैंक र पार्टीलाई सहज होस् भनेर स्वयं उपस्थिति भएँ ।’

आशावादी केबी
‘बाहिर निस्कने हो भने समाधान गर्न सकिन्छ र गर्नुपनि पर्छ । नगरी सुखै छैन, ’ केबीले भने । त्यसका लागि विकल्पहरुबारे पनि उनी बोले । कानूनी प्रक्रियामा रहेको विषयमा हामीले धेरै धारणा बनाउनु उचित ठानेनौं । तर, उनका कुरा भने सुन्यौं । उनले जोड दिए, ‘यहाँबाट निस्कने हो भनेअवश्य समाधान हुन्छ, यहाँ बसेर त केही गर्न सकिएन ।’ कानूनी प्रक्रियाबाट निस्कने वातावरण मिल्दा बाहिर बसेर व्यवहारहरु मिलाउने सकिने उनको विश्वास छ ।

समय सक्कियो 
र, हामी गफिदैं गर्दौ नजिकै रजिष्ट्ररमा समय लेखेर राखेका सादा पोशाकका सुरक्षाकर्मीले केबीलाई ढाडमा हातले पोक गर्दै, ‘अब तपाईंको कुराकानीको समय सक्किन लाग्यो है’ भने । त्यसको केही मिनेटमै हामीले बसाइलाई बीट मार्यौं । चिनीबिनाको तीन कप कफीसँगै हामीले केबीसँग करिब १ घन्टा बढी बितायौं जसमा उनले सहकारी अभियान, संघ, महासंघदेखि सहकारी पत्रकार, पत्रकारिता, सहकारी पत्रकार समाजको भावी नेतृत्व आदि विषयसँगै यो पंक्तिकारका व्यक्तिगत जीवन र चर्याहरुबारे पनि जिज्ञासा राखे । 

र, अन्त्यमा, कारागार प्रशासनलाई धन्यवाद दिदै उनीसँग हामी बिदा भयौं । करिब साढे साढे ११ बजे केबीसँग गफिएका हामी साढे १२ बजेपछि त्यहाँबाट निस्केर आफ्नो बाटो लाग्यौं ।


प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार