सहकारी अभियन्ता चण्डीप्रसाद शर्मा पौडेलले सहकारी वृद्धाश्रम बन्न नुहने भन्दै त्यसका लागि सबैले बेलैमा युवा सहभागिता अभिवृद्धिको रणनीतिक योजना तथा सुस्पष्ट भिजनसहित काम गर्नुपर्ने सुझाएका छन् ।
तीन दशकदेखि सहकारी भनेर विशेषत गृहजिल्ला बागलुङका कुनाकन्दराहरु पुगी रुपान्तरणको अभियानमा होमिएका पौडेलले भने, ‘सहकारीहरु समाज रुपान्तरणका सम्वाहक हुन् । सहकारीमार्फत सामाजिक एवम् आर्थिक क्रान्ति सफलीभूत तुल्याउनु हाम्रो दायित्व हो । सहकारीलाई मास्न र सक्न समाजको एउटा तप्का सधैं लागिरहेको भन्दै अभियन्ता पौडेलले भने, ‘त्यसैले हामीले यस क्षेत्रको दिगो भविष्य सुनिश्चित गर्ने युवा पुस्ता तयार गर्न ढिलो भैसक्यो । अब पनि हामीमा चेत आएन भने सहकारी वृद्धाश्रम बन्न बेर छैन ।’
पौडेलले धिप्री डटकमसँग भने, ‘सहकारी ज्येष्ठ नागरिकहरुको पनि हो । सहकारीमा समाजका सिनियर नागरिकहरुको संरक्षण गरिन्छ्, उनीहरुलाई अपनत्व अनुभव गराइन्छ, उनीहरुलाई हेरचाह गरिन्छ भन्ने हामीले वास्तविक अनुभूति दिलाउनुपर्छ तर सँगै भोलिका कर्णधारहरुलाई पनि जिम्मेवारी बहन गर्ने र सुरक्षाकवच बनेर उभिने वातावरण हामीले तयार गर्नुपर्छ । त्यसो हुँदा मात्र सहकारी अभियान सुनिश्चित हुन्छ । सहकारीमा बालबालिका र युवा सहभागिताको एकदमै खाँचो छ ।’
सहकारीमार्फत सामाजिक पुँजी आर्जन गर्न सफल पौडेले भन्छन्, ‘युवाहरुलाई सहकारीमा अघि लगाउनुपर्छ । र, त्यो भन्दा पनि महत्वपूर्ण कुरा भविष्यका कर्णधार बालबालिकाहरुलाई सहकारीप्रति अभिरुचि जगाउने गरी काम गर्नुपर्ने टड्कारो आवश्यकता छ ।’
उनी भन्छन्, ‘जब हामीले बालबालिकाहरुलाई बचतदेखि वित्तीय साक्षरता र सहकारीमार्फतका प्रचुर सम्भावनाहरुबारे नियमित रुपमा जानकारी गराउँछौं तब सहकारीले पुष्पित र पल्लवित हुने मौका पाउँछ । सहकारीको साँचो अर्थमा सार्थकता पनि रहन्छ ।’ त्यसैगरी, विदेशमै सपना देख्ने युवाहरुलाई मुलुकमै त्यो पनि सहकारीमार्फनै भविष्य खोज्न सहकारीहरुले प्रेरित गर्नुपर्ने पौडेल बताउँछन् । ‘त्यसका लागि मुलुकभरका सहकारीहरुले केवल पैसाको विनियम होइन, ’अभियन्ता पौडेलले भने,‘ उद्यमशीलता, स्वावलम्वी, आत्मनिर्भर र जागरुक बन्ने अभियानहरु सहकारीहरुले सञ्चालन गर्नुपर्छ ।
विद्यार्थीहरु पढ्छन् पनि, कमाउँछन् पनि
सहकारीमा भोलिको पुस्ता तयार गर्ने योजनाको पोको पौडेलले फुकाए, ‘हामीले भर्खरै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सँगको सहकार्यमा श्री बौडेश्वर मा.वि.का विद्यार्थीहरुलाई पढ्दै कमाउँदै भन्ने व्यवहारिक शिक्षा प्रदान गर्ने अभियानको श्रीगणेश गरेका छौं । त्यसअन्तर्गत बागलुङको सबैभन्दा उचाईमा रहेको बागलुङ नगरपालिका ८, सिगाना स्थित श्री बौडेश्वर माध्यामिक विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीहरुका लागि प्रारम्भिक चरणको सिकाइ वित्तीय साक्षरता कक्षा (Seminar on Child Financial and Social Literacy) पुस ९ गते सम्पन्न भएको छ।’
नेदरल्याण्ड्सको अफ्लातुन अन्तर्राष्ट्रिय र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को संयुक्त साझेदारीमा सिवाईसी साकोसले बालबालिकाहरुमा उद्यमशी, सामाजिक तथा वित्तीय शिक्षा कार्यक्रम सञ्चालन गरेको उनले जानकारी गराए । माटोलाई अत्यधिक माया गर्ने पौडेलले भने, ‘विद्यालयका अधिकांश विद्यार्थीहरु सीवाईसी साकोसका बालबचतकर्ता हुन् । यसले साकोस र विद्यार्थीहरुबीचको सम्बन्धलाई दरिलो बनाउँदछ । अभिभावक र समुदायको पनि सिवाईसी साकोसप्रतिको दृष्टिकोण सकारात्मक बन्छ र हामीलाई पनि साँच्चिकै केही काम गरेको सुखानुभूति हुन्छ ।’
जिल्लाको दुर्गम ठाउँको उक्त विद्यालयलाई सिवाईसी साकोसले विभिन्न भौतिक तथा नगद सहयोगहरु समेत उपलब्ध गराउँदै आएको उनले बताए । पौडेलले भने, ‘नगरपालिकाको वडा नं ८ र १३ ले पनि १ लाख सहयोग उपलब्ध गराएका छन् र त्यसमा हामीले पनि एक लाख नै सहयोग गरेका छौं । यस्तो काम हाल १० वटा विद्यालयमा सञ्चालनरत छ । त्यसले एउटा श्रोत बास्केटमा जम्मा गर्ने काम भएको छ । यसमार्फत तत्तत् विद्यालयका नवीन सोच र केही गर्न खोज्ने विद्यार्थीहरुलाई १०–१५ हजार रुपैयाँले सहयोग गर्न सक्ने व्यवस्था मिलाएका छौं । यसले आत्मनिर्भर भविष्य निर्माण गर्न सहयोग पुग्छ, बालबालिकाहरु कर्मशील बन्छन्, अरुलाई उत्प्रेरित गर्छन् र उदाहरणीय बन्छन् अनि समाज रुपान्तरणको पाइलाहरु यसरी चालिहछन् ।’
उनले सिवाईसी साकोसले विद्यालयमा थ्री जिरो क्लब गठन गरि पढ्दै कमाउँदै अवधारणालाई अगाडि बढाउँदै तरकारी तथा फूल उत्पादनका लागि टनेला निर्माण गरि विद्यार्थीहरुमा उत्पादन सीपको समेत विकास गर्दै लगेको उदाहरण प्रस्तुत गरे ।
विद्यार्थीलक्षित सिवाईसीका यस्ता क्रियाकलापले उद्यमीलताको विजारोपण गर्ने, बचत गर्न सिकाउने, पढाइलाई व्यावहारिक पाटोबाट बुझ्ने र दिगो भविष्य निर्माणको पथमा हिडाउने पौडेलेले बताए ।
यसैगरी, पौडेलले युवाहरुले पनि सहकारी मेरो पनि हो, मेरो करियर वा योगदानको क्षेत्र पनि हो भन्ने वातावरण निर्माणका लागि केवल पैसाको विनियम भन्दा माथि उठेर दीर्घकालीन महत्वका दुरगामी कामहरु गर्नुपर्ने आवश्यकता औंल्याए ।
‘त्यसका लागि सिवाईसीले, ’पौडेलले भने, ‘वाई टु वाई (युथ टु युथ) भनेर युवा लक्षित कार्यक्रम पनि सञ्चालन गर्दै आएको उनले जानकारी गराए । सिवाईसीले ज्येष्ठ नागरिकहरुको हितका खातिर काम गरेको छ भने सँगै युवा र बालबालिकाहरुलाई पनि आफ्नो ठूलो परिवारको हिस्सा बनाएको छ । हेनुस् त सीवाईसीको परिवार सप्तरंगी इन्द्रेणी जस्तो छ । गाउँका कुना कन्दरामा पुग्दा सबै उमेर समूह, जातजाति भाषाभाषी र वर्ग समुदायका व्यक्तिहरु सीवाईसीका सदस्य बनेको पाउँदा त्यसले केही गरिएछ है भन्ने अनुभूति दिन्छ । त्यो भनेको करोडौंको भौतिक सम्पति भन्दा ठूलो हो ।’
शिक्षाले समाजमा आर्थिक र सामाजिक विषयमा सुधार गर्दै बालबालिका र युवा सोचाइको क्षितिजलाई विराट बनाउँछ । यस सन्दर्भमा नेफ्स्कूनले बालबालिकामा जीवनोपयोगी सीप, अधिकार, लैङ्गिकता, उद्यम र वचत तथा भविष्यको योजनाजस्ता विषयहरु समेटिएको अफ्लाटुनसँगको प्राविधिक सहयोगमा कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । यो कार्यक्रमले विद्यालय शिक्षाको सान्दर्भिकता बढाउने मात्र नभई शिक्षाले समाज रुपान्तरणमा निर्वाह गर्ने भूमिकालाई प्रष्ट बनाउने विश्वास नेफ्स्कूनले लिएको छ । त्यसैमा हातेमालो सिवाईसीले गरेको पौडेलले बताए ।
यस शिक्षा मार्फत पढदै कमाउँदै भन्ने अभ्यासलाई उजागर गर्छ । यो सानो उमेर देखि स्वाबलम्बी र आत्मानिर्भर हुनुपर्छ भन्ने सिकाई र खेलमार्फत प्रदान गरिने शिक्षा हो । अनि, अन्ततः यसले सहकारप्रति बालमस्तिष्कमा सकारात्मक सोच पैदा गर्छ । सहकारीहरु केबल पैसाको विनियम गर्ने इन्टरमिडियरी मात्र होइनन् यिनीहरु त भविष्य सुनिश्चित, सुरक्षित र संरक्षित गर्ने संवाहक पनि हुन भन्ने अमिट छाप बालबालिकाहरुमा पर्ने विश्वास पौडेलले व्यक्त गरे ।
पौडेलले भने, ‘वित्तीय स्वतन्त्रता, स्वावलम्बन र आत्मनिर्भर अर्थतन्त्र विकास गर्ने, कामलाई सम्मान गर्ने र उद्यमी बनेर रोजगारी सिर्जना गर्ने मुलुकको आवश्यकतालाई सहकारीको अभियानले थोरै मात्र साथ दिन सक्यो भने पनि हामीले गर्व गर्ने ठाउँ रहन्छ । त्यही भएर हामीले विद्यालयहरुमा वित्तीय साक्षरता, विद्यालयसँग सिवाईसी जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौं ।’
मुलुक बन्छ र सहकारीमार्फत नै बन्छ भन्नेमा सामाजिक अभियन्ता पौडेल आफ्नो विश्वासभाव यसरी प्रकटीकरण गर्छन् ।
श्रेय पाउने सहकारी
अफलातून, नेफ्स्कून, र सिवाईसीको यो सहकार्यको दिगोपनाले बागलुङ जिल्लाका बालबालिकाहरुको मुहारमा खुसी ल्याउने विश्वास पौडेलले व्यक्त गरे । उनले भने, ‘हामी भर्खर सुरुवाती चरणमा छौं । एक किसिमले यो पाइलटिङ प्रोजेक्ट जस्तो हो तर विस्तारै सबै पालिकामा यो कार्यक्रम यसैगरी लान सकियो भने जिल्लाका बालबालिकाको भविष्य सुनिश्चत गर्न सकिन्छ र त्यसको श्रेय अन्ततः सहकारीलाई नै जान्छ भन्नेमा म विश्वस्त छु । म त्यो दिन सम्झेर आजनै गदगद छु ।’
नेफ्स्कूनले चालु आर्थिक वर्ष २०८२।०८३ देखि पढदै कमाउँदै भन्ने शिक्षा बालबालिकाहरुमा अन्र्तनिहित महसुशीकरण गराउने अभिप्राय सहित थालनी गरेको कार्यक्रम हो । उक्त कार्यक्रम यसै आर्थिक वर्षभित्र एक सय विद्यालयमा पुर्याउने लक्ष्य संघले अगाडि सारेको छ ।
सहकारीलाई वृद्धहरुको विश्वासको थलो, युवाहरुको आस्थाको पुञ्ज र बालबालिकाहरुको भविष्यको आधार बनाउने दीर्घकालीन रणनीतिसहित काम गरिरहेको भन्दै जिल्ला बचत संघका समेत अध्यक्ष रहेका पौडेलले भने, 'यसमा हामीलाई हाम्रो छाता संघ नेफ्स्कूनको बलियो साथ रहेको छ । यसैगरी सहकारीमा भविष्यको पुस्ता तयार पार्ने गरी स्पष्ट सोचसहित काम गर्न म अन्य सहकारीहरुलाई पनि आग्रह गर्छु । त्यसका लागि हरतरहको सहयोग गर्न सिवाईसी तत्पर छ ।'
यस्तो रह्यो कार्यक्रम
हिजोको कार्यक्रम वडा सदस्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेद बहादुर क्षेत्रीको अध्यक्षतामा र सम्बन्धित वडाका अध्यक्ष छम बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जीवनाथ गौतम, सिवाईसी नेपालका उपाध्यक्ष लक्षण खड्का, सिवाईसी साकोसका सञ्चालक समिति सदस्य गोपाल शर्मा, साकोसका सहायक प्रवन्धक शालिकराम पौडेल, सिवाईसी नेपालकी कर्मचारी विपना थापा, विद्यालयका शिक्षकहरुहरु लगायत अतिथि रहेका थिए ।
कार्यक्रममा सिवाईसी साकोसका सञ्चालक गोपालकुमार शर्माले थ्री जिरो (३’०) क्लब गठन, यसको उद्देश्य, उद्यमशीलता विकाससम्बन्धी गतिविधि तथा संस्थाले पुर्याउँदै आएको सहयोगबारे जानकारी गराउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले विद्यार्थीहरूलाई पढ्दै, सिक्दै र कमाउँदै गर्ने बानी विकास गर्न सके भविष्यमा सफल व्यक्ति बन्न सहयोग पुग्ने धारणा राखे ।
सिवाईसी नेपालका उपाध्यक्ष लक्ष्मण खड्का तथा वडा अध्यक्ष छमबहादुर कार्कीले पनि वित्तीय साक्षरता र बालबालिकाको सामाजिक तथा आर्थिक विकासका विषयमा धारणा राखेका थिए । कार्यक्रम नेफ्स्कूनकी कार्यक्रम अधिकृत राधा पौडेलले सहजीकरण गरेकी थिइन् ।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक रुद्र जैसीले गरेका थिए भने स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक जीवननाथ गौतमले राखेका थिए । कार्यक्रममा ७६ जना विद्यार्थी सहित करिब ८५ जनाको उपस्थिति रहेको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com