Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
राष्ट्रिय ज्योतिष सम्मेलन-२०८२

आउँदो असोज मसान्तभित्रै अर्को वर्षको पञ्चाङ्ग पात्रो प्रकाशित गर्छौं : कार्यकारी निर्देशक पन्थी

आउँदो असोज मसान्तभित्रै अर्को वर्षको पञ्चाङ्ग पात्रो प्रकाशित गर्छौं : कार्यकारी निर्देशक पन्थी

काठमाडौं । आउँदो असोज मसान्तभित्रै आगामी वर्षको पञ्चाङ्ग पात्रो प्रकाशित गर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले दाबी गरेका छन् ।  २०८२ पुस १२ गते शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय ज्योतिष सम्मेलन-२०८२ मा बोल्दै उनले उक्त दाबी गरेका हुन् ।

 ‘२०८३ सालको पञ्चाङ्ग पात्रोको काम तीव्र रूपमा भइरहेको छ । धेरै जनाले फोन नै गरेर कहिले पात्रो बजारमा आउँछ भनेर जिज्ञासा राखेका छन्’, पन्थीले भने, ‘पञ्चाङ्गकारहरूले सहयोग गर्ने हो भने प्रत्येक वर्ष असोज मसान्तभित्रै बजारमा पात्रो आउँछ ।’ चाडपर्व, तिथिश्राद्ध, विवाह–व्रतबन्ध कहिले पर्छ भन्ने जिज्ञासा स्वेदशसँगै विदेशबाट बढी आउने गरेको उनले बताए ।

ज्योतिषशास्त्रका विद्वान्‌हरूमाझ अहिले पञ्चाङ्ग विवाद चलिरहेको छ । पात्रोमा तिथिमितिको गणना गर्ने विधिका विषयमा विवाद रहेको अवस्था हो । जसका कारण उक्त विवाद सम्मेलनमा पनि वक्ताहरुको सम्बोधनको मुख्य विषय बनेको थियो । सोही विवादका कारण गत सालअनुरूप नै २०८३ सालको पञ्चाङ्ग प्रकाशन हुने निर्णय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले केही समयअघि गरेको थियो ।

पञ्चाङ्ग रूजु र छलफल गर्न ढिलाइ भएको र केतकीग्रहगणितबाट पञ्चाङ्ग खण्ड तयार गर्न केही समय लाग्ने एवम् थप छलफल गर्नुपर्ने देखिएकाले पञ्चाङ्ग प्रकाशन गर्न ढिला भइसकेको हुँदा २०८२ साल अनुरुप नै गर्न लागिएको समितिले जनाएको थियो । सोही विषयमा प्रष्ट पार्दै समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले आउँदो असोज मसान्तभित्रै आगामी वर्षको पञ्चाङ्ग पात्रो प्रकाशित गर्ने तयारी भैरहेको स्पष्ट पारेका हुन् ।

पञ्चाङ्गकार तथा ज्योतिषी संघ-संस्थासँगको सहकार्य गरेर उक्त काम भैरहेको उनले जानकारी गराए ।

यसैगरी, पन्थीले सबै ज्योतिषलाई प्यानमा आफ्नो संस्था दार्ता गरेर मात्रै ज्योतिषको कार्यालय खोल्न पनि पन्थीले आग्रह गरे । साथै उनले समितिले ७७ वटै जिल्लामा ज्योतिषीहरुका लागि प्रतिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना अनुरुप प्रदेशस्तरीय कार्यक्रमबाट त्यसको शुरुवात गरिने जानकारी गराए ।

विश्व ज्योतिष महासंघ राष्ट्रिय समितिले आयोजना गरेको सम्मेलनमा प्राध्यापक श्रीकृष्ण अधिकारी, डा. लोकराज पौडेल, माधवराज पाण्डे,  विष्णुदत्त लेखक, रतिदेवी श्रेष्ठ भारतीय ज्योतिष अशोक मिश्र लगायतले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।  कार्यक्रममा नेपालका ७७ वटै जिल्लाका २ सयभन्दा बढी ज्योतिषी प्रतिनिधि सहभागी थिए ।

Final T_11zon.jpg

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार