दार्शनिक चिन्तन र त्यसको प्रयोगात्मक अभ्यासको प्रयोगात्मक पद्धतिका क्षेत्रमा श्रीअरविन्दको योगदान अतुलनीय मानिएको छ । भारतको कलकत्तामा सन् १८७२ को १५ अगस्टका दिन जन्मनुभएका श्री अरविनको प्राथमिक शिक्षा भारतमा भएतापनि अरु उच्च शिक्षासम्म सबै बेलाको लन्डनमा भएको थियो । शिक्षाको लागि १४ वर्षको बेलायत प्रवासबाट भारत फर्केपछि उहाँले भारतको स्वतन्त्रता सङग्राममा अग्रणी भूमिका निर्वाह गर्नुभयो ।
दार्शनिक, यौगिक र काव्यिक प्रतिभाका त्रिवेणीको रुपमा स्थापित श्रीअरविन्दका विशालकाय कृतिहरु आज विश्वमा अतुलनीय मानिएको छ। ‘दिव्य जीवन’ उहाँको प्रमुख दार्शनिक ग्रन्थ हो भने योग समन्वय योगसम्बन्धी मुख्य ग्रन्थ हो । त्यस्तै, ‘सावित्री’ महाकाव्य उहाँको मुख्य काव्य रचना हो । उहाँको काव्यमा सौन्दर्यको आनन्द र सत्यको प्रकाश एकात्म मात्र भएका छैनन्, तिनले एकले अर्काको गुणात्मकता र माधुर्य बढाएका छन् । ‘दिव्य जीवन’ ग्रन्थमा सबै मुख्य दार्शनिक सिद्धान्तहरूको बृहत विवेचना मात्र होइन ती सबै दर्शनहरूको मिलनबिन्दु समेत खोजिएको छ। यसैगरी त्यस दार्शनिक सिद्धान्तको मानव चेतना मा वास्तविक प्रयोग र परीक्षण गर्नका लागि योग समन्वयले आधार मात्र प्रस्तुत गरेको छैन बाटो नै निर्माण गरेको छ। अनि सावित्री महाकाव्यमा संयोजित शब्द र ध्वनिको जीवन्त प्रकम्पन भाइब्रेसनले मानव जीवनको मानव चेतनाको उध्र्वगामी रूपान्तरणमा अनायासै बल पुर्याउँछ भन्ने विश्वास गरिन्छ।
श्री अरविन्दको उल्लिखित ‘दिव्य जीवन’ ग्रन्थ अनुसार पृथ्वी प्रकृतिको एउटा विशाल प्रयोगशाला हो। यहाँ लाखौं करोडौं वर्षदेखि प्रकृतिको परीक्षण र प्रयोग चलिरहेको छ । सर्वप्रथम पृथ्वीको जड पदार्थमा प्रकृतिले गरेको करोडौं वर्षको परीक्षणको नतिजा स्वरूप यहाँ वनस्पति जीवन सुरु भएको हो । वनस्पति जगतमा जीवनको देखिने चिन्ह सुरु भए पनि रुख बिरुवाहरू हिँड्न र डुल्न सक्दैनन्। एकै ठाउँमा मात्र रहने हुनाले तिनीहरुलाई स्थावर भनिन्छ । लाखौं वर्षसम्म यस्तो स्थावर माथि प्रयोगात्मक परीक्षण गरेपछि मात्र पृथ्वीमा प्राणी जगतको सृष्टि भएको हो। प्राणी जगतका जनावरहरू खान हिँड्न र वंश परम्परा कायम राख्न सक्ने भएपनि भाषाको प्रयोग गर्न सक्दैनन्। उनीहरुमा चिन्तन मनन गर्न सक्ने क्षमता हुँदैन। प्रकृतिले गरेको प्राणी जगतमाथिको लाखौं वर्षको परीक्षण पश्चात मात्र पृथ्वीमा मानिसको प्रादुर्भाव भएको हो।
मान्छेमा चिन्तन र मननको क्षमतावाला मन विकसित भएकाले उसले संगीत रचना गर्न कविता लेख्न वा वैज्ञानिक आविष्कार गर्न सकेको हो । यही मनको प्रस्फुटन भएकाले मान्छे जनावरभन्दा विशिष्ट हुन सकेको हो। जड पदार्थमा भन्दा वनस्पतिमा वनस्पतिमा, भन्दा जनावरमा, जनावरमा भन्दा मान्छेमा चेतनाको स्तर वृद्धि हुँदै आएको तथ्य हाम्रा सामुन्ने छ । चेतनाको गुणात्मक वृद्धि सँगसँगै त्यस चेतनाले प्रयोग गर्ने शारीरिक यन्त्र विन्यासमा पनि विशिष्ट र जटिल परिवर्तन हुँदै जान्छ । मान्छेमा आइपुगेर मात्र चेतनाको दृष्टि र अनुभूति छ मान्छे पनि प्रकृतिको जीवन्त विशाल र जटिल प्रयोगशाला हो। चेतनाको उर्धमुखी यात्रामा मान्छे पनि पूर्णविराम लाग्छ भन्ने कुरा पृथ्वीको विकासक्रमले इङ्गित गर्दैन । चेतनाको यात्रा मान्छेभन्दा माथिसम्म जाने गरी निर्दिष्ट छ।
मान्छे माथिको यो परीक्षणका लागि कति समय लाग्छ भन्ने निश्चित नभएपनि चेतनालाई एक स्तरबाट अर्को स्तरमा जान अहिलेसम्म लाग्दै आएको भन्दा कम समय लाग्छ भन्ने श्रीअरविन्दको धारणा छ किनभने पृथ्वीको इतिहासमा जड पदार्थबाट वनस्पति जगतको विकास हुनु भन्दा वनस्पतिबाट प्राणीको विकास हुन कम समय लागेको देखिन्छ । त्यसको तुलनामा जनावरबाट मान्छेको रुपमा विकास गर्न अझ कम समय लागेको देखिन्छ । यसबाट के देखिन्छ भने अब मान्छेभन्दा पछिको भावी सत्ताको प्रादुर्भाव हुन तुलनात्मक रुपमा कमै समय लाग्नेछ। अरविन्दले यस्तो आगामी प्राणी सत्तालाई अति मानव नाम दिनुभएको छ। मानवको सृष्टि भएपछि पनि जड वनस्पति र जनावरको जगत पनि मानस सत्ताको जाति निर्माण भएपछि पनि मानव जाति पनि रहिरहनेछ तर त्यसपछि सृष्टिको स्वामित्व मानवको हातबाट विकसित भएपछि पृथ्वीमा न्याय, सत्य र प्रेमको राज्य स्थापित हुनेछ र केही दिव्य जीवन हुनेछ भन्ने श्रीअरविन्दको भविष्यवाणी छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com