Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
विश्लेषण

दुई लाख सदस्यको ‘सहारा’, विश्व सहकारी मञ्चमा नेपाली मानक

दुई लाख सदस्यको ‘सहारा’, विश्व सहकारी मञ्चमा नेपाली मानक

काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) को वर्ल्ड कोअपरेटिभ मनिटर २०२५ को प्रतिवेदनलाई आधार मान्ने हो भने नेपालको झापास्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस) नेपालको ‘ग्रुप क्रेडिट एग्रिकोल’ हो । विश्वका ३ सय ठूला सहकारीको सूची समावेश उक्त प्रतिवेदनका अनुसार विगत १० वर्षदेखि पहिलो नम्बरमा रहँदै आएको फ्रान्सको ‘ग्रुप क्रेडिट एग्रिकोल’मा करिब १ करोड २१ लाख सदस्य छन् भने कर्मचारी मात्र १ लाख ४५ हजार छन् ।

त्यसैगरी, सहारा नेपाल साकोस अमेरिकाको भर्जिनिया राज्यको भियनामा मुख्यालय रहेको विश्वको सबैभन्दा धेरै सदस्य भएको नेभी फेडेरल क्रेडिट युनियन हो जसमा हाल १ करोड ५० लाख सदस्य आवद्ध छन् । र, हाम्रो छिमेकी मुलुक भारतको सहकारी अभियानसँग तुलना गर्ने हो भने सहारा नेपाल साकोस नेपालको ‘अमूल सहकारी’ हो जसका साढे ३६ लाख ४० हजार बढी सदस्य छन् ।

नेपालमा पनि सदस्य संख्या, पूँजी, कार्यक्षेत्र, मानव संशाधन  लगायतका आधारमा विगत लामो समयदेखि पहिलो नम्बरमा रहेको विर्तामोड-२, चारपाने झापास्थित सहारा नेपाल साकोसमा करिब २ लाख सदस्य आवद्ध छन् भने ५ सय कर्मचारी कार्यरत छन् ।

त्यस्तै, ५१.२३ बिलियन अमेरिकी डलर वार्षिक कारोबारका साथ वर्ल्ड कोअपरेटिभ मनिटर प्रतिवेदनको पहिलो नम्बरमा रहेको (वार्षिक कारोबारको आधारमा) दक्षिण कोरियाको ननग्युप एर्गिकल्चरल फेडरेशन जस्तै हो नेपालको सहारा नेपाल साकोस जसको पछिल्लो वित्तीय प्रतिवेदन अनुसार कुल सम्पत्ति पनि करिब २० अर्ब हाराहारी पुगेको छ । संस्थाको बाह्य ऋण छदैछैन । झण्डै ८ प्रतिशतको हाराहारीमा सदस्यको हक नलाग्ने संस्थागत पुँजी छ । सहारा नेपाल साकोससँग कुल बचत करिब १४ अर्ब ८८ करोड २५ लाख रुपैयाँ छ भने लगानीमा रहेको ऋण ११ अर्ब ७२ करोड ३९ रुपैयाँ छ । त्यस्तै, विभिन्न कोषमा ८० करोड ३१ लाख रुपैयाँ छ । संस्थामा हाल ३७.२२ प्रतिशत तरलता छ।

Screenshot (928).png
सन् २०२३ लाई आधार वर्ष मानेर सार्वजनिक वर्ल्ड कोअपरेटिभ मनिटर २०२५

दुई लाख सदस्य, सहारा नेपालको भविष्य

जसरी अमेरिकाको नेभी फेडेरल क्रेडिट युनियनले भनेको छ, ‘आवर मेम्बर्स आर द मिशन’ त्यसैगरी सहारा नेपालले पनि करिब २ लाख सदस्यहरुलाई नै आफ्नो ध्येय मानेको छ । लामो समय अध्यक्ष भई हाल प्रमुख कार्यकारी अधिकृत रहेका सहारा नेपाल साकोसका प्रणेता महेन्द्र कुमार गिरी भन्छन्, ‘हो, हाम्रो मिशन भनेकै हाम्रा करिब २ लाख मेम्बर्स (सदस्यहरु) हुन् ।’

उनी स्पष्ट पार्छन्, ‘सदस्यहरु छैनन् त सहारा नेपाल साकोस छैन । सहारा मात्र होइन कुनै पनि सहकारी हुँदैनन् । त्यही भएर सदस्यलाई केन्द्रमा राखेर संस्थागत परिकल्पना, ध्येय, उद्देश्य, रणनीति, कार्यदिशा तथा कार्यक्रहरु हामीले तय गर्दै आएका छौं । त्यही भएर नै हामी यति लामो यात्रा गर्न सफल भएका छौं ।’

सहकारीको पहिचान र प्रतिष्ठा सदस्यको समृद्धिसँग जोडिएको हुन्छ । सहकारी र सदस्य एक अर्काका पर्याय (सिननिमस) हुनुपर्छ । सदस्यको जीवन रुपान्तरणमा सहकारीको अर्जुनदृष्टि केन्द्रित हुनुपर्छ । तर, मुठ्ठीभरका केही सञ्चालकहरुले सहकारीको मूल्य, मान्यता र सिद्धान्त कुल्चेर व्यक्तिगत हितमा आँखा गाढेपछि सदस्यको संस्था भनिएका सहकारीहरु स्खलित भएका हुन् ।

सहकारीहरुले सदस्यहरु (खासगरी बञ्चितीकरण र बहिष्करणमा परेकाहरु) लाई बिर्सदा समस्याहरु आएका हुन् । त्यसलाई हेक्कामा राखेर सहारा नेपाल साकोसले साँच्चै भन्ने हो भने गह्रौं मन लिएर एउटा विवकपूर्ण निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत गिरी सुनाउँछन्, ‘हामीले सञ्चालक समितिमा भएकाहरुले संस्थाबाट ऋण लिन नपाउने निर्णय गर्यौं । यसले हामीलाई उदाहरण बनेर अरुलाई सुनाउन र संस्थालाई सुशासित बनाउन मद्दत गर्यो ।’

२०५२ सालमा स्थापना भएको सहारा नेपाल साकोसमा शुरुका केही वर्ष यो प्रबन्ध थिएन तर संस्था बढ्दै गएपछि सुशासनका सवालमा शून्य सहनशीलताको नीति अंगीकार गर्दै नयाँ नीतिगत व्यवस्था गरिएको गिरीले सुनाए । सुशासन भाषणमा होइन नीतिगत प्रवन्ध र त्यसको कार्यान्वयनमा झल्कने भएकाले उक्त निर्णय गरिएको गिरीले केही समय अघि सुनाए ।

विश्व क्रेडिट युनियन अभियानको छाता संघ विश्व ऋण परिषद् (ओकू) मा आबद्ध हजारौं क्रेडिट युनियनहरुले ‘मेम्बर फर्स्ट’ भन्छन् जसलाई नेपालमा भने समुदायमा आधारित सदस्य केन्द्रित सहारा नेपाल जस्ता सहकारीहरुले ‘सदस्य पहिला’ भन्दै त्यही अनुरुप कार्य गर्दै आएका छन् । प्रमुख कार्यकारी अधिकृत गिरी भन्छन्, ‘सदस्यहरु अघि बढ्दा संस्था स्वतः अघि बढ्छ । सदस्यहरुले जब सहकारीलाई आफ्नो जीवनको सामाजिक आर्थिक लगायत बहुआयामिक रुपान्तरणको बलियो आधार मान्छन् तब संस्थाको ग्रोथ र डिभेलमपेन्ट सम्भव हुन्छ ।’

नेपालको साकोस अभियानसँग शुरुवातदेखि नै जोडिएको एशियाली ऋण महासंघ (अकू) की प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रुके (लेनी) सधैं भन्ने गर्छिन्, ‘जुन सहकारीका सदस्यहरु शिक्षित हुन्छन्, त्यो सहकारी सबल हुन्छ ।’ त्यही भएर सहारा नेपालले सदस्य शिक्षालाई केन्द्रमा राखेको छ । जसअन्तर्गत सहकारी शिक्षा, वित्तीय शिक्षा, स्वास्थ्य शिक्षा, सामाजिक समस्याहरुबारे सचेतना जस्ता कार्यक्रमहरुलाई क्यालेन्डर इभेन्ट्समा समावेश गर्दै आएको छ ।

जब सदस्यहरुले आफू आबद्ध सहकारीको सञ्चालन पद्धति, सञ्चालक, सिद्धान्त र उद्देश्य र लक्ष्यबारे बुझ्दछन् तब जस्तै हावाहुरीले पनि संस्थालाई असर गर्दैन् । त्यही अभियानमा अनवरत लागिरहेको गिरीले बताए । ‘हामी बस् सदस्य हेर्छौं, ‘गिरी भन्छन्, ‘त्यही भएर बजारमा चलेका सहकारीका नकारात्मक हल्ला र भ्रमले हामीलाई खासै असर गर्दैन ।’

सदस्य संरक्षण नीति (कन्ज्यूमर प्रोटेक्सन प्रिन्सिपल) का हिसाबले सहारा नेपाल साकोसले सन् २०२१ मा स्मार्ट सर्टिफिकेट समेत प्राप्त गरेको छ । त्यही भएर प्रमुख कार्यकारी अधिकृत गिरी अब केवल सहारा नेपाल साकोस होइन 'स्मार्ट सहारा नेपाल साकोस' भन्न रुचाउँछन् ।

न्यून वित्तीय जोखिम

‘डोन्ट पुट अल एग्ज इन वन बास्केट’ भन्ने लगानीको सिद्धान्तलाई व्यावहारिक रुप दिएको छ सहारा नेपालले । प्रमुख कार्यकारी अधिकृत गिरी भन्छन्, ‘सहारा नेपाल साकोस सदस्यहरुका लागि सेफेस्ट पार्किङ जोन बनेको छ किनकि हामीसँग न्यून जोखिमका लगानीहरु छन् । धेरै सदस्यहरुलाई लघु ऋण उपलब्ध गराएका छौं । लगानीयोग्य रकम सीमित डालोमा मात्र खन्याएका छैनौं । पोर्टफोलियो म्यानेज गरेका छौं । र, तरलता मनग्य राखेका छौं ।’ हुनपनि संसारमा असफल भएका सहकारीहरुमध्ये ९० प्रतिशत माथिको कारण तरलता संकट हो ।

सहारा नेपालसँग हाल ३७.२२ प्रतिशत तरलता छ । कुशलतापूवृक तरलता व्यवस्थापन गरेको सहारा नेपालले सन्तुलित कर्जा प्रवाह रणनीति अवलम्बन गरेको दाबी गरेको छ । वित्तीय स्थायित्वको आधार कर्जा नीतिले नै तय गर्ने हो । स्वस्थ्य वित्तीय सूचकांकहरुको आडमा संस्था अघि बढेको छ । प्रमुख कार्यकारी अधिकृत गिरी भन्छन्, ‘सञ्चालकहरुले ऋण लिन नपाउने अनुशासनले पनि वित्तीय जोखिम न्यूनीकरण गरेको छ ।’ अर्को भनेको करिब ८ प्रतिशतको संस्थागत पुँजी (इन्स्टिच्युशनल क्यापिटल) हो जसले संस्थाको स्थायित्व र दिगोपनाको हरियो झण्डा गाडेको छ । त्यही दिशामा संस्थाले पुँजी पर्याप्तता अनुपात (कार) लाई १० प्रतिशत पुर्याउने नीति अवलम्बन गरेको पछिल्लो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

सुरक्षित लगानीको कुरा गर्दा, लघुवित्त कार्यक्रमले पनि ससाना ऋण लगानीमा सहयोग पुर्याएको छ । यसैगरी, जोखिमका हिसाबले सधै भनिदै आएको विषय भनेको ससाना लगानीहरु सकेसम्म धेरै सदस्यहरुमा लगानी गर्नुपर्छ । यही रणनीति सहारा नेपाल साकोसले अवलम्बन गरेको छ ।

त्यसैकारण, सहारा नेपाल साकोस केवल मुलुकको ठूलो सहकारी होइन, वित्तीय रुपमा सबल, व्यावसायिक रुपमा दिगो र सदस्य प्रभावका दृष्टिले पहिलो रोजाइको वित्तीय संस्था बन्न सफल भएको तथ्याङ्कहरु कहन्छन् ।

सहारा नेपाल साकोसबाट ६४ हजार ४५० जना सदस्यले ऋण सेवा उपभोग गरिरहेका छन् । कुल सदस्य संख्याको उल्लेख्य हिस्सा कर्जा सेवामा समेटिनुले सहारा नेपाल साकोसले आफ्ना सदस्यको आर्थिक आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गरिरहेको देखाउँछ । यसले संस्थाले बचत संकलन मात्र नभई उत्पादनशील र आवश्यकतामा आधारित कर्जा प्रवाहमार्फत सदस्यको जीवनस्तर सुधार, उद्यमशीलता प्रवर्धन र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेलेको संकेत गर्छ ।

संस्थाले सार्वजनिक गरेको पछिल्लो अपरिष्कृत वित्तीय विवरण अनुसार सहारा नेपाल साकोसले कुल बचत करिब १४ अर्ब ८८ करोड २५ लाख रुपैयाँ संकलन गरेको छ भने लगानीमा रहेको कर्जा ११ अर्ब ७२ करोड ३९ रुपैयाँ रहेको छ । त्यस्तै, विभिन्न कोषमा ८० करोड ३१ लाख रुपैयाँ रहेको छ । स्वस्थ्य वित्तीय सूचकहरुलाई थप स्वस्थ्य बनाउँदै सहारा नेपाल साकोस अब आफ्ना २ लाख सदस्यहरुको ‘सबैका लागि सधैंका लागि’ बन्ने यत्नमा लागिपरेको प्रमुख कार्यकारी अधिकृत गिरीले सुनाए ।

sahara-ceo.jpg
सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरी

बिग इज ब्यूटीफुल एण्ड पावरफुल

२०८२ माघको मध्यतिर राष्ट्रिय सहकारी नियमन प्राधिकरणको प्रथम वार्षिकोत्सव कार्यक्रममा पूर्व मन्त्री एवम् नेपालको सहकारी अभियानका अग्रणी केशब प्रसाद बडालले भने, ‘सहकारीका सन्दर्भमा सानो हुँदैमा राम्रो र ठूलो हुँदैमा बिग्रेको भन्ने हुँदैन । सुशासन, इमानदारी, भिजनरी नेतृत्व र सांगठनिक व्यवस्थापन बलियो भयो भने ठूलो पनि बलियो हुन्छ र त्यसो भएन भने सानो पनि सकिन्छ ।’

हुन पनि हो, केही वर्षअघि सम्म मुलुकका सहकारी अभियानमा ‘स्मल इज् ब्युटीफुल’ भन्ने भाष्य निर्धारण भएको थियो । ठूलो हुँदै जाँदा सहकारीमा अनेकन समस्याहरु आउँछन् भन्ने भनाइ स्थापित गरिएको थियो । त्यसको केही वर्षपछि ‘स्मल इज ब्युटीफुल बट बिग इज पावरफुल’ भनेर ठूला हुँदै गएका सहकारीहरुले आफ्नो पावरपोइन्ट प्रेजेन्टेशनहरुमा समेट्दै गएँ । तर, जब केही ‘सो कल्ड’ अनि ‘सेल्फ प्रोक्रेल्म्ड’ ठूला सहकारीहरु तासको घरझैं गर्ल्यामगुर्लुम ढले तब ठूलाहरुप्रति संशय बढ्न थाल्यो ।

तर सहारा नेपाल साकोसले त्यो भाष्यलाई चिर्दै आएको छ । लम्बाई र चौडाइ, उचाइ र वजनमा भएको सहारा नेपाल साकोसको ‘फोर डाइमेन्शनल ग्रोथ’ देखेर नै धेरै सहकारीहरुले फैलावटमा ध्यान दिएका छन् । उद्देश्य, नियत र नीति सही लिएकाहरु त्यसमा सफल पनि भएका छन् । हो, सहकारी अभियान बुझेका बडालले भनेझैं भिडहरुको माझमा ८० वटा सेवा केन्द्र भएको सहारा नेपाल साकोसले यो इतिहास निर्माण गर्न सक्नुको पछाडि विश्व सहकारी अभियानका ठूला र शक्तिशाली सहकारीहरुलाई नै हेरेर हुनुपर्छ । अझ भनौं आईसीएको ‘टप थ्री हन्ड्रेड’ सुनेर, पढेर र केही हदसम्म हेरेर हुनुपर्छ । वित्तीय अनुशासन, सुशासन, जोखिम व्यवस्थापन आदि विषयलाई ध्यान दिएर चलाउने हो भने ठूलो संस्था पनि सुरक्षित हुन्छ अन्यथा सानो पनि यसै सुक्छ नै ।

सहारा साकोस ठूलो र सफल सहकारीको ‘मेटाफर’ हो । नेपालको सफल सहकारीको बिम्ब बन्न सक्षम यसले विगतमा संघर्षको पनि आस्वादन गरेको छ । हिजोको कठिन संघर्षको आधारशिलामा आजको सहारा नेपाल साकोसको खडा भएको छ । ५ सय बढी जनशक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्नु चानचुने कुरा होइन ।

उद्यमी सदस्य, सहाराको उद्देश्य

बिश्व बचत ऋण सहकारी अभियानका पिता एफ डब्लु राइफाइसनले क्रेडिट युनियको उद्देश्यका सम्बन्धमा भनेका छन्, ‘क्रेडिट युनियनहरुले आफूलाई केवल ऋण दिने संस्थाका रुपमा मात्र सीमित गर्नुहुँदैन । उनीहरुको मुख्य उद्देश्य पैसाको प्रयोगलाई नियन्त्रण गर्नु, सदस्यको नैतिक र मानवीय मूल्यहरुमा सुधार ल्याउनु र सदस्यहरु आफैलाई पैसाको सदुपयोगका निम्ति प्रेरित गर्नुपर्ने हुनेछ ।’

राइफाइसनले भनेझैं सहारा नेपाल साकोसले केवल ऋण प्रवाह गर्ने वित्तीय मध्यस्थकर्ता मात्र नभई सदस्यहरुलाई उद्यमी बनाउने, पैसाको महत्व सिकाउने, आत्मनिर्भर बनाउने अनि बहु आम्दानीका उपायहरु सिकाउने काममा आफूलाई समर्पित गरेको प्रमुख कार्यकारी अधिकृत गिरी बताउँछन् । उनी भन्छन्, ‘हामी सदस्यलाई ऋणको भारी बोकाउने होइन उद्यमी बनेर रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माणको आजको आवश्यकतामा सकेजति योगदान गर्ने अभियानमा छौं ।’

त्यसका लागि संस्थाले स्वरोगराजमूलक सीप विकासका कार्यक्रहरु तथा उद्यम विकास प्रवर्धनसम्बन्धी तालिम सञ्चालन गर्दै आएको जनाएको छ । पशुपालन, व्यावसायिक तरकारी खेती, च्याउखेती तालिम, अग्र्यानिक कपुर धुप निर्माण तालिम, वित्तीय साक्षरता तालिमसँगै मार्फत पैसाको महत्व बुझाउने, सुरक्षित लगानीका लागि प्रेरित गर्ने र वेल्थ क्रिएशनसँग सदस्यहरुलाई  जोडेको सहारा नेपाल साकोसले जनाएको छ । गिरी भन्छन्, ‘हामीले हजारौं सदस्यहरुलाई उद्यमी र व्यवसायी बनाएका छौं र त्यो अभियान अझ प्रभावकारी ढंगले अघि बढेको छ ।’

वातावरणमैत्री र कार्वन न्यूट्रल कार्यक्रहरुमार्फत दिगो विकासको लक्ष्यमा योगदान दिइरहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, ग्रीन शप र इन्क्युबेशन सेन्टर स्थापनाको काम पनि यसै आर्थिक वर्षमा अघि बढाउने संस्थाले जनाएको छ ।

महिला सशक्तिकरणको ‘सहारा’

समुदायमा पिछडिएका महिलाहरुको सशक्तिकरणको सारथी बनेको छ सहारा नेपाल । लघुवित्तमार्फत त्यस्ता महिलाहरु आत्मनिर्भर बनेका छन् । समग्रमा हेर्ने हो भने, महिलाहरुको सदस्य सहभागिता पनि अत्यन्त उत्साहजनक छ संस्थामा । करिब २ लाख सदस्यमध्ये १ लाख ६६ हजार बढी महिलाहरु रहेका छन् । १५ सदस्यीय सञ्चालक समितिमा ५ जना महिला छन् । १४ वटा कर्जा शीर्षकमा लगानी गरिरहेको सहारा नेपाल साकोसका ६४हजार बढी ऋणीहरुमध्ये पनि महिलाहरु नै बढी छन् । आत्मनिर्भर, उद्यमी र चेतनशील महिलाहरु निर्माणमा सहारा साकोसले अग्रणी भूमिका निर्वाह गरेको जनाएको छ ।

३१औं स्थापना दिवसको नजिक रहेको सहारा नेपाल साकोसले प्रारम्भ देखि नै समुदायमा पिछडिएका महिलाहरुको सक्षमता विकासमा जोड दिदैं आएको छ । महिलाहरुमा नेतृत्व क्षमता, सहकारी र वित्तीय शिक्षा, स्वरोजगारमूलक सीप तथा पुँजीका लागि सहयोग उपलब्ध गराउँदै आएको प्रमुख कार्यकारी अधिकृत गिरीले बताए ।

SA.jpg
सहाराको सामर्थ्य

सहकारी सामाजिक उत्तरदायित्वबोध (सीएसआर)

केही समय अघि धिप्री डटकमसँग कुरा गर्दै सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत गिरीले भनेका थिए, ‘सहकारीहरु लाभांशमुखी होइन सेवामुखी हुनुपर्छ । सदस्यहरुलाई दिने सेवाहरुमा विविधता र बिशिष्टता थप्नेतर्फ हामी सहकारीहरुको ध्यान जानुपर्छ ।’

सदस्यहरुसँगै सहारा नेपालले सहकारी सामाजिक उत्तरदायित्का कार्यक्रमहरुमार्फत पनि पहिचान र पकड स्थापित गर्दै गएको छ । सहाराले संस्थागत सामाजिक उत्तरदायित्वका इन्द्रेणी कार्यक्रमहरुमार्फत सदस्य र समुदायलाई सेवा प्रदान गरेको उनले उल्लेख गरे ।

‘जब हामी सदस्यहरुलाई यति नाफा दिन्छौं भन्छौं हामी त्यही गलत हुन्छौं, ’उनले भने, ‘हामीले सदस्यहरुलाई सहकारीको उद्देश्य र व्यवसायको प्रकृतिबारे सुस्ष्ट शिक्षा र सेचतना जागृत गराउन सक्छौं, तब हामी उनीहरुलाई कसरी बढीभन्दा बढी सेवा र सहजता उपलब्ध गराउँछौं भन्नेमा काम गर्न सक्छौं ।  अनि सहकारीको उद्देश्य सफलीभूत हुन्छ ।’ हुन पनि हो, जब सहकारी सञ्चालनको उद्देश्यमै नाफा कमाउने र अस्वाभाविक लाभांश बाँढ्ने भन्ने हुन्छ तब विचलनको प्रस्थान विन्दू त्यहींबाट प्रारम्भ हुन्छ ।

यसैगरी, संस्थाले सञ्चालन गरेको सामाजिक सुरक्षा तथा स्वास्थ्य कार्यक्रमबाट आर्थिक वर्ष २०८१/८२ मा ८ हजार ६ सय ८५ जनालाई २६ करोड १७ लाख बढी सहयोग प्राप्त गरेका थिए । 

नेपालको मानक सहकारी

हिलोमा कमल फुल्छ, निराशाहरुबीच आशाको किरण अभ्यूदय हुन्छ । सपना देख्ने मात्र होइन त्यो सपनाको खेतबारीमा मिहेनतको मलिलो मल मिसाउने हे भने सफलताको फसल लाग्छ भन्ने प्रमाणित सहारा नेपाल साकोसले गरेको छ ।

सहकारीप्रति संकटको कालो बादल मडारिहेको समयमा सहारा नेपाल साकोस सहकारी अभियानको ‘सहारा’ बनेको छ । तर, यो सन्देश बोकेर अब सहारा नेपाल साकोस अन्तर्राष्ट्रिय सहकारी मञ्चहरुमा गौरवपूर्ण ढंगले शिर ठाडो पारेर उपस्थित हुनुपर्छ । स्ट्रङ्ग इन्टरनेशनल भिजिबीलीटी बनाउनुपर्छ । 

नेपालको सफल सहकारीको ‘प्रोटोटाइप’ को रुपमा सहारा नेपाल साकोसलाई चित्रित गरिनुपर्दछ । जसरी रोचडेल पायोनियर्स विश्व सहकारी अभियानको प्रोटोटाइप बनेको छ । सहकारीले गर्न खोज्ने हो भने असम्भव केही छैन भन्ने उम्दा उदाहरण सहारा नेपाल सहकारीले प्रस्तुत गरेको छ । त्यसैले, विश्व सहकारी मानचित्रमा नेपालको सहकारी अभियानको दरिलो उपस्थिति खोज्न अब सहारा नेपाल साकोसमार्फत ‘सहारा’ खोज्नुपर्ने बेला आएको छ । सहारा नेपाल साकोसलाई बोकेर हामी विश्व सहकारी मानचित्रमा आफ्नो मुलुकको सहकारी अभियानको नक्सा कोर्न सक्छौं ।

घरभित्र (मुलुकमा) सहारा नेपाल सहकारीको जति चर्चा हुने गर्छ यो चर्चाको विश्वव्यापीकरण वा भनौं अन्तर्राष्ट्रियकरण अबको टड्कारो आवश्यकता हो । सहारा नेपाल सहकारी विश्व सहकारीका मुख्य मञ्चहरुमा बाक्लो रुपमा देखिनु, सुनिनु र चर्चा गरिनुपर्छ । यसमार्फत सदस्यहरुको जीवनमा भएको रुपान्तरणका केश स्टडी र स्टोरीहरु कहिनुपर्छ ।

विश्वका १ सय १ मुलुकम गरी ६७ हजार १ सय ३७ क्रेडिट युनियनहरु रहेको विश्व ऋण परिषद् (ओकू) को पछिल्लो स्टेटिस्टिकल रिपोर्टले जनाएको छ । एशिया, अफ्रिका, युरो, उत्तर अमेरिका, दक्षिण अमेरिका, र अष्ट्रेलिया महादेशका मुलुकहरुले कहीनकही नेपालको सहारा नेपाल साकोसको चर्चा गर्ने स्थिति निर्माणमा संस्थाको ध्यान जानु आवश्यक छ । यसले नेपालको सहकारी अभियानको छवि सुधारमा काम गर्नेछ । 

2024_Stat_Report_Web_Banner.png
ओकूको पछिल्लो स्टेटिस्टिकल रिपोर्ट

पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बारम्बार भन्ने गर्थे सहकारीहरुले गरेका राम्रा कामहरुको प्रचारप्रसार व्यापक गर्नुपर्यो । सहकारीप्रति प्रायोजित र नियोजित रुपमा निर्माण गरिएका नकारात्मक भाष्यहरु चिर्न गाउँगाउँमा सहकारीहरुले गरेका राम्रा कामहरुको आक्रामक अभियान (अग्रेसिभ क्याम्पेनिङ) गर्नुपर्यो । हो, यो दिशामा सहारा नेपालका कदमहरु परिलक्षित हुनुपर्ने देखिन्छ । नेपालको सहकारीका सम्बन्धमा धरापका परेका समाचारहरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा छाइरहँदा  अभियानको नेतृत्वदायी भूमिका मुलुकको सबैभन्दा ठूलो सहकारी भएको नाताले सहारा नेपाल साकोसले लिनुपर्छ । किनकि सहकारीहरुमा समस्या पर्दा सबैभन्दा बढी असर पनि हरतरहले ठूलो सहारा नेपाल सहकारीमा पर्छ ।

अब सहारा नेपाल साकोसले आफूलाइै अझैं फैलाउने भन्दा मुर्झाइरहेका सहकारीहरुलाई जलसिञ्चित गरेर जीवनदान प्रदान गर्ने हो । सहकारी अभियानलाई विश्व मञ्चमा स्थापित गराउने कामको अगुवाइ सहाराले गर्न सक्दा होस्टेमा हैंसे गर्ने अरु पनि साथ लाग्छन् । नेपालमा सहकारीमार्फत साँच्चिकै हजारौं सदस्यहरुको जीवनमा सकारात्मक रुपान्तरण भएको छ भन्ने मानक स्थापित गर्ने गहन अभिभारा सहारा नेपाल साकोसको काँधमा आएको छ ।

आईसीए, अकू, ओकू, तथा अन्य अन्तर्राष्ट्रिय सहकारी मञ्चहरुमा सहारा गौरबसाथ नेपालको सहकारी अभियानको प्रतिनिधित्व गर्दै उभिएको सुनिएको, बोलिएको र देखिएको हेर्ने अपेक्षा समग्र सहकारी अभियानले लिएको छ । मुलुकको सहकारी अभियानमा ‘सकारात्मक सोचका एम्बेसेडर’ सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत गिरीको नेतृत्वको सहारा नेपालको व्यवस्थापन तथा हरिबहादुर राजवंशी नेतृत्वको सञ्चालक समितिको टिमको ध्यान यसतर्फ जानु अत्यावश्यक देखिन्छ । हेलो सहकारी !

Screenshot (926).png
सहारा नेपाल साकोसका इन्द्रेणी सेवाहरु

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार