Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
बागमती प्रदेश: बोन अफ कन्टेन्सन

'यो हदको हस्तक्षेपका बाबजूद मेरो जित सुनिश्चित छ'

'यो हदको हस्तक्षेपका बाबजूद मेरो जित सुनिश्चित छ'

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको जेठ ९ गते हुने निर्वाचनमा आफ्नो जीत सुनिश्चित भएको दाबी अभियन्ता रामशरण शर्मा घिमिरेले गर्नुभएको छ । निर्वाचनको मिति नजिकिदैं गर्दा आत्मविश्वास पनि अग्लिदै गरेको दाबी उहाँले गर्नुभयो । सहकारी किबोर्डजीवीहरुसँग कुरा गर्दै घिमिरेले भन्नुभयो, ‘राजनीतिक दलहरुको यो तहको हस्पक्षेपका बाबजूद मेरो जित पक्का छ । देशभरका साथीहरुको आश्वासनले आत्मविश्वास अग्लिएको छ ।’

आफू हार्छु भन्ने त कल्पना पनि नगरेको उहाँले बताउनुभयो । ‘जतिजति निर्वाचनको मिति नजिकिदैं गएको छ, त्यति नै जितको सुनिश्चितताको आत्मविश्वास बढेको छ, ’घिमिरेले भन्नुभयो, ‘यसको कारण देशभरका प्रतिनिधिसाथीहरुबाट पाएको सद्भाव र शुभेच्छा हो । पार्टी निर्देशनका कारण खुलेर लाग्न नसकेपनि मतदान मेरो पक्षमा हुने विश्वास उहाँहरुले दिलाउनुभएको छ । त्यो भनेको पार्टीले गरेका अविवेकी र अन्यायपूर्ण निर्णयको मौन विरोध हो । सहकारीभित्र चरम राजनीतिकरणको प्रतिरोध हो ।’

घिमिरेले भन्नुभयो, ‘विद्रोहको हिम्मतले जित सुनिश्चित गर्दैछ । कतिपय साथीहरुले हामीले त सकेनौं, तपाईंले आँट गर्नुभयो समेत भन्नुभएको छ । पार्टीले यो तहको हस्तक्षेप अहिलेसम्म गरेको थिएन । र, यो तहको हस्तक्षेप सहकारी क्षेत्रमा हुनु बिडम्बनापूर्ण हो ।’

राष्ट्रिय सहकारी बैंकको नयाँ सञ्चालक तथा लेखा सुपरीवेक्षण समिति निर्वाचनमा तीन राजनीतिक दलले गरेको भागबण्डा र हस्तक्षेपप्रति इंगित गर्दै घिमिरेले उक्त कृत्यका बाबजूद आफू विजयी हुने बताउनुभएको हो । सहकारी बैंकको निर्वाचन प्रयोजनका लागि सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने नेपाली कंग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले दलीय भागबन्डा गर्दै ६ प्रदेशमा सर्वसम्मत सञ्चालक निर्वाचित गराइसकेका छन् भने सबैभन्दा बढी मतदाता रहेको बागमती प्रदेश अहिले ‘बोन अफ कन्टेन्सन’ बनेको छ ।

उक्त प्रदेशको सञ्चालक सदस्यका लागि तीन दलले नेकपा एमालेका नेता सहकारी अभियन्ता डा.परितोष पौड्याललाई साझा उम्मेदवार घोषणा गरेका छन् । नेकपा एमालेले त उहाँको पक्षमा मतदान गर्न जिल्ला तथा प्रदेशका कमिटिहरुलाई निर्देशन जारी गरिसकेको छ । नेकपा एमालेको यो कदमलाई सहकारी अभियन्ताहरुले चरम राजनीतिकरणको संज्ञा दिएका छन् ।

नेकपा एमाले पार्टीभित्रकै असन्तुष्ट सहकारीकर्मीहरुले बागमती प्रदेश सहकारी संघका अध्यक्ष घिमिरेलाई पौड्याल विरुद्ध चुनावी मैदानमा उतारेका हुन् । यसबीच सहमतिका अनेकन प्रयास असफल भए पछि अवस्था अब लोकतान्त्रिक विधिको अभ्यास नजिक पुगेको हो । त्यसका लागि सातैप्रदेशका प्रतिनिधिहरु जेठ ९ गते आ-आफ्नो स्थानमा मतदानमा सहभागी हुँदैछन् । राजनीतिक दलमा आस्थावान भएपनि आफू कुनै एक वा दुई पार्टीको मात्र नभई मुलुकको सहकारी अभियानको साझा उम्मेदवार भएको घिमिरेले बताउनुभयो ।

घिमिरेले प्रष्ट पार्नुभयो, ‘राजनीतिक दलहरु चाहिदैन भनेको होइन । लोकतन्त्रमा दलको विकल्प छैन । उनीहरुको सहजीकरण आवश्यक छ । दलहरुले सहकारीलाई सहजीकरण नगर्दा कानूनी, नीतिगत विषयहरुसँगै बहसपैरवीले सफलता प्राप्त गर्दैन यो सबैले बुझेको कुरा हो तर यो तहको हस्तक्षेप खेदपूर्ण छ ।’

नेकपा एमालेमै आस्थावान घिमिरे पार्टीले आफूप्रति अन्याय गरेको बताउनुहुन्छ । विगतमा बैंकको सञ्चालक भएर दुई कार्यकाल (१० वर्ष) काम गरेको, बैंक बुझेको नेतृत्व गर्न सक्षम, विगतमा सहकारी संघहरुमा गरेको नेतृत्व समेत सफल भएको र डिजर्भिङ व्यक्तिलाई पार्टीका उच्चतहका केही नेतृत्वको जर्बजस्तीमा अन्याय गरिएको घिमिरेले टिप्पणी गर्नुभयो । पार्टीले न्याय गरेन, ’घिमिरेले भन्नुभयो, ‘पार्टीले न्याय गर्छ भन्ने विश्वास थियो । अभियानका साथीहरुले बैंकलाई बचाउन पनि तपाईं उम्मेदवार बन्नुपर्छ, बैंकमै विगतमा बसेर काम गरेको तपाईं हुनुपर्छ भन्नुभयो, त्यही भएर सबैको भावनाको कदर गर्दै मैले उम्मेदवारी दिएको हुँ । म योग्य छु ।’ 

सहकारी बैंकमा आफ्नो उम्मेदवारीका आधारहरु प्रस्तुत गर्दै उहाँले सुनाउनुभयो, ‘एउटा भनेको ध्रुब विष्टजी पछि हटिसकेपछि बैंक बुझेको व्यक्ति म हुँ । अभियानका साथीहरुले बैंकमै बसेर काम गरेको र बैंकका विविध आयामहरु बुझेको व्यक्ति नेतृत्वमा आउनुपर्छ भन्नुभएको छ । अर्को भनेको मैले जुनजुन संस्था र संघमा बसेर काम गरे त्यहाँ राम्रो काम गरेको छु ।’ पार्टीको दबाव भन्दा पनि सहकारी अभियानमा भएको यो हदसम्मको राजनीतिकरणको जस्टिफायवल विरोध गर्दै विवेकशील मतदाताहरु मेरो पक्षमा उभिनुहुनेछ ।’ अहिले पार्टीको दबावका कारण कतिपय साथीहरु आफूतिर खुल्न नसकेको उहाँको भनाइ थियो । ‘धेरै साथीहरुले बोली एकातिर दिनुभएको छ तर मत मलाई दिने निश्चित छ ।’

समग्र पार्टीभन्दा पनि पार्टीभित्रका केही उच्च पदस्थहरुले गरेको अविवेकी निर्णयको आफूले विरोध गरेको भन्दै त्यसविरुद्ध जस्तासुकै कदमहरु चालिए पनि त्यसले आफूलाई फरक नपर्ने घिमिरले प्रतिक्रिया जनाउनुभयो ।

‘म पनि पार्टीमा बसेर काम गरेको व्यक्ति हुँ, पार्टीको निर्णय र निर्देेशन अवज्ञा गरेको भन्दा पनि विवकपूर्ण कदम चालेको हुँ, ’उहाँले भन्नुभयो, ‘देशभरका सहकारी अभियानकर्मीहरुको प्रतिनिधि बनेर सहकारी बैंकलाई जोगाउन र समग्र सहकारी अभियानको साख रक्षाका लागि सिपाही बनेर रणभूमिमा उत्रिएको हुँ ।’

विगतमा पार्टीमा आस्थावान सहकारीकर्मीहरुले नै संघ महासंघमा को व्यक्तिलाई पठाउने नपठाउने भन्ने निक्र्यौल गर्ने प्रचलन रहेकोमा अहिले भने पार्टी भित्रका सहकारीकर्मीहरु भन्दा पनि उच्चतहबाट कसैलाई काखा र कसैलाई पाखा गर्ने हिसाबले सिधैं निर्देशन लाद्ने कुरा भएको भन्दै घिमिरेले रोष प्रकट गर्नुभयो । ‘यसले न त पार्टीलाई सही गर्छ, ’उहाँले भन्नुभयो, ‘न त सहकारी अभियानलाई नै ।’ उसैत राजनीतिक दलहरुको हस्तक्षेपबाट प्रताडित सहकारी अभियान यस किसिमको अविवेकी निर्णय र कदमहरुका कारण झनै थिलथिलो हुने भनाइ उहाँको थियो । 

‘म आफैं विगतमा दुई पटक बैंकबाट सञ्चालक निर्वाचित हुँदा पार्टीबाटै अघि बढाइएको थिएँ, ’उहाँले भन्नुभयो, ‘तर त्यसको निर्णय पार्टीप्रति आस्थावान सहकारीकर्मीहरुको सामूहिक भावनाबाट हुने गर्दथ्यो तर यो पटक भने त्यो भन्दा पनि माथिल्लो तहबाटै जबर्जस्ती निर्णय लाद्ने काम भयो । यो सही भएन ।’ 

पार्टीको गलत निर्णयको चेतनशील विरोध भएको भन्दै त्यसको विष्फोट जेठ ९ गते हुने दाबी घिमिरेको छ । पार्टीबाट गराइएका निर्णयहरुको ब्याकफायर हुने स्पष्ट संकेतहरु मिलिसकेको उहाँले उद्घोष गर्नुभयो । ‘ म बलियो अवस्थामा छु । मैले हिम्मत गरेँ, चुनाव जितेँ, ’घिमिरेले भन्नुभयो ।

उहाँले नेतृत्व लिएपछि पनि चुनौतीहरु स्वाभाविक रहने भन्दै समन्वयकारी स्वभावका कारण सबैको मन जितेर सहकारी बैंकलाई सबैको बैंक बनाउने क्षमता आफूले राख्ने बताउनुभयो । बैंकको निर्वाचनका लागि तीन दलीय सहमति अनुसार  एमालेलाई बागमती, कोशी र गण्डकी परेको छ भने मधेश र सुदूरपश्चिमको भाग कांग्रेसले पाउँदा नेपाली कम्युनिस्ट पार्टी नेकपालाई लुम्बिनी र कर्णाली भाग परेको छ । बैंक सञ्चालकमा कोशीबाट लक्ष्मीप्रसाद उप्रेती, मधेशबाट मन्दिरा आचार्य, गण्डकीबाट कमलादेवी गिरी, लुम्बिनीबाट विष्णुप्रसाद बराल, कर्णालीबाट कालीप्रसाद महतरा र सुदूरपश्चिमबाट मनमोहन विष्ट निर्विरोध निर्वाचित भइसकेका छन् ।

702223788_4515850301997032_4013507158341783715_n.jpg
undefined

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार