Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
१०४ औं अन्तर्राष्ट्रिय सहकारी दिवस

विश्व शान्ति कायम गर्न सहकारीको हस्तक्षेपकारी भूमिका आवश्यक

विश्व शान्ति कायम गर्न सहकारीको हस्तक्षेपकारी भूमिका आवश्यक

काठमाडौं । आज जुलाई महिनाको पहिलो शनिबार (४ जुलाई) अर्थात्  १०४ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, ३२ औं संयुक्त राष्ट्रसंघीय तथा ३३औं राष्ट्रिय सहकारी महासंघ दिवस । आज यो दिवस नेपालसहित विश्वभरको सहकारी अभियानले विभिन्न कार्यक्रम गरी मनाउँदैछ । 'शान्तिपूर्ण विश्वका लागि सहकारी' भन्ने मूल नाराका साथ सहकारी अभियानप्रतिआन्दोलनको साझा प्रतिबद्धता अभिव्यक्त गरिदैंछ । हिंसा, द्वन्द्व र अस्थिरताले विश्वका धेरै भूभागलाई प्रभावित गरिरहेको वर्तमान परिवेशमा यो दिवस शान्ति, सहकार्य र मानवीय एकताको भविष्य निर्माणका लागि विश्व सहकारी आन्दोलनले गरेको यो सशक्त आह्वान हो।

अन्तर्राष्ट्रिय सहकारी दिवस प्रत्येक जुलाई महिनाको पहिलो शनिबार मनाउने प्रचलनको शुरुवात सन् १९२३ बाट शुरु भएको हो । संयुक्त राष्ट्र संघले सन् १९९५ बाट यसलाई मान्यता प्रदान गरेको हो । विश्वभर सहकारीको महत्व, उद्देश्य, सिद्धान्त, सफलता र सम्भावनाहरुबारे जनचेतना, शिक्षा, जागरण र प्रवर्द्धनका कार्यक्रमहरु गरी यो दिवस मनाइँदैछ ।

विश्व शान्ति स्थापनामा सहकारीको भूमिका
सहकारी क्षेत्रले विश्व शान्तिका लागि अर्थपूर्ण प्रयासहरु गर्न सक्दछ भन्ने मान्यता राख्दछ । उक्त मान्यताको व्यावहारिक परिणति पनि इतिहासले दर्शाइसकेको छ । युद्धविरामदेखि द्धन्द अन्त्यसम्म प्रत्यक्ष मध्यस्थतादेखि बहसपैरवीमा यो क्षेत्रका भूमिका रहन्छ । दोस्रो विश्वयुद्धताका शान्ति र अमनचयन कायम गर्न सहकारी अभियानको भूमिका प्रशंसनीय रहेको इतिहास छ । मध्यपूर्वदेखि, रुस र युक्रेन, अमेरिका र इरान, हाम्रै छिमेकी मुलुक भारत र पाकिस्तानबीच लामो समयदेखिको तनाव अन्त्यमा पनि सहकारी अभियान (अन्तर्राष्ट्रिय सहकारी महासंघ) को भूमिका रहनसक्दछ । यस दिशामा आजको दिनले प्रेरणा दिने अपेक्षा गर्न सकिन्छ ।  

विश्वका विभिन्न मुलुकमा सहकारी संस्थाहरूले शान्ति स्थापनार्थ योगदान गरेका छन् । द्वन्द्वपछिको मेलमिलाप, महिलाको सशक्तीकरण, लैङ्गिक हिंसा न्यूनीकरण तथा सङ्कटका समयमा जीविकोपार्जनको संरक्षणजस्ता क्षेत्रमा सहकारीहरूले लोकतान्त्रिक सहभागिता, ऐक्यबद्धता र साझा समृद्धिका माध्यमबाट उल्लेखनीय परिणाम हासिल गरेका छन्। युद्धअन्त्यपछिको दीघर्कालीन पुनस्थापनामा यो क्षेत्रले महत्वपूर्ण काम गरेको छ चाहे त्यो अफ्रिकी मुलुक रुवाण्डा होस् वा दक्षिण एशियाली मुलुक श्रीलंका तथा फिलिपिन्स ।त्यसैगरी, दिगो विकासमा पनि सहकारीको भूमिकामा जोड दिदैं संयुक्त राष्ट्र संघले यस क्षेत्रलाई 'एक्टिभ एजेन्ट'को रुपमा मानेको छ ।

शान्ति र अमनचैन स्थापनाका लागि सामाजिक आर्थिक विभाजनहरु कारक बन्दछन् । तिनको समाधानमा सहकारीको प्रभावकारी भूमिका अपेक्षित छ । त्यही भएर सहकारीलाई समाजमा पिछडिएका वर्ग र समुदायको उत्थानको अभियान भनिएको हो । सबैलाई मालिक बनाउने, आर्थिक र सामाजिक रुपान्तरणसँग जोड्ने भएकाले यो अभियानको बैशिष्ट्य स्थापित छ ।आजको आवश्यकता भनेको समाजमा व्याप्त मुख्यतः आर्थिक असमानता अन्त्य गर्न सहकारी अंग्रपक्तिमा उभिनुपर्छ । सदस्यहरुको सामाजिक आर्थिक उन्नयन भनेको त्यही हो । यदि सहकारीका प्रत्येका सदस्यको सामाजिक र आर्थिक जीवनमा सकारात्मक परिवर्तन सहकारीकामार्फत सम्भव हुने हो भने असमानता र विभाजनका पर्खालहरु भत्कनेछन् । शान्ति स्थापनको प्रस्थान बिन्दू त्यही हो । सहकारिताले ऐक्यबद्धता, लोकतान्त्रिक सहभागिता, आपसी विश्वास तथा साझा समृद्धिका माध्यमबाट समावेशी, न्यायपूर्ण र शान्तिपूर्ण समाज निर्माण गर्न व्यवहारमा प्रमाणित र प्रभावकारी मार्ग प्रदान गरेको छ।

सहकारीले पिछडिएका समूह र वर्गको उत्थानमा काम गर्न सक्नुपर्छ । महिला र सीमान्तकृत समुदायलाई सीप, पुँजी, प्रविधि र शिक्षा दिएर स्वरोजगार सिर्जनमा जोड्नुपर्छ सहकारीहरुले यसो गर्न सक्यो भने शान्ति र स्थिरता कायम गर्न प्रत्यक्ष मद्दत पुग्दछ । शान्ति कायम गर्ने भनेको केवल मौनता कायम गर्नु होइन । शान्ति भनेको द्धन्द नुहुनु मात्र होइन, शान्ति स्थापना भनेको भौतिकसँगै आत्मिक आनन्दको अवस्था हो । अरुको सम्पन्नतामा रमाउने अभियान हो सहकारी ।

आज सहकारी संस्थाहरू कृषि, वित्त, खुद्रा व्यापार, आवास, स्वास्थ्य, शिक्षा, ऊर्जा, उद्योग तथा सेवा लगायत अर्थतन्त्रका लगभग सबै क्षेत्रमा सक्रिय छन्। विश्वभरका सहकारी संस्थाहरूले करिब १० प्रतिशत जनशक्तिलाई रोजगारी प्रदान गर्दै सम्मानजनक रोजगारी सिर्जना, सामाजिक न्याय, आर्थिक लोकतन्त्र तथा वातावरणीय दिगोपनको प्रवर्द्धन गरिरहेका छन्। विश्वमा हाल करिब ३० लाख सहकारी सञ्चालनमा छन्, जसमा शीर्ष ३ सय ठूला सहकारी संस्थाको मात्र संयुक्त वार्षिक कारोबार २.८ ट्रिलियन अमेरिकी डलर बराबर छ।

अबको आवश्यकता भनेको हस्तक्षेपकारी भूमिका हो । शान्तिपूर्ण सहअस्तित्व, मेलमिलाप, विश्वबन्धुत्व तथा बसुधैव कुटुम्बकम्को भावना शसक्त रुपमा प्रवाह गर्नुपर्ने आजको आवश्यकता हो । भौतिक प्रगतिसँगै मानवीय मूल्य, मान्यताका न्यूनतम आधारहरुको सबलीकरण हो जसका लागि विश्वभरका सहकारी अभियानकर्मीहरुको सामूहिक प्रयास आवश्यक छ । शान्ति कायम गर्न मुलुकहरुलाई बाध्य पार्ने गरी हस्तक्षेपकारी भूमिका आईसी लगायत अन्य सहकारीका विश्व मञ्चहरुबाट खोजिएको छ । किनकि विश्वले शान्ति चाहेको छ, विश्वले सहकारी चाहेको छ ।

यसैबीच, आईसीएका अध्यक्ष एरियल ग्वार्कोले शुभकामना संदेश जारी गर्दै सहकारी संस्थाहरूलाई 'शान्तिको  पाठशाला' को संज्ञा दिनुभएको छ । सहकारीहरूले विविध संस्कृति, जातीयता तथा भौगोलिक पृष्ठभूमिका मानिसहरूबीच संवाद, पारदर्शिता र भ्रातृत्वपूर्ण सम्बन्धलाई प्रवर्द्धन गर्ने बताउँदै उहाँले यही कारण सहकारी अर्थतन्त्रबाट सिर्जित सामाजिक, सांस्कृतिक तथा वातावरणीय समन्वय सकारात्मक शान्ति स्थापना गर्ने अपरिहार्य आधार भएको विश्वास समेत व्यक्त गर्नुभएको  ।

सहकारी मोडेलको आधार आत्मनिर्भरता, लोकतन्त्र, समानता, न्याय र ऐक्यबद्धता जस्ता सार्वभौमिक मूल्यहरूमा आधारित रहेको छ। यसले सामूहिक प्रयास र शान्तिपूर्ण सहकार्यद्वारा समृद्धि हासिल गर्न सकिने विश्वासलाई व्यवहारमा उतार्दै दीर्घकालदेखि शान्तिपूर्ण विकासको माध्यमका रूपमा आफ्नो पहिचान स्थापित गरेको छ।

अर्को भनेको, संयुक्त राष्ट्र संघीय महासभाले प्रत्येक दश वर्षमा अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणाको प्रस्ताव समेत पारित गरिसकेको गौरवपूर्ण अवस्था छ । संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ र २०२५ को सफलतासँगै यसको भूमिकालाई थप प्रोत्साहित गर्न प्रत्येक दशकमा विश्वभर अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउनुपर्ने प्रस्ताव पारित भएसँगै सहकारीको महत्व थप उजागर भएको छ । सहकारी उद्यममार्फत सामाजिक आर्थिक उत्थान सम्भव भएको निष्कर्ष उक्त प्रस्तावमा गरिएको थियो ।

संयुक्त राष्ट्र संघीय महासभाले  सन् १९९२ मा आइसीए स्थापनाको १ सय वर्ष पुगेको उपलक्ष्यमा सन् १९९५ देखि मनाउने गरी सोही दिनलाई आइसीए डे घोषणा गरेको थियो । जसअनुसार यो वर्ष जुलाई ४ अर्थात् असार २० गते आज ३२औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस तथा ३३औं राष्ट्रिय सहकारी महासंघ दिवस परेको हो । आइसीएको स्थापना सन् १८९५ को अगष्ट १९ मा बेलायतको लन्डनमा सम्पन्न १३ मुलुकका सहकारीकर्मीहरु सम्मिलित पहिलो सहकारी सम्मेलन ९कोअपरेटिभ कंग्रेस० ले गरेको थियो । 

सन् १९९५ देखि आइसीए र संयुक्त राष्ट्र संघ अन्तर्गतको कोप्याकले संयुक्त रुपमा आइसीएको थिम तय गर्दै आएका छन् । विश्वभर सहकारीताको प्रचार प्रसार गर्ने, यसको महत्व उजागर गर्ने र सरकारलाई सहकारी मुद्दाका विषयमा सचेत गराउने अभिप्रायले अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार